चितवन विशेष
चितवनमा ‘दोस्रो मह उत्सव’ सुरु, स्वाद पत्ता लगाउनेलाई मह उपहार

चितवन, पुस २५-
चितवनमा दोस्रो मह उत्सव सुरु भएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन ईकाई चितवनको आयोजनामा रत्ननगरको टिकौली चौरमा जारी रत्ननगर महोत्सव परिसरमा मह उत्सव सुरु भएको हो ।
महको गुणस्तरियताको प्रचारप्रसार र बजारीकरण गर्ने उद्देश्यले आयोजना गरिएको उत्सवको शुक्रबार जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले मह चाखेर उद्घाटन गर्नुभयो । सो अवसरमा समन्वय प्रमुख अधिकारीले महोत्सव भित्र किसानको उत्पादनलाई बजारीकरण गर्न उत्सव राखेकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने भन्दै सरकारले यस्ता मेला महोत्सवलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । ‘चितवनमा महको उत्पादन राम्रो छ,’ उहाँले भन्नुभयो ‘यस्ता मेला महोत्सवले उपभोक्तसम्म किसानको उत्पादन पु¥याउन महत्वपूर्ण भूमिका खेल्दछ ।’
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमले अघिल्लो वर्ष सौराहाको हात्ती महोत्सवमा प्रथम मह उत्सवको आयोजना गरेको थियो । त्यो कार्यक्रम प्रभावकारी भएपछि चितवनको रत्ननगर महोत्सवमा मह उत्सवको आयोजना गरिएको कार्यालय प्रमुख महेश रेग्मीले जानकारी दिनुभयो । मह उत्सव माघ–२ गतेसम्म चल्नेछ । रेग्मीका अनुसार महोत्सव स्थलमा १० वटा बिक्रीकक्ष राखिएको छ । उहाँले परिसरमा आउनेहरुलाई महको महत्व दर्शाउँदै निःशुल्क मह चखाइने बताउनुभयो । ‘हाम्रो उद्देश्य महको गुणस्तरिता र बिक्री वितरणका लागि बजारिकरण गर्नु हो,’ मह उत्सवको उद्देश्य बताउँदै रेग्मीले भन्नुभयो ‘यहाँबाट विदेशी नागरिक सहित देशभरका नागरिकले मह चाखेर जानुभएको छ।’

बजारमा नक्कली मह आएको अवस्थामा मह गुणस्तरबारे उपभोक्तालाई जानकारी समेत गराउने उदेश्य राखिएको उहाँको भनाई छ । मह उत्सवमा मह चाखेर मह चिन्ने प्रतियोगिता, महको महत्व र मौरी सम्बन्धी जनचेतना मुलक समेटिएको हाजिरि जवाफ प्रतियोगिता समेत आयोजना गरिएको छ । मह चाखेर महको प्रकार पत्ता लगाउनेलाई मह उपहार प्रदान समेत गरिनेछ । चितवनमा उत्पादन भएको महको गुणस्तरिता समेत राम्रो रहेको मौरी विकास केन्द्र भण्डाराका प्रमुख सुजन अम्गाईँले जानकारी दिनुभयो ।
कार्यालयले मौरीजोन अन्तर्गतका मौरीपालक उद्यमी किसानका उत्पादन प्रवद्र्धन गर्ने उद्देश्यले बजारीकरण, ‘प्याकेजिङ लेबलिङ’ मा सहयोग गर्दै आएको छ । आर्थिक वर्ष २०७५÷७६ देखि चितवनमा मौरीजोन स्थापना भएको हो । चितवनमा बार्षिक छ देखि साढे छ टन मह उत्पादन हुँदै आएको छ ।

























