देश/प्रदेश

भोजपुरमा सुन्तलामा फल झर्ने रोग

Banner

भोजपुर, भदौ १८ –

सुन्तलाको फल खस्ने रोग देखिएपछि यहाँका किसान समस्या परेका छन् । सुन्तलाका दानाका भेट्नो कुहिएर झर्न थालेसँगै यहाँका व्यावसायिक सुन्तलाखेतीमा लागेका किसान समस्यामा परेका हुन् ।

सुन्तलाको फल झर्ने समस्याले किसानलाई चिन्तित बनाएको भोजपुर नगरपालिका–३ गुप्तेश्वरका किसान डम्बर बस्नेतले जानकारी दिनुभयो । सुन्तलामा विभिन्न खालका रोग देखिएपछि किसान समस्यामा परेको उहाँको भनाइ छ । “सुन्तलामा पछिल्लो समय फल झर्ने समस्या देखिएको छ”, उहाँले भन्नुभयो, “भेट्नो कुहिएर फल झरिरहेको छ, सुन्तलाको फल झर्ने रोगले चिन्तित बनाएको छ ।”

गुप्तेश्वरका तमना, रबे, सिमलबोटे, बलौटे, वाछलालगायत ठाउँका करिब ३०० किसानले सुन्तलाखेती गर्दै आएको उहाँले जानकारी दिनुभयो । सुन्तलामा रोग देखिएपछि किसान उपचारको खोजीमा रहेको उहाँको भनाइ छ । सुन्तलामा फल झर्ने, हाँगा सुक्ने, ढुसी लाग्ने, पात बेरिने समस्या देखिएको स्थानीय किसान शारदा थापाले बताउनुभयो । फल झर्ने रोगले कतिपय बोट खाली नै भइसकेको उहाँको भनाइ छ । गत वर्ष रु १० लाखको सुन्तला बेचेको भए पनि यस वर्ष रोगका कारण उत्पादन घट्ने चिन्ता बढेको उहाँको भनाइ छ ।

“फल झर्ने रोगले बगान नै खाली हुने अवस्था छ”, उहाँले भन्नुभयो, “गत वर्ष रु १० लाखको सुन्तला बिक्री गरेकी थिए, फल झरेका कारण यस वर्ष उत्पादन घट्ने चिन्तामा छु ।” आफ्नो बगानमा साना ठूला गरी करिब ७०० बोट सुन्तला रहेको उहाँको भनाइ छ ।

भुइँमा झरेको सुन्तलाको दाना काटेर हेर्दा कुनै पनि किरा नरहेको अर्का किसान तीर्थ प्रधानले बताउनुभयो । राज्यले रोगको निराकरणको लागि ध्यान दिन आवश्यक रहेको उहाँले बताउनुभयो । प्रायः यहाँका सबै किसानको सुन्तला बगैँचामा फल खस्ने रोग देखिएको उहाँले जानकारी दिनुभयो ।

“सुन्तलामा विभिन्न खालका रोग देखिँदा हामी किसान समस्यामा छौँ”, उहाँले भन्नुभयो, “राज्यले रोगको पहिचान गरिदिए हुने थियो, रोगको पहिचान भएमा हामी आफैँ औषधि किनेर लगाउन तयार छौँ, यही समस्या रहेमा बगान नै सखाप हुने अवस्था छ ।” रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>