देश/प्रदेश

छोरीद्वारा बाबुको किरियाः समाजमा सङ्घर्ष, प्रधानमन्त्री र पूर्वराष्ट्रपतिद्वारा समवेदना

Banner

राजकुमार पराजुली

काभ्रेपलाञ्चोक, भदौः५ –

विसं १९९३ असोज ३ गते जन्मनुभएका हरिप्रसाद सापकोटा पनौती नगरपालिका–१ ९तत्कालीन रयाले गाविस०का अगुवा तथा कम्युनिष्टका लागि सेल्टरदाताका रूपमा अविचलीत रहनुभएको थियो । विसं २०५३ सालमा श्रीमतीको मृत्युभएपछि गाउँबासीले हरिप्रसादलाई छोरा नभएको भनेर गरेको हेलारदुर्व्यवहारविरुद्ध छोरीहरूलाई समाज परिवर्तनको अभियानमा लगाएर आमा र बुबा दुवैको कर्तव्य निभाउँदै आउनुभयो । गत साउन २५ गते ९१ वर्षीय हरिप्रसादको निजी निवासमा निधन भएको हो ।

बुबाको किरिया बसेका उहाँका तीन छोरीलाई प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समवेदना व्यक्त गर्नुभएको छ । उहाँहरूले टेलिफोनमार्फत किरियापुत्रीलाई समवेदना व्यक्त गर्नुभएको हो । भण्डारीले बुधबार र प्रम ओलीले सोमबार उहाँहरूलाई टेलिफोन गरी समवेदना व्यक्त गर्नुभएको जनाइएको छ ।

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष ओलीले काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१ रयालेका हरिप्रसाद सापकोटाको निधन भएकामा श्रद्धाञ्जली अर्पण गर्दै सोमबार परिवारजनमा समवेदना व्यक्त गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । उहाँले सापकोटा परिवारमा परेको शोकको घडीमा दुख व्यक्त गर्न टेलिफोन गरेर छोरीहरूले गरेको सहास र सामाजिक चेतना तथा परिवर्तनको प्रशंसा गर्नुभयो ।

एमाले धादिङका सचिव राधिका सापकोटाको मोबाइलमा फोन गरेर बुबाको काजक्रियामा बस्नुभएका राधिकासहित बनेपा नगरपालिकाका उपप्रमुख बिमला सापकोटा र बौद्धिक परिषद् काभ्रेपलाञ्चोकको कोषाध्यक्ष निर्मला सापकोटालेसमाज परिवर्तनका लागि चाल्नुभएको उक्त कदमको प्रशंसा गर्नुभयो ।

त्यस्तै, पूर्वराष्ट्रपति भण्डारीले बुधबार राधिकालाई टेलिफोन गरी ‘धेर धेरै समवेदना छ’ भन्नुभएको पारिवारिक स्रोतले जनाएको छ । उहाँले ‘छोरीहरूले बुबाको किरिया बस्छुभन्दा समाजले स्वीकार्नु पर्ने हो, किन विरोध गर्नुपर्ने’ भन्दै आलोचना गर्नुभयो ।

दश दिनमा संस्कारअनुसार आफन्त दाजुभाइले ‘गौत’ खाएर जोखिनुपर्नेमा अन्यत्रै बसेर आएकोमा छोरीहरूले दुःख व्यक्त गरेका छन् । स्व हरिप्रसादका पाँच छोरीमध्ये तीन जना अहिले किरिया बस्नुभएको हो । दुई छोरी अस्वस्थताका कारण किरिया नबसेका जनाइएको छ ।

उहाँहरूले विसं २०५२ मा आफूहरू सानै भएपनि आमा बित्दा किरिया बस्छुभन्दा समाजले अस्वीकार गरेको गुनासो गर्नुभयो । छोरा नभएका कारण तीन छोरीले गत साउन २६ गते दागबत्ती दिएर सापकोटाको दाहसंस्कार गरेका थिए । दागबत्ती दिएर दाहसंस्कार गरेपछि स्थानीयले त्यस क्रियाकलापलाई स्वीकार्न चाहेका थिएनन् । समाजको बहिस्कारको चेतावनी दिएकाबीच उहाँहरू बुबाको किरियामा बस्नुभएको हो ।

आफूहरू किरियामा बस्दै गर्दा बहिस्कार गर्नेसम्बन्धी समाजका अगुवाहरूको बैठक बसेको खबर पाएपछि उपप्रमुख सापकोटाले सामाजिक सञ्जालबाट आक्रोश पोख्दै लेख्नुभएको छ, “महिलामाथिको विभेद् कहिले अन्त्य हुन्छ, आफ्ना बाबाको काजकिरिया गर्दा सामाजिक बहिष्कारको बैठक हुँदैछ । यो समाज र दाजुभाइ भन्नेले हामीलाई पीडामाथि पीडा थप्ने बहस र बैठक तुरुन्त रोक्न अनुरोध छ । हामीले अरु कसैको वंशमा दखल गरेका छैनौँ, हामी अब थप पीडा सहनसक्ने अवस्थामा छैनौँ ।” बाबुको जलाउँदै गर्दा दाजुभाइ र छिमेकीले शव छोडेर हिडेका थिए ।

“ख्याल गर तिमीले चलाएको बहस कानुन र संविधानको पनि बर्खिलाप छ । हामीले गरेको यो कामले हजारौँ छोरीमाथि न्याय हुनेछ । खबरदार यो छलफल र बहस रोकिहाल, हामी बहिसकार हुन तयार छौँ । १३ दिन हाम्रो बुबाको घरमा बसेर काजकिरिया गर्न देऊ, पीडा नदेऊ, १३ दिनपछि सदाका लागि माइतीको ढोका बन्द गरेर कर्म घर फर्कने छौँ । समाजको डर लाग्ने कृपया हामीलाई साथ दिनुपर्ने बाध्यता नसम्झनु होला, तपाईंहरू स्वतन्त्र हुनुहुन्छ”, उपप्रमुख सापकोटाले लेख्नुभएको छ । उहाँले आफूहरू बहिस्कार हुन तयार रहेको भन्दै कानुन र संविधानविपरित काम नगर्न चेतावनीसमेत दिनुभयो ।

सापकोटा दिदिबहिनीले बुबाको किरियामा बसिरहेको अवस्थामा उहाँहरूलाई सामाजिक बहिस्कारको प्रयास भएकोप्रति सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका छन् भने उहाँहरूको कदमलाई समर्थन गर्दै सामाजिक सञ्जालमा हजारौँ पोष्टहरू शेयर भएका छन् ।

छोरीहरूलाई काजकिरिया गर्न सापकोटा परिवारका पुरोहितले अनुमति दिएपछि उहाँहरू किरिया बस्नुभएको हो । समाजले पुरोहितलाई पनि बहिस्कार गर्नेसमेतको धम्की दिइएपछि उहाँले आफूले ‘विधी’ गराउन नसक्ने बताएपछि अर्का पुरोहितबाट काजकिरियाको काम भइरहेको उपप्रमुखको भनाइ छ । उहाँहरूले आज काजकिरियाको काम सकिँदैछ ।

नेपालको संविधान र मुलुकी देवानी संहिताले छोरा र छोरीलाई समान अधिकार दिएको छ । यस्तै संहितामा छोरीले बुबाको सम्पत्ति लिन, उत्तराधिकारी बन्न र काजकिरिया गर्न बराबर अधिकार राख्नसक्ने उल्लेख गरिएको छ ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>