विचार/ब्लग

अजय सोडारी भन्छन्ः जेनजी आन्दोलन स्वर्णिम इतिहास हो तर सरकार म्यान्डेन अनुसार चलेन

Banner

आकांक्षा धामी,

काठमाडौं, भदौ २३-

जेनजी आन्दोलनको एक वर्ष पूरा हुँदा जेनजी अभियन्ता अजय सोडारीले सरकार आन्दोलनका मूल भावना र मागअनुसार अघि बढ्न नसकेको बताएका छन् ।

जेनजी आन्दोलनका शहीद परिवार, घाइते र बन्दीका समस्या अझै समाधान नभएको तथा सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना र राज्यका निकायमा युवाको सम्मानजनक सहभागिताको सवाल पनि सम्बोधन हुन नसकेको उनको भनाई छ ।

नेपाल न्यूज बैंकसँगको विशेष कुराकानीमा सोडारीले पछिल्लो समय रसुवा, नुवाकोट र धादिङमा गएको बाढीपहिरोपछि आफूहरूले देखेको अवस्थादेखि जेनजी आन्दोलनको एक वर्षसम्म सरकारको कार्यशैलीबारे धारणा राखे ।

‘रसुवा र नुवाकोटमा अणुबम खसेजस्तो अवस्था’

सोडारीका अनुसार भदौ १० गते रसुवाबाट नुवाकोट हुँदै आएको बाढीपछि आफूहरू दोस्रो दिनदेखि नै प्रभावित क्षेत्रको अवलोकन तथा उद्धारका लागि पुगेका थिए ।

त्रिशूली, देवीघाट, ढुङ्गेबजार, बेत्रावती हुँदै रसुवाको उत्तरगया, स्याफ्रुबेँसी र कालिकास्थानसम्म पुग्दा आफूहरूले जीवनमा कहिल्यै नदेखेको विध्वंस देखेको उनले बताए ।

‘सुन्दर बस्तीहरू, वर्षौंदेखि बस्दै आएका बजारहरू केही पनि देखिएनन् । केवल ध्वस्त भएको अवस्था थियो । मानौँ त्यहाँ कुनै अदृश्य देशले अणुबम खसालेको जस्तो भयो,’ उनले भने ।

उनका अनुसार बाढी प्रभावित क्षेत्रमा बगरमा शव देखिने र कतिपय मानिस छटपटाइरहेको समेत देखिएको थियो ।

उद्धारका लागि पुगे पनि आफूहरूसँग आवश्यक तालिम र उपकरण नभएकाले समन्वयकारी भूमिका निर्वाह गर्नुपरेको उनले बताए । प्रभावित क्षेत्रमा कम्मरसम्म हिलो र बालुवा जमेकाले उद्धार कार्य निकै कठिन भएको उनको भनाइ छ ।

‘सेनाले पनि अनुभवी र तालिमप्राप्तबाहेक अरूलाई उद्धारमा नजान भनिरहेको थियो। त्यसैले हामीले नेपाल आर्मी, सशस्त्र प्रहरी, जिल्ला प्रशासन र जिल्ला प्रहरीसँग समन्वय ग¥यौँ,’ सोडारीले भने ।

उनले २०७२ सालको भूकम्पमा समेत आफूहरूले नदेखेको स्तरको विनाश यसपटक देखेको बताए ।

‘त्यो दृश्य अहिले पनि सम्झिँदा असहज महसुस हुन्छ। हामी निदाउनसमेत सकिरहेका छैनौँ,’ उनले भने ।

‘बाढी प्रभावित क्षेत्रमा सरकार देखिएन’

बाढीपछि नुवाकोट हुँदै रसुवासम्मको स्थलगत अवस्था हेर्दा आफूले सरकारको प्रभावकारी उपस्थिति महसुस गर्न नसकेको सोडारीको आरोप छ ।

