देश/प्रदेश

खोरेत रोग नियन्त्रणमा

Banner

बागमती, असोज २-

हेटौँडा उपमहानगरपालिका सहित मकवानपुरको विभिन्न स्थानीय तहमा किसानले पालेको पशु चौपायामा फैलिएको खोरेत रोग नियन्त्रणमा आएको छ ।

पशु सेवा कार्यालय मकवानपुरले प्रभावित स्थानीय तहमा खोरेत रोगविरुद्धको खोप अभियान सञ्चालन गरेपछि खोरेत रोग नियन्त्रणमा आएको हो । “खोरेत रोगबाट धमाधम पशुहरु प्रभावित भई मर्न थालेपछि हामीले खोरेत रोगविरुद्धको खोप अभियान चलायौँ, पशु सेवा कार्यालय हेटौँडाका प्रमुख डा बृजकिशोर ठाकुरले भन्नुभयो, “अहिले अब पशुहरुमा देखिएको खोरेत रोग विस्तारै नियन्त्रणमा आइसकेको छ ।”

खोरेत प्रभावित पशुलाई लक्षित गरी जिल्लाको १० वटै पालिकामा खोरेत रोगविरुद्धको खोप अभियान सञ्चालन गरेको र हालसम्म करिब पाँच हजार पशुमा खोप लगाइएको प्रमुख ठाकुरले बताउनुभयो । उहाँका अनुसार भदौ महिनाको पहिलो साताबाट सुरु गरिएको खोरेत रोगविरुद्धको खोप अभियानका क्रममा सबैभन्दा बढी हेटौँडा उपमहानगरपालिकाको विभिन्न वडाका २३ हजार पशुमा खोप लगाइएको छ ।

यस्तै मकवानपुरगढी गाउँपालिकामा छ हजार आठ सय ७५, बागमती गाउँपालिकामा चार हजार सात सय, बकैया गाउँपालिकामा तीन हजार पाँच सय, मनहरी गाउँपालिकामा तीन हजार एक सय, इन्द्रसरोबर गाउँपालिकामा एक हजार चार सय ८८, थाहा नगरपालिकामा एक हजार चार सय ४५, भिमफेदी गाउँपालिकामा एक हजार पाँच, राक्सिराङ गाउँपालिकामा पाँच सय र कैलाश गाउँपालिकामा ३० पशुचौपायामा खोप लगाइएको प्रमुख ठाकुरले बताउनुभयो ।

खोरेत रोगबाट जिल्लाको १० वटा पालिकामा मध्ये नौ वटा पालिकामा फैलिएको खोरेत रोगबाट दुई हजार तीन सय ३९ पशुचौपाया प्रभाबित भएकोमा एक सय एक पुशचौपायाको मृत्यु भएको पशु सेवा कार्यालय हेटौँडाका पशु चिकित्सक डा विजय पौडेलले बताउनुभयो । उहाँका अनुसार सबैभन्दा बढी हेटौँडामा खोरेत रोगबाट ४१ पशु मरेका छन् । भ्याम्सिनेटरले कृषक समूह, सहकारी तथा व्यक्तिगत फर्मका साथै घरदैलोमै पुगेर खोप अभियान सञ्चालन गरिएको उहाँको भनाइ छ । रास

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>