देश/प्रदेश

आश्विन शुक्ल प्रतिपदाः हनुमानढोकाको दसैँ घरमा वैदिक विधिपूर्वक घटस्थापना

Banner

काठमाडौँ, असोजः६ –

आश्विन शुक्ल प्रतिपदा अर्थात् दुर्गा पक्षको पहिलो दिन आज हनुमानढोका दरबारस्थित दसैँ घरमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखिएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको बिहान ०९ः१३ बजेको साइतमा हनुमानढोका दरबार क्षेत्रको दसैँ घरमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखिएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख काजीमान प्याकुरेलले राससलाई जानकारी दिनुभयो ।

हनुमानढोका दरबारमा रहेको दसैँ घरमा राज्यका तर्फबाट घटस्थापना गरी विधिपूर्वक दुर्गा देवीको आह्वान गरी पूजा आराधना गर्ने परम्परा रहेको छ ।

हनुमानढोकाको दसैँ घरमा आजैदेखि बलिसहित पूजा सुरु गरिन्छ । हनुमानढोकाको कोतमा महाअष्टमी र महानवमीका अवसरमा भने ५४ बोका, ५४ राँगाको बलि दिएर विशेष पूजा गरिन्छ । यस वर्ष असोज १४ गते बुधबार महाअष्टमी र असोज १५ गते बिहीबार महानवमी पर्व परेको छ ।

वैदिक विधिपूर्वक घटस्थापना गरी दुर्गा देवीको आह्वान गरिएको दसैँ घरमा दुर्गा पक्षको पहिलो दिन आज नव दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको पूजा आराधना गरिन्छ । दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको विधिपूर्वक पूजा आराधना गरिन्छ । नव दुर्गासहित दसैँ घरमा वा पूजा कोठामा महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि विधिपूर्वक पूजा, आराधना गरिन्छ ।

यसैगरी राजधानीलगायत देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा पनि भक्तजनको पूजा, आराधना एवं दर्शनका लागि भीड लाग्ने गर्छ । शक्तिपीठ एवं देवी मन्दिरमा बलिसहित पूजा, आराधना गर्न पनि भक्तजन पुग्ने गर्छन् ।
घटस्थापनादेखि महानवमीका दिनसम्म विधिपूर्वक दुर्गा देवीको पूजा, आराधना गरिन्छ । नौ दिनसम्म पूजा, आराधना गरिएकी देवीलाई विजयादशमीका दिन बिहान देवी विसर्जन गरी मान्यजनका हातबाट प्रसादस्वरुप टीका र समृद्धिको प्रतीकका रुपमा जमरा लगाउने गरिन्छ ।

मान्यजनबाट टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ । कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति गरी बेलुकी धनधान्यकी देवी महालक्ष्मीको विधिपूर्वक पूजा, आराधना गरी जाग्राम बसेपछि १५ दिन लामो बडादसैँ पर्व समाप्त हुन्छ । यो १५ दिनको पक्षलाई दुर्गा पक्ष पनि भनिन्छ । नौ दिनसम्म विधिपूर्वक देवीको आराधना गर्ने बाँकी छ दिन देवीको प्रसाद ग्रहण गरिने भएकाले यो १५ दिनको समयलाई दुर्गा पक्ष भनिएको हो ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>