देश/प्रदेश
फोटोग्राफी रिपोर्टिङसम्बन्धी अनुशिक्षण

नेपालगञ्ज, मङसिर ७-
नेपाल पर्यटन बोर्डको आयोजनामा आज यहाँ फोटोग्राफी रिपोर्टिङसम्बन्धी अनुशिक्षण कार्यक्रम गरिएको छ । नेपाल एसोसियन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाटा) बाँकेका अध्यक्ष डिल्लीराज रेग्मीको अध्यक्षतामा भएको अनुशिक्षण कार्यक्रमको उद्घाटन नेपाल पर्यटन बोर्डका सिनियर म्यानेजर तथा पर्यटन दिगो विकास परियोजनाका राष्ट्रिय परियोजना संयोजक श्रद्धा श्रेष्ठले गर्नुभयो । उहाँले लुम्बिनी प्रदेशभित्र थुप्रै पर्यटकीय सम्भावना रहेका क्षेत्र भएकाले पत्रकारिताको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्न जरुरी रहेको बताउनुभयो ।
संयोजक श्रेष्ठले पर्यापर्यटनको प्रवर्द्धनका लागि सञ्चारमाध्यम र सरोकार भएका निकायबीच समन्वय आवश्यक रहेकामा जोड दिनुभयो । नाटा बाँकेका पूर्वअध्यक्ष श्रीराम सिग्देलले पर्यटन प्रवर्द्धन गरी स्थानीयको आयआर्जन गर्ने विषयमा पछिल्ला दिनमा छलफल नियमित भइरहेको भन्दै पर्यटकीय क्षेत्र पहिचान गरी भ्रमणमा जाने अभ्यास सुरु भइसकेको जानकारी दिनुभयो । उहाँले यस्ता कार्यले पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उल्लेख गर्दै यसका लागि सबैले सहकार्य र समन्वय गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागार्इं, नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष नवीन गिरी, क्रियाशील पत्रकार महिला बाँकेका अध्यक्ष सावित्री गिरीलगायतले पश्चिम नेपालको पर्यटन प्रवर्द्धन गर्न नेपाल पर्यटन बोर्डले पत्रकारका लागि अनुशिक्षण, अभिमुखीकरणलगायत सीप विकाससम्बन्धी कार्यक्रम ल्याउनुपर्ने आवश्यकता औंँल्याउनुभयो ।कार्यक्रममा बाँकेका विभिन्न सञ्चारमाध्यममा कार्यरत ६० जनाभन्दा बढी पत्रकारको सहभागिता थियो । कार्यक्रमको सहजीकरण नेपाल पर्यटन बोर्डका मिडिया कन्सल्टेन्ट दिलीप कार्की र फोटो पत्रकार प्रशिक्षक सुनिल ब्रजाचार्यले गर्नुभएको थियो ।
नाटा बाँके र क्रियाशील पत्रकार महिला बाँकेको समन्वयमा आयोजना गरिएको कार्यक्रमका सहभागीले यस्ता कार्यक्रमले पर्यापर्यटनको क्षेत्रमा भइरहेका प्रयासलाई उजागर गर्न थप क्रियाशीलता बढाउने धारणा राख्नुभएको थियो । रासस

























