समाचार
दशैंमा काठमाडौं–नारायणगढ साझा बसको भाडा ३०० मात्र

काठमाडौं, असोज ७-
काठमाडौं–नारायणगढसम्मको एकतर्फी भाडा ३ सय रुपैयाँ मात्रै तोकिएको साझा यातायात सञ्चालक समिति सदस्य कनकमणि दीक्षितले जानकारी दिए । यो भाडा अन्य सवारी साधनको तुलनामा झण्डै आधा सस्तो हो ।
साझा यातायात सहकारी संस्थाका अनुसार ललितपुरको पुल्चोकबाट लगनखेल, सातदोबाटो, कोटेश्वर, गौशाला, चक्रपथ, गोंगबु नयाँबसपार्क हुँदै कलंकीबाट बसहरु नारायणगढ प्रस्थान गर्ने छन् । कलंकीबाट साझा यातायातको पहिलो बस बिहान ७ बजे नारायणगढ प्रस्थान गर्ने छ । त्यसपछि क्रमशस् ८, ९, १०, ११ र १२ बजे प्रत्येक एक घण्टाको अन्तरालमा बसहरु नारायणगढ प्रस्थान गर्ने छन् ।
नारायणगढ पुगेपछि ती बसहरु यात्रुहरु लिई नारायणगढ बसपार्कबाट पुल्चोक हुँदै काठमाडौं फर्किनेछन् । यात्रा गरेवाफत यात्रुहरुले एकतर्फी भाडा ३०० रुपैयाँ बुझाई अनिवार्य रुपमा साझा यातायातको टिकट लिनुपर्ने छ ।
यात्रुहरुलाई सिटमा बाहेक उभिएर वा मुढामा राखेर यात्रा नगराउने साझा यातायात सहकारी संस्थाले जनाएको छ । साझा यातायातका यात्रुहरुलाई अनिवार्य रुपमा टिकट लिएर यात्रा गर्न भनिएको छ । अन्यथा प्रचलित नियम कानुन बमोजिम कारबाही हुनेछ ।

























