Breaking News

हात्ती महोत्सवः पुनमकली बनिन् सुन्दरी, डुंगामा कुमरोजलाई उपाधि

Banner

चितवन, पुस १२–

चितवनको पर्यटकीय नगरी सौराहामा सुरु भएको १९औं संस्करणको हात्ती महोत्सव अन्तरगत शनिबार विभिन्न प्रतियोगिताहरु सम्पन्न भएका छन् ।
शनिबार भएको हात्ती सुन्दरी प्रतियोगितामा ल्याण्डमार्क होटल पोखराको पुनमकली हात्ती पहिलो भइन् । गौतम होटल बर्दिबासको सेल्फिकली दोस्रो र हेरिटेज टुर्स एण्ड ट्राभलको चम्पाकली तेस्रो स्थान हासिल गरिन् । पूजाकली र सम्वृद्धिकली क्रमशः चौथो र पाँचौं स्थान हासिल गरे । विजेताहरुलाई समापन समारोहमा क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ प्रदान गरिने हात्ती प्रतियोगिता संयोजक विनोद तिमिल्सिनाले जानकारी दिए ।

यस्तै महोत्सव अन्तरगत आज नै डुंगा दौड प्रतियोगिता सम्पन्न भएको छ । डुंगा दौडमा आइत तामाङले चलाएको कुमरोज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको डुंगा प्रथम भयो भने राहुल चौधरीले चलाएको रत्ननगर नगरपालिकाको डुंगा द्धितीय र सन्तोष बोटेले चलाएको बाघमारा मध्यवर्ती सामुदायिक वनको डुंगाले तृतीय स्थान हासिल ग¥यो । डुंगाा दौडमा ६ वटा डुंगाको सहभागिता थियो ।

त्यस्तै फुटबलको पेनाल्टी सुट अन्तरगत आज पनि दुई चरणको खेल सम्पन्न भएका छन् । फाइनल प्रतिस्पर्धा गर्नुअघि सौराहा जीप तथा डुंगा सेन्टरको मारुतीकली पहिलो स्थानमा रहेको छ भने युनाइटेड हात्ती संचालन सहकारी संस्थाको चम्पाकली दोस्रो र कसरा पर्यटन व्यवसायी समितिको लक्ष्मीकली तेस्रो स्थानमा रहेको रेफ्री भिष्म चौधरीले जानकारी दिए । आइतबार हुने फाइनल चरणको प्रतिस्पर्धापछि विजेता टुंगो लाग्ने छ ।


यस्तै महोत्सव अन्तरगत आज हात्तीको स्वास्थ्य शिविर समेत गरिएको छ । शिविरमा हात्तीलाई जुका र पाचन शक्ति बढाउने औषधि खुवाईएको थियो भने नङ सफा र मिलाउने काम गरिएको थियो ।

क्षेत्रीय होटल संघ नेपाल चितवन सौराहाको आयोजना तथा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाको सह–आयोजनामा बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा जारी महोत्सवको भोलि अन्तिम दिन हात्तीको बनभोजसंगै फुटबलको पेनाल्टी सुटआउटको फाइनल प्रतिस्पर्धा हुने क्षेत्रीय होटल संघ सौराहाका महासचिव महेश खनालले जानकारी दिए । महोत्सवमा ८० वटा हात्तीलाई सहभागि गराईएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>