कृषि

बन्दीपुरका धानबालीमा ब्लाष्ट रोग देखियो

Banner

दमौली (तनहुँ), भदौ १९ –

यहाँको बन्दीपुर गाउँपालिका–१ नाहालास्थित धानबालीमा मरुवा (ब्लाष्ट) रोग देखा परेको छ । नाहालामा लगाइएको धानबालीको अनुगमनका क्रममा उक्त रोग देखिएकाले समयमा सतर्कता अपनाउन कृषकलाई अनुरोध गरिएको छ ।

धानबालीसम्बन्धी कुनै समस्या देखा परेमा तुरुन्त कृषि प्राविधिक वा कृषि विकास शाखामा सम्पर्क गर्न कृषकलाई आग्रह गरिएको गाउँपालिकाका कृषि शाखाका प्राविधिक सहायक दिनेश सुवर्णकारले बताउनुभयो । उहाँका अनुसार ब्लाष्ट रोग धानका बाला तथा बेर्नामा लाग्ने एक प्रकारको ढुसीजन्य रोग हो ।

धानबालीमा लाग्ने प्रमुख रोगहरू मध्यको यो एक भएको बताउँदै उहाँले भन्नुभयो, “यो रोगले ब्याडका बेर्ना मार्ने तथा धानका बालालाई सुकाउने गर्छ । जुन, सन् १९६६ मा पहिलो पटक देखिएको थियो ।” यो रोग बिउबाट पनि सर्ने भएकाले अघिल्लो वर्ष रोग देखिएका ठाउँका बिउ उपचार नगरी वा रोगी बिरुवा प्रयोग गर्दा फैलिएको हुनसक्ने उहाँको भनाइ छ ।

कृषि प्राविधिक सुवर्णकारले भन्नुभयो, “रोग लागेका धानबालीको पातमा स–साना सेतो टिका जस्तो देखिने दाग, बीचमा भएका खैरा थोप्ला देखा पर्ने तथा फलेको धानमा बाला तलतिर डाँठको वरिपरि वा आख्लामा खैरो रङको दागहरू देखिने र बाला मर्ने समस्या देखा पर्दछ । ढुसीले अनुकूल भएको समयमा विभिन्न भागमा विस्तारै गोलो, लाम्चो आँखा जस्तै आकार बनाउँछ र बीचमा खरानी रङ तथा बाहिर खैरो रङ भएका थोप्लाहरू देखा पर्दछन् ।”

उक्त समस्याबाट धानबालीलाई जोगाउन गत वर्ष रोग नदेखिएको मूल बिउबाट मात्र बिउको छनोट गर्नुपर्ने, पर्याप्त घाम लाग्ने ठाँउमा राम्रोसँग हिलो बनाएर बिउ राख्ने, नुनपानीको सहायताले बिउबाट भुस छान्नेलगायत काम गर्न सकिने उहाँले सुझाव दिनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>