‘इमानदारिताका साथ भन्नुपर्छ, हामीले सरकार देखेनौँ,’ उनले भने ।

आफूहरू राहत सामग्री लिएर प्रभावित क्षेत्रमा पुगेको उल्लेख गर्दै उनले त्यहाँ होल्डिङ सेन्टरमा बसेका बालबालिकाको अवस्था अत्यन्त दयनीय रहेको बताए ।

‘एउटा बच्चा एउटा चाउचाउको प्याकेट पर्खिरहेको थियो । खुट्टामा चप्पल थिएन । शरीरमा च्यातिएका कपडा थिए र ती कपडाबाट अझै हिलोको गन्ध आइरहेको थियो,’ उनले भने ।

सरकारको राहत कोषमा ठूलो रकम जम्मा भएको, विभिन्न देश तथा दाताबाट राहत सामग्री आएको र नागरिकस्तरबाट पनि सहयोग जुटेको भए पनि ती सामग्री कहाँ र कसरी वितरण भइरहेको छ भन्नेबारे आफूहरू अन्योलमा परेको उनको भनाइ छ ।

सोडारीले सरकार सामाजिक सञ्जाल र सञ्चारमाध्यममा धेरै देखिए पनि बाढी प्रभावितको वास्तविक भूगोलमा प्रभावकारी रूपमा उपस्थित हुन नसकेको आरोप लगाए ।

‘सरकार आकाशमा देखियो, सामाजिक सञ्जालमा धेरै देखियो । तर जहाँ बाढी आएको छ, जहाँ मानिस पीडित छन्, जहाँ उद्धार र राहत चाहिएको छ, त्यहाँ देखिएन,’ उनले भने ।

‘जेनजी आन्दोलनका मागमा खासै प्रगति भएन’

जेनजी आन्दोलनको एक वर्ष पूरा हुँदा आन्दोलनका मूल मागहरू पूरा हुन नसकेको सोडारीको निष्कर्ष छ ।

उनका अनुसार अहिले पनि १ हजार १ सयभन्दा बढी जेनजी युवाहरू विभिन्न कारागारमा रहेको र उनीहरूले झुटा मुद्दा खेपिरहेको अवस्था छ ।

‘आन्दोलनमा सहभागी भएकै भरमा, आन्दोलनको भिडियो बनाएकै भरमा युवाहरू जेलमा छन् । एक वर्ष भइसक्दा पनि उनीहरूको रिहाइ हुन सकेको छैन,’ उनले भने ।

शहीद परिवारको पुनःस्थापना, क्षतिपूर्ति, रोजगारी तथा सामाजिक सुरक्षाका विषयमा पनि सरकारले पर्याप्त काम गर्न नसकेको उनको आरोप छ । त्यस्तै आन्दोलनका क्रममा घाइते भएकाहरूको अवस्था झनै पीडादायी रहेको उनले बताए ।

‘कसैका हात छैनन्, कसैका खुट्टा छैनन्, कसैका कान छैनन् । शरीरका विभिन्न अंग गुमाएका छन् । तर सरकारले कहिले समिति बनाउने, कहिले बैठक गर्ने गरेर उनीहरूलाई अल्झाइरहेको छ,’ उनले भने ।

‘सुशासन, भ्रष्टाचार नियन्त्रण र रोजगारीको अवस्था उस्तै’

जेनजी आन्दोलनको मुख्य उद्देश्य सुशासन, भ्रष्टाचारको अन्त्य, नेपोटिजमको अन्त्य, रोजगारी सिर्जना र राज्यका निकायमा समान पहुँच रहेको उल्लेख गर्दै सोडारीले ती क्षेत्रमा अपेक्षित परिवर्तन नआएको बताए ।

‘अहिलेसम्म कति रोजगारी सिर्जना भए, कति भ्रष्टाचारी समातिए, कति भ्रष्टाचारको अन्त्य भयो रु’ उनले प्रश्न गरे ।

