देश/प्रदेश

भोजपुरका विपन्न परिवारले पाए ‘जस्तापाताको छानो’

Banner

भोजपुर, भदौ २८ –

भोजपुरको टेम्केमैयुङ गाउँपालिका ६ कोटका आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारले जस्तापाताको छानो पाएका छन् । आर्थिक अवस्था कमजोर भएका कारण छानो फेर्न नसकेको एक सय आठ परिवारले जस्तापाताको छानो पाएका हुन् ।

जस्तापाताको छानो वितरणसँगै वडा फुसको छानोमुक्त भएको छ । आगलागी जस्ता घटनाबाट बचाउँदै वडा क्षेत्रको सुन्दरतासँगै बस्तीमा एक रुपता ल्याउने लक्ष्यले गरिव तथा विपन्न परिवारलाई जस्तापाताको छानो दिइएको वडाध्यक्ष सूर्यप्रसाद नेपालले बताउनुभयो ।

विभिन्न आर्थिक वर्षमा वडाले बजेट विनियोजन गरेर ४३ परिवार र शघन शहरी कार्यालयबाट ६५ परिवार गरी एक सय आठ परिवारलाई जस्ताको छानो वितरण गरिएको उहाँको भनाइ छ ।“हाम्रो वडा फुसको छानोमुक्त बनेको छ”वडाध्यक्ष नेपालले भन्नुभयो,“यहाँका गरिव तथा विपन्न एक सय आठ परिवारको छानो फेरेका छौँ । जस्ताको छानो फेरेसँगै स्थानीयलाई सहजता भएको छ ।”

गरिवीका कारण वषौँबाट खरको चुहिँने घरमा बस्दै आएको अवस्थामा जस्तापाताको छानो पाउँदा सहजता भएको स्थानीयबासी चिनामाया भारतीले बताउनुभयो ।“आर्थिक अवस्था कमजोर भएको कारण फुसको छानोमा बस्दै आएका थियौँ”उहाँले भन्नुभयो,“वडाको पहलमा राज्यको तर्फबाट टिनको छानो फेर्न पाउँदा खुसी लागेको छ । अहिले छानो चुहिने कुनै डर छैन ।”

चुँहिने घरमा कष्टकर जीवन विताउँदै आएको अवस्थामा सरकारले छानो दिएपछि दैनिकीमा परिवर्तन आएको स्थानीयबासी कृष्ण गिरीले बताउनुभयो । घरमा जस्तापाताको छानो लगाएकोले वर्सेनी छानो फेर्नु पर्ने बाध्यताको अन्त्य भएको उहाँको भनाइ छ । “राज्यले जस्तापाताको छानो दिएको छ”उहाँले भन्नुभयो,“फुसको छानोमा बस्दा धेरै समस्या थियो । फुसको छानो हुँदा आगालागी पनि धेरै डर हुन्थ्यो । छानो फर्न पाउँदा खुसी लागेको छ ।” रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>