नवलपरासी

प्रथम बर्दघाट एक्स्पो माघ १३ गतेबाट सुरु हुने,यस्ता छन् आकर्षण

Banner

मुक्ति तिवारी,

नवलपरासी (बर्दघाट),पुस २१-

स्थानीय उद्योग र व्यापारलाई प्रवर्द्धन गर्दै दिगो विकासलाई टेवा पुर्‍याउ भन्ने उद्देश्य सहित उद्योग व्यापार संघ बर्दघाटको आयोजनामा औद्योगिक तथा व्यापारिक प्रथम बर्दघाट एक्स्पो–२०८२ सञ्चालन हुने भएको छ। संघले पत्रकार सम्मेलनमार्फत एक्स्पोसम्बन्धी विस्तृत जानकारी सार्वजनिक गरेको हो।

एक्स्पो माघ १३ गतेदेखि २५ गतेसम्म बर्दघाट नगरपालिकाको बर्दघाट मण्डपमा सञ्चालन हुनेछ। १३ दिनसम्म चल्ने यस एक्स्पोले बर्दघाट क्षेत्रको व्यापारिक, पर्यटकीय तथा सांस्कृतिक उत्सवका रूपमा स्थापित हुने आयोजकको विश्वास छ। एक्स्पोमा करिब २५० वटा स्टल रहनेछन्। स्थानीय कृषि उपज, महिला उद्यमीका उत्पादन, घरेलु उद्योगका सामग्रीका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्पादनहरू प्रदर्शनीमा राखिने संघका अध्यक्ष राजु न्यौपानेले जानकारी दिए ।

साथै विभिन्न परिकारहरू, बालबालिकाका लागि बाल उद्यानको व्यवस्था समेत गरिनेछ। मेलामा ७ करोड बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । सञ्चारकर्मीहरूका लागि छुट्टै सञ्चार केन्द्रको व्यवस्था गरिएको छ भने एक्स्पो अवधिभर विभिन्न सांस्कृतिक कार्यक्रम, राष्ट्रिय ख्यातिप्राप्त कलाकार तथा स्थानीय प्रतिभाहरूको प्रस्तुति रहनेछ। पर्यटन प्रवर्द्धनका लागि बर्दघाट नगरपालिकाभित्रका धार्मिक तथा पर्यटकीय स्थलहरूको जानकारीमूलक सामग्री र भिडियो प्रदर्शन गरिने आयोजकले जनाएको छ।

आयोजकका अनुसार एक्स्पो अवधिभर करिब १ लाख देखि १ लाख ५० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको एक्स्पोका संयोजक दिनेश न्यौपानेले बताए । कार्यक्रममा एक्स्पो सम्बन्धि भिडियो निर्माण गर्ने उत्कृष्ट कन्टेन्ट कृएटरले नगद १० हजार पुरस्कार राशी प्राप्त गर्ने जनाईएको छ । एक्स्पोको साधारण टिकट मूल्य ८० रुपैयाँ तोकिएको छ भने जेष्ठ नागरिक स्थानीय ब्यवसायी र विद्यार्थीहरुका लागि सहुलियत टिकट दर रहेको आयोजकले जनाएको छ ।

एक्सपोमा बर्दघाट नगरपालिका भित्रका आन्तरिक पर्यटकीय स्थलहरुमा भ्रमणको ब्यवस्था,कृषी यन्त्रहरुको प्रदर्शनी,दुग्ध परिकारको प्रदर्शनी हुनुका साथै एक्सो अवधी भर तीन वटा विशेष कम्सर्ट रहने छ्न ।

यस एक्स्पोले स्थानीय अर्थतन्त्र चलायमान बनाउनुका साथै कृषि, पर्यटन, कला र उद्योग प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने आयोजकको अपेक्षा रहेको छ ।यस अघि बर्दघाट उद्योग बाणिज्य संघले लगाउदै आएको बर्दघाट महोत्सव यसपटकको प्रथम बर्दघाट एक्स्पो नामाङ्करण सहित बर्दघाट व्यापार संघले सञ्चालन गर्न लागेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>