देश/प्रदेश
विद्यार्थीहरु भान्साका सामग्रीहरु लिएर स्कुल पुगेपछि

नवलपुर , मंसिर १३ –
फारमस्थित बरचुली माध्यमिक विद्यालयमा शुक्रबार एक अनौठो र मनमोहक दृश्य देखियो। सामान्यतः झोलामा किताब–कापी बोकेर विद्यालय आउने विद्यार्थीहरू यसदिन भने हात–हातमा भान्साका विभिन्न सामग्री लिएर कक्षातर्फ लागिरहेका थिए। विद्यालयको वार्षिक अतिरिक्त क्रियाकलाप कार्यक्रम अन्तर्गत आयोजना गरिएको प्रतियोगितात्मक फुड फेस्टिभलमा सहभागी हुन विद्यार्थीहरू घरबाटै तरकारीदेखि मसला, पीठो, तेल, भाँडाकुडा गरी आवश्यक सबै सामग्री लिएर विद्यालय आएका थिए ।
कक्षा ८ देखि कक्षा १२ सम्मका विद्यार्थीहरूले सञ्चालन गरेका १३ वटा स्टलमा विविध नेपाली तथा अन्तराष्ट्रिय परिकारहरूको आकर्षक प्रस्तुति गरिएको थियो। फुड स्टलहरूमा मम, चाउमिन, समोसा, पकौडा, ब्रेड–चप, सेलरोटी, योमरी, लॉफिङ, ब्रेड अमलेट, आलु परौठा, रसबरी, चिचर, चिया, कफी, चटपटे, पानीपुरी लगायतका लोकप्रिय परिकारहरू विद्यार्थीहरूले विद्यालयमै तयार गरी बिक्री तथा वितरण गरेका थिए। कार्यक्रमभर स्टलहरूमा विद्यार्थी, शिक्षक तथा अभिभावकको उल्लेख्य भीड लागेको थियो।
कार्यक्रम संयोजक यमनाथ गौतमका अनुसार विद्यार्थीहरूले तयार गरेका खानेकुराको स्वाद, बिक्री–वितरण व्यवस्थापन, सरसफाइ, तथा गुणस्तरका आधारमा मूल्याङ्कन गरि उत्कृष्ट पाँच स्टललाई विद्यालयले पुरस्कार प्रदान गरेको जानकारी दिनुभयो। “विद्यार्थीहरूको उत्साह, सिर्जनशीलता र टीमवर्क हेर्दा कार्यक्रम अत्यन्त सफल भयो,” गौतमले बताउनुभयो।
विद्यालयका प्रिन्सिपल चन्द्रदेव तिवारीले यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूमा पाककला, व्यवस्थापन सीप, उद्यमशीलता, र आत्मविश्वास अभिवृद्धि हुने भन्दै विद्यालयले हरेक वर्ष यस्ता क्रियाकलापलाई निरन्तरता दिइरहेको बताउनुभयो।
“पढाइसँगै जीवन उपयोगी सीप पनि आवश्यक पर्छ। फुड फेस्टिभलले विद्यार्थीलाई वास्तविक जीवनमा उपयोगी हुने अनेकौं व्यवहारिक सीप सिकाउँछ,” प्रिन्सिपल तिवारीले जोड दिनुभयो।
सगरी विद्यार्थीहरूको सक्रिय सहभागिता र स्वादिष्ट परिकारहरूको कारण फुड फेस्टिभल विद्यालय परिसरको आकर्षक र उत्साहपूर्ण गतिविधिका रूपमा सफलतापूर्वक सम्पन्न भएको छ।


























