देश/प्रदेश

घाइते बालिकाको उपचार खर्च एमालेले व्यहोर्ने

Banner

ललितपुर, भदौ २१-

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशनको दोस्रो दिन आज बन्दसत्रमा आउने प्रतिनिधिको गाडीले ललितपुरको हरिसिद्धि घुम्तीमा एक बालिकालाई ठक्कर दिएपछि बाटो अवरुद्ध हुँदा कार्यक्रम एक घण्टा ढिला सुरु भएको छ ।

बालिकाको सम्पूर्ण उपचार खर्च पार्टीले बेहोर्ने गरी उपचारका लागि अस्पताल पठाएको जानकारी दिँदै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बालिकाको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । दुर्घटना भवितव्य भएकाले महाधिवेशन अवरोध गर्न कसैले राजनीति गर्न खोजेकोप्रति अध्यक्ष ओलीले दुःख व्यक्त गर्नुभयो ।

“गाडीले लागेको बालिकालाई अस्पताल लगिसकियो । त्यस्तो कुनै नियत थिएन । पार्टीले उनको सम्पूर्ण उपचार खर्च बेहोर्छ । घटनाप्रति दुःख व्यक्त गर्दछु । कहिलेकाहीँ यस्ता अप्रिय घटना हुन्छन्”, अध्यक्ष ओलीले भन्नुभयो, “यसमा हामी पनि दुःखी भएका छौँ र बालिकाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ ।”

गोदावरी ललितपुर सनराइज सभाहलमा शुक्रबारको बन्दसत्रमा प्रस्ताव हुन बाँकी तीन प्रतिवेदन आज पेस हुने क्रम जारी छ । अहिले निर्वाचन आयोगका संयोजक डा विजय सुब्बाले प्रतिवेदन पेस गर्दै हुनुहुन्छ । प्रतिवेदन पेस भएपछि १० समूहमा छलफल हुनेछ ।

निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोगको प्रतिवेदन पेश हुँदै छ । शुक्रबार अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रस्ताव, महासचिव शङ्कर पोखरेलको सङ्गठनात्मक प्रतिवेदन र सल्लाहकार परिषद्का अध्यक्ष अमृत बोहोराले प्रतिवेदन पेस गर्नुभएको थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>