उनले आन्दोलनको एउटा प्रमुख नाराका रूपमा रहेको ‘नेपो किड्स’ को विषयमा समेत अहिलेको राजनीतिक नेतृत्वमाथि प्रश्न उठाए ।

‘हिजो सडकमा नेपो किड्सविरुद्ध नारा लगाउनेहरू अहिले आफैँ त्यही संरचनाको हिस्सा बनेका छन् । हिजोको आन्दोलन र अहिलेको रहनसहन तथा अभिव्यक्तिबीच कसरी तालमेल भयोरु’ उनले प्रश्न गरे ।

‘सरकार जेनजीकै हो, तर जेनजीका काम गरिरहेको छैन’

सोडारीका अनुसार अहिलेको सरकार जेनजी आन्दोलनबाट सिर्जित राजनीतिक परिस्थितिको परिणाम हो । तर सरकारलाई जेनजीको सरकार भनिए पनि आन्दोलनका मूल उद्देश्यअनुसार काम हुन नसकेको उनले बताए ।

‘सरकार जेनजीकै हो, तर यसले जेनजीका काम गरिरहेको छैन,जेनजीको सरकार भनिए पनि आन्दोलनका मूल उद्देश्यअनुसार काम हुन सकेको छैन,’उनले भने ।

जेनजी आन्दोलनसँग सम्बन्धित विभिन्न सम्झौता, आयोग र प्रतिवेदनको कार्यान्वयन हुन नसकेको उनले बताए ।

उनका अनुसार संविधान संशोधनका लागि उच्चस्तरीय आयोग, आन्दोलनका घटनाको छानबिनका लागि न्यायिक आयोग, जेनजी परिषद् तथा घाइते र सहिद परिवारको पुनःस्थापनाका लागि संयन्त्र बनाउने विषयमा प्रतिबद्धता आए पनि ती कार्यान्वयनमा जान सकेका छैनन् ।

‘आन्दोलनको उभारलाई राजनीतिक लाभका लागि प्रयोग गरियो’

जेनजी आन्दोलनपछि केही अभियन्ताहरू राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरी निर्वाचन लडेर सरकारमा पुगेको विषयमा पनि सोडारीले असन्तुष्टि व्यक्त गरे ।

उनका अनुसार आन्दोलनका माग पूरा नभएसम्म निर्वाचन हुन नदिने बताउने केही अभियन्ता अन्ततः राजनीतिक दलमा प्रवेश गरेर सत्तामा पुगे ।

‘आन्दोलनका माग पूरा नभएसम्म चुनाव हुन दिन्नौँ भन्नेहरूले अन्तिममा अवसर पाएपछि पार्टीमा गएर चुनाव लडे र मन्त्री बने । यसले हामीलाई धोका भएको महसुस भयो,’ उनले भने ।

उनले जेनजी आन्दोलनको राजनीतिक उभारलाई एउटा दलमा मिसाउने काम भएको समेत आरोप लगाए । सरकारसँग दुईतिहाइको बलियो जनसमर्थन भएकाले आफूहरू निर्विकल्प भएको जस्तो व्यवहार गर्न थालेको सोडारीको आरोप छ ।

त्यससँगै सडकबाट युवाले खबरदारी गर्दा सरकार आत्तिएको र त्यसको परिणामस्वरूप धरपकड तथा मुद्दा चलाउने काम भइरहेको उनले बताए ।

सुरुङ उद्धारका लागि विश्वमै प्रविधि नभएको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति समेत उनले प्रश्न उठाए । भारतको उत्तराखण्डमा सुरुङभित्र फसेकाहरूको उद्धार भएको उदाहरण दिँदै सोडारीले सरकारले तथ्य र अध्ययनका आधारमा बोल्नुपर्ने बताए ।

