Breaking News
अलबिदा प्रेम विनोद नन्दन ! चितवनको साहित्यको एउटा आधारस्तम्भ ढल्यो

-मधुसूदन दवाडी
नेपाली गीतसंगीत र साहित्यका अग्रज साहित्यकार तथा गीतकार प्रेमविनोद नन्दनको शोकले चितवनको साहित्य क्षेत्र स्तब्ध भएको छ । उनलाई चितवनका साहित्यकारहरुले सांस्कृतिक बिम्व मान्ने गरेका थिए । नारायणी कलामन्दिरको संस्थापकसमेत रहेका नन्दनको शव नारायणी कला मन्दिरमा केही समय राखेर चितवनका संगीतप्रेमीहरुले संगीतको माध्यमबाट श्रद्धाञ्जली दिए ।
अन्तर मनदेखि धाराबाहिक गीत, कविता र मुक्तक लेख्ने प्रेमविनोद नन्दन कुनै राजनीतिक दर्शन र बाद भन्दा पनि सधै कला र साहित्यको साधनामा लागिरहे । उनी चितवनमात्र नभएर देशकै सबैले मानेको, मूर्धन्य स्रष्टा हुन् ।
कनीकुथी कविता लेख्ने, राजनीतिक बादविवादमा अल्झने र सधै फाइदा कताबाट हुन्छ त्यतै कुद्ने साहित्यकारका अगाडि उनको निस्वार्थ त्याग र समर्पण प्रेरणाको स्रोत बन्ने गर्छ । अब्बल सिर्जना र रचना गर्ने स्रष्टालाई कुनै राजनीतिक दलको पछि लाग्नु नै पर्दैन । ऊ सारा आमनागरिकको साहित्यकार बन्छ । त्यस्तै, नन्दन सधै सारा चितवनबासीको ह्दयको ढुकढुकी बनेर अस्ताए । उनको साहित्य र संगीत सिर्जना सधै हामीहरुको कानमा गुन्जिरहने छ । कोरोनापछि खासै सार्वजनिक कार्यक्रममा नदेखिए पनि कोरोना अघि उनको दिनचर्या र छाया सबैको मनमस्तिष्कमा अमिट छाप बनेर रहेको छ । नेपालीको पहिचान पाल्पाली ढाकाको टोपी,पावरवाला चश्मा,सामान्य झोला र साधारण ड्रेस अप,साधारण जीवनशैली उनको पहिचान थियो । चितवनको हरेक गीत,संगीत,गजल र साहित्यको कार्यक्रममा बिशिष्ट अतिथि,प्रमुख अतिथि बन्नु उनको दिनचर्यानै थियो ।
कार्यक्रमको लागि उनलाई दिनहुँ निमन्त्रणा र फोन आइरहन्थ्यो । हतार हतार पुल्चोक नजिकैको घरबाट उनी हरेकदिन भरतपुरको विभिन्न ठाउँका कार्यक्रममा पुगिरहेका हुन्थे । उमेरले आठ दशक पार गरिसक्दा पनि उनको गीत,संगीत र साहित्यमा सक्रियता देख्दा जो कोहीलाई उनको जीवन प्रेरणादायक लाग्थ्यो । उनको अनुपस्थितिमा चितवनका प्रत्येक कार्यक्रम खल्लो जस्तो हुने गर्दथ्यो ।
बाद, प्रतिवाद, फोहोरी राजनीतिक दर्शनमा चितवनको साहित्य, संगीत कहिलेकाही बिभक्त हुन खोजेमा, भड्किन खोजेमा उनको त्यही लामो सृजनात्मक अनुभबले सबैलाई एकसुत्रमा बाध्ने गर्दथ्यो । उनी चितवनको हरेक समूह र सर्जकले सर्वाधिक रुचाइएका र मानिएका ब्यक्तित्व हुन् । कोरोना अघिसम्म चितवनमा सम्पन्न भएका झण्डै शतप्रतिशत कार्यक्रममा उनी कार्यक्रमको विशिष्ट अतिथि तथा प्रमुख अतिथि बन्ने गर्दथे । सर्वाधिक जनअनुमोदित यो पात्र नेपालको लागि कुनै हल्का र चानचुने पात्र थिएनन् । स्वर्गीय प्रेम विनोद नन्दनको चर्चा,नाम र ब्यक्तित्व बिना चितवनको साहित्य,संगीतको इतिहासनै अपुरो, अधुरो हुन जान्छ ।
आज भन्दा ९० वर्ष पहिले विसं १९९२ सालमा तनहुँको बन्दीपुरको कृषक परिवारमा जन्मिएका नन्दनले स्वअध्ययनबाटै आफ्नो लेखकीय क्षमताको विकास गरे । विशेष त नेपाली गीत र कविता लेखनमा कलम चलाएका उनले आधादर्जन नेपाली चलचित्रका गीतमा रचनाकारको भूमिका निभाए । ‘मोहनी’, ‘कान्छी’, ‘सन्तान’ र ‘कर्जा’ जस्ता चलचित्रहरुको गीत संगीत उनीद्वारा रचिएका प्रमुख रचनाहरु हुन् जुन गीतहरु सधै हरेक नेपालीहरुको जिब्रो जिब्रोमा सधै अजर अम्बर भएर रहिरहने छन् ।
यसको अलावा उनले झटारो, अञ्जलि, सपनीबाट ब्युझेर, भीडमा एक्लै एक्लै, ऐनाभित्रको आकाश जस्ता आधादर्जन गीत,कविता तथा गजल संग्रह पनि प्रकाशित गरिसकेका छन् । राष्ट्रियस्तरको छिन्नलता गीत पुरस्कार पनि प्राप्त गरिसकेका सर्जक स्वर्गीय नन्दनको सम्पूर्ण जीवन, गीत, संगीत र सृजना समग्र राष्ट्रको सम्पत्तिनै हो ।

प्रेम बिनोद नन्दन आफैमा एउटा चितवनको कला र साहित्यको पुस्तकालय जस्तै थिए । यदि कुनै पत्रकारले यस विषयमा खोज,अनुसन्धानलाई अगाडि बढाउनु प¥यो भने उनका अनुभव र भोगाइहरु आफैमा पर्याप्त हुन्थे । उनको जीवनको हर पक्षबारे जान्ने आम समुदायको अभिरुचि पनि देखिन्थ्यो ।
नन्दनको सिर्जना र उनको दैनिक दिनचर्याबारे सबैलाई चासो हुने गर्दथ्यो । मृत्युपछि उनको सिर्जना र तस्बिरले फेसबुकका पानाहरु रंगिएका छन् । सबै जसो अनलाइन पोर्टलले उनको मृत्युको खबरलाई प्राथमिकताका साथ प्रकाशन गरेका छन् । नेपाली साहित्य र संगीतको ‘गोलसिमल’ लाई हार्दिक श्रद्धासुमन । गीत संगीत र साहित्यको आकाशमा उनी सधै चम्किरहने छन् ।
























