इच्छकामना
चेपाङ समुदायले छोनाम पर्व यसवर्ष चितवनमा मनाउने

चितवन,भदौ ८-
नेपाल चेपाङ संघ केन्द्रीय समितिले छोनम पर्व उल्लासमय तरिकाले मनाउने निर्णय गरेको छ । अति सीमान्तकृत वर्गमा पर्ने आदिवासी समुदाय चेपाङहरूको मुख्य पर्व हो छोनाम । नेपाल चेपाङ संघले भदौ २२ गते छोनामको विशेष कार्यक्रम गर्दै आएको छ । यो पटक चितवन इच्छाकामना गाउँपालिका ६ कालीफखोलामा मनाउने निर्णय भएको नेपाल चेपाङ संघका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले बताए । संघको शनिबार सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो । बारीमा फलेको नयाँ अन्न र अन्य बाली तथा फलफूल, कन्दमुल घरमा भित्र्याएपछि पहिला पितृलाई चढाएपछि मात्रै परिवारले खाने चलन चेपाङ समुदायमा छ ।
पान्दे अर्थात् पुजारीजस्तै भूमिकामा रहने चेपाङ समुदायका झाँक्रीले ढ्याङ्ग्रो ठटाउँदै नयाँ अन्न पितृलाई चढाउँछन्, यो क्रम रातभर चल्छ । छोनामको गतिविधि नै यही हो । नयाँ अन्न देउता या पितृलाई चढाउने चलन अन्य समुदायमा पनि छ । खास गरेर धान स्याहारेपछि चामल खानुअघि न्वागी गरिन्छ । छोनाम पनि चेपाङ समुदायको न्वागी हो भन्छन् केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङ ।
चेपाङहरू चितवनसहित मकवानपुर, धादिङ र गोरखाको पहाडी पखेरामा बस्छन् । धान फल्ने खेत प्रायस् नहुने ठाउँमा बस्ने भएका कारण चेपाङ समुदायको मुख्य खाद्यबाली मकै हो । मकै भदौमा पाकेर तयार हुन्छ । मकैसँगै पाक्ने र खानलायक हुने अन्य बाली, फलफूल, तरकारी छोनाममा पितृलाई चढाउने चेपाङले बताए ।
नेपाल चेपाङ संघले २०६३ भदौ २२ देखि हरेक वर्ष यो दिनमा छोनाम विशेष कार्यक्रम गर्दै आएको छ । अन्यले भदौ २२ अघिपछि पनि गाउँ, घर, टोलमा छोनाम मनाउँछन् । भदौ २१ सम्म गाउँटोलमा छोनाम मनाएर २२ गते कालीखोलाको केन्द्रीय कार्यक्रममा भाग लिने निर्णय भएको अध्यक्ष चेपाङले बताए ।
भदौमा शुक्लपक्ष सुरु भएपछि छोनाम मनाउन थालिन्छ । भदौ २१ मा देशभर जहाँ रहे पनि चेपाङ समुदायले आफ्नो घरमा दीप प्रज्वलन गर्न संघले आह्वान गरेको छ । कार्यक्रममा समुदायको मौलिक पहिरनमा सहभागी हुन पनि संघले अनिवार्य गरेको छ ।
छोनाम पर्वमा बागमती प्रदेश सरकारले चेपाङ बहुल तीन जिल्ला चितवन, मकवानपुर र धादिङमा तीन वर्षखि सार्वजनिक बिदा दिँदै आएको छ । २०७८ सालको जनगणना अनुसार देशभरमा चेपाङ समुदायको जनसंख्या ८४ हजारको हाराहारीमा रहेको नेपाल चेपाङ संघले जनाएको छ ।


























