देश/प्रदेश

कञ्चनपुरको कृष्णपुरमा कोल्डस्टोरेज निर्माण प्रक्रिया अगाडि बढाइँदै

Banner

कञ्चनपुर, कात्तिक ३०-

कृष्णपुर नगरपालिकाका किसानलाई तरकारी तथा कृषिजन्य वस्तु भण्डारणमा सहजता प्रदान गर्ने उद्देश्यले ‘कोल्डस्टोरेज’ तथा प्याज भण्डारण शेड निर्माण प्रक्रिया अगाडि बढाइएको छ ।

नगरपालिकाको वडा नं ५ मा निर्माण गर्न लागिएको भण्डारण संरचनाका लागि जग्गा पहिचान तथा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने काम सम्पन्न भएको नगर प्रमुख हेमराज ओझाले जानकारी दिनुभयो । तीन सय मेट्रिकटन क्षमताको आधुनिक प्याज भण्डारण शेड निर्माणले कृषकको क्षमता अभिवृद्धि, खाद्य सुरक्षा सुदृढीकरण तथा कृषि मूल्य शृङ्खला विस्तारमा महत्वपूर्ण योगदान गर्ने उहाँले उल्लेख गर्नुभयो ।

“डिपिआर तयार गरिसकिएको छ, साथै प्रारम्भिक वातावरणीय परीक्षण ९आइई० पनि पूरा भएको छ”, नगर प्रमुख ओझाले भन्नुभयो, “केही दिनमै बोलपत्र आह्वान गरेर ठेक्का प्रक्रिया अघि बढाउन लागेका छौँ ।” उहाँका अनुसार प्याज भण्डारण शेड निर्माणका लागि करिब रु छ करोड लागत अनुमान गरिएको छ । वातावरणीय अध्ययन प्रतिवेदन तयार पार्दा सो क्षेत्रको प्राकृतिक, सांस्कृतिक, भौतिक, जैविक, सामाजिक तथा आर्थिक प्रणालीमा पर्ने सम्भावित प्रभावबारे सरोकारवालासँग सुझाव सङ्कलन गरी प्रतिवेदन तयार गरिएको बताइएको छ ।

कञ्चनपुरमा सञ्चालनमा रहेको कोल्डस्टोर बन्द हुँदा किसानले उत्पादन भएका तरकारी तथा फलफूल समयमै भण्डारण गर्न नसक्दा हरेक वर्ष ठूलो आर्थिक क्षति व्यहोर्दै आएका छन् । यसै समस्यालाई ध्यानमा राख्दै नगरपालिकाले भण्डारण सुविधा विस्तार गर्ने पहल अघि बढाएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रप्रसाद भट्टले बताउनुभयो ।

व्यावसायिक तरकारीखेतीमा संलग्न किसान हरिराम डगौराले कोल्डस्टोरेज निर्माण प्रक्रिया अघि बढाइने भएकाले उत्साह बढेको बताउनुभयो । “अब उत्पादित तरकारी भण्डार गरेर राम्रो मूल्य आउने बेला बिक्री गर्न सकिनेछ”, उहाँले भन्नुभयो, “नगरपालिकाको यो कदमबाट किसानलाई प्रत्यक्ष राहत पुग्ने विश्वास छ ।”

नगरपालिकाले कोल्डस्टोरेज निर्माणलाई दिगो रूपमा सञ्चालनमा ल्याउन सरोकारवालासँग निरन्तर समन्वय गर्दै जाने जनाएको छ । कृष्णपुर नगरपालिका जिल्लामै व्यावसायिक तरकारीखेती र केराखेतीमा अग्रणी रहेको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>