समाचार
जापानमा अब सबै म्यानपावरले कामदार पठाउन पाउने

काठमाडौं,पुस १७-
सरकारले जापानमा प्रशिक्षार्थी कामदार पठाउने निर्देशिका खारेज गरेको छ । निर्देशिका खारेज भएसँगै सबै म्यानपावर कम्पनीले श्रमिक पठाउन पाउने बाटो खुलेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘जापानमा प्राविधिक (अभ्यासार्थी) कामदार पठाउने निर्देशिका २०६६’ जारी गरेको थियो । सोही आधारमा ‘जापान इन्टरनेसल ट्रेनिङ कोअपरेसन अर्गनाइजेसन’ (जिट्को) मार्फत नेपाली श्रमिकलाई जापानमा काम गर्न पठाउने गरिएको थियो ।
निर्देशिका अनुसार निश्चित म्यानपावरलाई सूचीकरण गरेर उनीहरूमार्फत नै श्रमिक पठाउने गरिएको थियो । अब निर्देशिका खारेज भएसँगै सबै म्यानपावर कम्पनीहरूले अन्य देश झैं श्रमिक पठाउन पाउने भएका हुन् । निर्देशिका खारेज भएसँगै जिट्को समेत खारेज भएको छ । अब सबै म्यानपावर व्यवसायीले श्रमिक पठाउने श्रम मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले जानकारी दिए ।

























