कृषि

महोत्तरीमा हालसम्म पनि रोपाइँ हुँदै

Banner

जलेश्वर, भदौ १८ –

समयमा पानी नपरेर ढिलो गरी धान रोप्न सुरु गरेका जिल्लाका किसानहरू हालसम्म पनि रोपाइँमा व्यस्त छन् । आज पनि जिल्ला सदरमुकाम जलेश्वर नगरपालिका–८ का किसान रोपाइँमा व्यस्त देखिन्छन् । रामआश्रे मण्डल, किताब कवारी, मनोज ठाकुर र असर्फी साहले करिब ३६ जना रोपाहार (धानरोप्ने) लगाएर रोपाइँ गराइरहेका छन् ।

समयमा पानी नपरेकाले यस वर्ष यहाँ ढिलो गरी धान रोपाइँ सुरु भएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार हालसम्म करिब ७६ प्रतिशत जग्गामा रोपाइँ सम्पन्न भएको हो ।

पानी नपरेर बीउ डढ्ने, सिँचाइ समस्याका बीचमा गत साउन १५ गतेपछि पानी पर्न सुरु गरेपछि किसानले रोपाइँ सुरु गरेकामा हालसम्म करिब ७६ प्रतिशत सम्पन्न भइसकेको केन्द्रका प्रमुख देवानन्द रायले जानकारी दिनुभयो । उहाँले यो वर्ष यहाँका अधिकांश किसानले बासमति धान लगाएका छन् । बासमति धानको बोट कम सिँचाइमा पनि सप्रिने र उत्पादन दिने भएकाले किसानको रोजाइमा परेको उहाँले बताउनुभयो ।

दश नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीमा कुल ७१ हजार ५७० हेक्टर खेतीयोग्य जग्गा रहेकामा ६४ हजार ९७७ हेक्टरमा खेती हुँदै आएको केन्द्रका प्रमुख रायले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म पनि रोपाइँ भइरहेकाले यसवर्ष करिब ४० हजार हेक्टरमायसवर्ष धानखेती हुने अनुमान गरिएको छ ।

प्रमुख रायका अनुसार जिल्लाको उत्तरी पश्चिमी क्षेत्रका किसानले मोटर, डिजेल पम्प, नदीनाला, इनार, कुँवा र स्यालो ट्युवबेलको सहयोगमा केही मात्रामा धान रोपे पनि जिल्लाभरि गत साउन १५ गतेपछि मात्रै सबै क्षेत्रमा रोपाइँ सुरु भएको थियो ।

गत वर्ष समयमा पानी परेकाले जिल्लाको कूल ४२ हजार ५०० हेक्टर जग्गामा धानखेती गरिएको थियो । गत वर्ष एक लाख ५० हजार ८०० मेट्रिक टन धान उत्पादन भएको केन्द्रले जनाएको छ । यस वर्ष भने सिँचाइ अभावका कारण उत्पादनमा केही कमी आउने अनुमान गरिएको केन्द्रका प्रमुख रायले बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>