देश/प्रदेश

पुख्र्यौली सीपको सदुपयोग गर्न घरमै उद्योग स्थापना

Banner

दोधारा चाँदनी (कञ्चनपुर),असोज २३ –

शुक्लाफाँटा नगरपालिका–७ का जगतबहादुर सिंहलाई यतिबेला कपडा उत्पादन र तयारी पोशाक बनाउन भ्याइनभ्याइ छ ।

चाडपर्वका कारण बजारमा माग बढेपछि श्रीमान, श्रीमतीसहित परिवारका सदस्य कपडा बुन्न र सिलाउन व्यस्त देखिन्छन् । घरमै तान बनाएर सुरु गरिएको उद्योगमा धागो कात्ने, कपडा बुन्ने र पोशाकसमेत तयार गरिन्छ । पुख्र्यौली सीपलाई पुस्तान्तरण गर्न स्थापना गरिएको उद्योगमा अहिले अल्लो, गाँजा, बाँस र ऊनका कपडा उत्पादन हुने गर्दछन ।

यसबाट सीपको सदूपयोग र परिवार नै स्वरोजगार भएकाले सिंह बताउनुहुन्छ । “हाम्रा पूर्खाले दार्चुलामा हुँदा राडी पाखीको काम गर्थे, हाम्रा पूर्खाबाट सीकेको सीपलाई सदुपयोग गर्न घरमै उद्योग स्थापना गरेका हौं”, सिंहले भन्नुभयो, “रु तीन लाख लगानीमा हाते मेसिनबाट सुरु गरेको उद्योगमा अहिले रु २० लाख लगानी पुगिसक्यो ।” उहाँले अहिले चार वटा मोटर मेसिन थप गरेर उद्योगमा थप लगानी गरेको बताउनुभयो ।

“एक जना भारतीय कामदार राखेका छौं, दुई छोरा, श्रीमती र आफु पनि उद्योगमै काम गर्छौं”, उहाँले भन्नुभयो, “यसबाट हाम्रो परिवारको खर्च चलेको छ, सन्तुष्ट छौं ।” सुरुवातका वर्षहरुभन्दा पछिल्ला वर्षमा तयारी कपडाको माग धेरै आउने गरेको उहाँले बताउनुभयो । सिंह परिवारको पुख्र्यौली पेशा नै कपडा बुन्ने हो । दार्चुलामा राडीपाखी बनाएर बिक्री गर्ने उहाँहरु २०४४ सालमा तराई बसाइ सर्नुभयो । त्यसपछि पुख्र्यौली पेशाले निरन्तरता पाउन नसके पनि ३५ वर्षपछि पारिवारिक सल्लाहपछि पुनः आफ्नो कामलाई सुरुवात गरेको उहाँको भनाइ छ ।

“सीप हुँदा हुँदै त्यतिकै बस्नु भन्दा उद्योग स्थापना गरौं भन्ने एक दिनको पारिवारिक बसाइमा सल्लाह भयो”, सिंहले भन्नुभयो, “उद्योग स्थापनापछि हरेक वर्ष राम्रो आम्दानी हुदै गएको छ, गत वर्ष मात्रै रु तीन लाख आम्दानी भयो ।” घरमै उद्योग स्थापना गर्दा कामदारको समस्या भोग्नु परेको उहाँ बताउनुहुन्छ । “अहिले पनि उद्योगमा कामदार पाउन मुस्किल छ, भारतीय कारिगर मात्रै छन्”, उहाँले भन्नुभयो, “देशभित्र मेहनत गर्ने बानी छैन सबैमा विदेश मोह छ ।”

उहाँले आफुले स्वदेशमै कच्चा पदार्थ प्रशोधन गरेर धागो उत्पादन गर्ने गरेको बताउनुभयो । केही कच्चा पदार्थ भने भारतबाट आयात गर्ने गरेको उहाँको भनाइ छ । कपडाभन्दा तयारी पोसाकको माग धेरै आउने गरेकाले अहिले तयारी पोसाक उत्पादनमा जोड दिएको सिंह बताउनुहुन्छ । “स्थानीय उत्पादन टिकाउ पनि हुन्छ स्वास्थ्यका लागि पनि फाइदाजनक छ”, सिंहले भन्नुभयो, “सुरुवातमा बजारमा समस्या थियो अहिले माग धेरै आउने गरेको छ ।”

प्राकृतिक फाइबरबाट निर्मित कपडा शरिरका लागि निकै फाइदाजनक मानिन्छ । यसको निर्माणका लागि अल्लो र गाँजाको धागो मात्रै उत्पादन हुने गर्दछ भने कटनका लागि भारतबाट धागो आयात गर्नुपर्ने झन्झट छ । त्यसैले यस्ता कच्चापदार्थ स्वदेशमै उत्पादन गर्न सके त्यसले घरेलु उद्योग सञ्चालनमा निकै टेवा पुग्ने उहाँको भनाइ छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>