चितवन विशेष

जाडोबाट जोगाउन चितवन प्रशासनले न्यानो कपडा बाँड्दै

Banner

चितवन, पुस १५–

चितवनमा केहीदिन यता अत्यधिक चिसो बढेपछि जिल्ला प्रशासन कार्यालयले विपन्न परिवारलाई ‘न्यानो कपडा’ बाड्ने अभियान सुरु गरेको छ ।

विभिन्न संघसंस्थाको सहकार्यमा प्रशासनले विपन्न परिवारलाई ‘न्यानो कपडा’ बाड्न थालेको हो । आज (मंगलबार) राप्ती नगरपालिका वडा नं.३ का करिव ४० परिवारलाई न्यानो कपडा वितरण गरेको छ । अन्य ठाउ“को विपन्न परिवारको तथ्यांक संकलन गरेर न्यानो कपडा वितरणसंगै दाउरा वितरण अघि बढाइने चितवनका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालले बताए । भरतपुरका दुई सामाजिक संस्था लायन्य क्लब अफ आरोग्य र भरतपुर युथको सहकार्य र आफ्नै बजेटबाट समेत प्रशासनले न्यानो कपडा बाडेको हो ।

प्रजिअ अर्यालले भने–‘चिसो निकै बढेकाले विपन्न परिवारलाई हेरेर सहयोग गरेका हौं, हामी विभिन्न ठाउँको तथ्यांक संकलन गर्दै कपडा वितरण गरिरहेका छौं ।’

न्यानो कपडा वितरण गर्न प्रजिअ अर्यालसहित लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आर नेपालका गर्भनर नवराज सापकोटा, राप्ती–३ का वडा अध्यक्ष शिवकान्त ओलीलगायतका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

चितवनमा शनिबारदेखि दैनिक सरदर न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस रहेको छ । मंगलबार चितवनको न्यूनतम तापक्रम ११ डिग्री सेल्सियस रहेको भरतपुर विमानस्थलले जनाएको छ । मौषम विभागले अझै केही दिन घाम नलाग्ने जनाएपछि चितवन प्रशासनले चिसोबाट जोगाउन अग्रसरता लिएको हो । चिसोबाट जोगाउन स्थानीय पालिकाहरुले ठोस कार्यक्रम ल्याएका छैनन् । भरतपुरसहित केही पालिकाहरुले भोलि (बुधबार) विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>