देश/प्रदेश

दसैँको कोसेलीका रुपमा मुस्ताङको स्याउ

Banner

गलकोट (बागलुङ), असोज १३-

बागलुङ बजारमा अहिले मुस्ताङको स्याउको माग उच्च छ । दसैँमा धेरैले मुस्ताङको स्याउ मात्रै खोज्ने गरेको पाइन्छ ।

असोज लागेसँगै बागलुङ बजारमा मुस्ताङको स्याउ निकासी हुन थाल्छ । अहिले बागलुङ बजारका चोकचोक र फलफूल पसलमा मुस्ताङको स्याउ देख्न पाइन्छ । मुस्ताङको स्याउ नभएको बागलुङको कुनै फलफूल पसल नै हुँदैन । किनभने उपभोक्ताको रोजाइमा मुस्ताङकै स्याउमात्रै पर्ने गर्दछ । दसैँलाई कोसेलीका रुपमा मुस्ताङको स्याउ बढी खपत हुने गरेको छ ।

स्याउ व्यापारी गुरुप्रसाद रेग्मीले मुस्ताङको स्याउ मागअनुसार नपाएको जनाउँदै स्याउ आउँदा साथ रित्तिने गरेको बताउनुभयो । “मुस्ताङमा स्याउ धमाधम बिक्री भइरहेको छ, बागलुङ मुस्ताङको स्याउ खपत हुने जिल्लामा पर्दछ, अहिले मागअनुसारको स्याउ आएको छैन”, उहाँले भन्नुभयो, “असोजभर स्याउ बिक्रीबाटै राम्रो आम्दानी गर्ने सिजन हो ।” असोज अघिसम्म भारत र चीनबाट आएको स्याउले बजार लिइरहे पनि असोज लागेपछि यहाँ मुस्ताङको मात्रै स्याउको कारोबार हुने गर्दछ ।

दसैँ नजिकिँदै गरेकाले स्याउको उच्च कारोबार हुने गर्दछ । छिमेकै जिल्लाको सस्तो स्याउ खान पाएपछि अन्य स्याउको चाख नहुने उपभोक्ता रामानन्द शर्मा बताउनुहुन्छ । “रु ३०० देखि ४०० हालेर भारत र चीनको स्याउ खाइन्छ, मुस्ताङको ताजा स्याउ रु दुई प्रतिकिलो पाइन्छ, स्वादिष्ट पनि हुन्छ”, शर्माले भन्नुभयो “असोजदेखि कात्तिकसम्म बागलुङ बजारका फलफूल पसल मुस्ताङको स्याउमय हुन्छ ।”

दसैँ तिहारको नआउँदै फलफूल अर्डर गर्नेहरुसमेत बाक्लै रहेको व्यवसायीहरु बताउँछन् । दसँैलाई मुस्ताङको स्याउ अहिले नै अर्डर आउन थालेको फलफूल व्यापारीले बताउँदै आएका छन् । चाडवाडका अवसरमा बागलुङेहरुले कोसेलीका रुपमा मुस्ताङको स्याउ आफन्तको घरमा पठाउने चलनसमेत रहेकाले स्याउको कारोबार उच्च रहेको छ । मुस्ताङमा उत्पादन भएको स्याउ धौलागिरिका बागलुङसहित म्याग्दी, पर्वतलगायतका जिल्लामा कोसेलीका रुपमा निकै प्रयोगमा आउने गरेको छ ।

बागलुङमा मुस्ताङको स्याउको कारोबार एक हप्तायता ह्वात्तै बढेको छ । बागलुङ बजारमा रहेका कर्मचारी, सहकारी जागिरे, सेना, तथा प्रहरीलेसमेत दसैँमा घर जाने समयमा मुस्ताङको स्याउ, आलु र बागलुङमा उत्पादन भएको भाँगो लैजाने गरेको पाइन्छ । मुस्ताङको स्याउ, ढोरपाटनको आलु र ताराखोलाको भाँगो कोसेलीका रुपमा ब्राण्ड भइसकेको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>