‘यति स्तरसम्मको अभिव्यक्ति दिन मिल्छ ? भारतले सुरुङभित्र फसेका मानिस निकालिसकेको उदाहरण छ । त्यसैले सरकारको जोस धेरै भए पनि यी अभिव्यक्ति र शैलीले होस नभएको देखाउँछ,’ उनले भने ।

‘सरकारले समस्या समाधान गर्नुपर्छ’

सरकारले विगत ३५ वर्षमा हुन नसकेका काम पाँच महिनामै पूरा गर्न नसकिने तर्क गरिरहेकोप्रति सोडारी असन्तुष्ट छन् । उनका अनुसार अहिलेको परिवर्तन नै विगतमा अपेक्षित काम हुन नसकेकाले आएको हो ।

‘विगत ३५ वर्षमा देश भएन भनेर नै परिवर्तन आएको हो । अब फेरि ३५ वर्ष चाहियो भन्न मिल्छ, नेपाल प्रयोगशाला हो रु’ उनले प्रश्न गर्दै भने ।

यद्यपि, उनले सरकारलाई दीर्घकालीन कामका लागि समय आवश्यक हुने कुरा आफूहरूले पनि बुझेको बताए । दक्षिण कोरिया, जापान र सिंगापुरजस्ता देशको विकासमा दशकौँ लागेको उदाहरण दिँदै उनले दीर्घकालीन योजनासँगै तत्काल जनजीविकाका समस्या समाधान गर्नुपर्ने बताए ।

‘महँगी नियन्त्रण, ग्यासको उपलब्धता, रोजगारी र जनताको दैनिक जीवनसँग जोडिएका समस्या तत्काल समाधान गर्नुपर्छ। दीर्घकालीन विकासका लागि अल्पकालीन र मध्यकालीन योजना पनि सँगसँगै अघि बढाउनुपर्छ,’ उनले भने ।

‘जेनजी आन्दोलनको मर्म नबिर्सियोस् सरकार’

सोडारीले जेनजी आन्दोलनलाई कुनै व्यक्तिगत वा राजनीतिक स्वार्थपूर्तिको आन्दोलन नभई पुस्तागत असन्तुष्टिको अभिव्यक्ति भएको दाबी गरे ।

उनका अनुसार आन्दोलनमा सहभागी युवाहरू सत्ता वा राजनीतिक पदका लागि सडकमा आएका थिएनन् । उनीहरू विगतको शासन, सत्ता र राजनीतिक प्रवृत्तिप्रति निराश भएर परिवर्तनका लागि सडकमा उत्रिएका थिए ।

‘यो देशका लागि गरिएको बलिदान थियो। जेनजी आन्दोलनका शहीद र घाइतेलाई हामी बिर्सँदैनौँ। आन्दोलनले उठाएका माग र मुद्दालाई पनि ओझेलमा पर्न दिँदैनौँ,’ उनले भने ।

भदौ २३ गतेलाई आफूहरूले जेनजी पुस्ताका लागि गौरवपूर्ण दिनका रूपमा लिएको उनले बताए ।

‘भदौ २३ हाम्रा लागि स्वर्णिम दिन हो । नयाँ पुस्ताले उठाएको गर्विलो इतिहास हो । त्यो इतिहासलाई हामी जीवित राख्छौँ,’ सोडारीले भने ।

एक वर्ष पूरा भएको अवसरमा आन्दोलनको समीक्षा गर्दै आगामी रणनीति तय गरिने उनले बताए । सरकारका काम, प्रतिबद्धता र कार्यान्वयनको अवस्थालाई सूक्ष्म रूपमा समीक्षा गरेर अघि बढ्ने उनको भनाइ छ ।

सोडारीका लागि जेनजी आन्दोलनको एक वर्ष उपलब्धिभन्दा बढी समीक्षा र संघर्षको समय हो । आन्दोलनको स्मृतिका लागि स्वर्णिम, तर सरकारको कार्यशैलीका लागि ‘कालो दिन’ भएको सोडारीको ठहर छ । न्यूज बैंक

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>