देश/प्रदेश

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

Banner

सनम सुवाल,

बनेपा (काभ्रे), भदौ २३ –

सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजना सुस्तगतिमा अघि बढ्दा स्थानीयवासीलाई भने मर्का परेको छ ।

काठमाडौँ उपत्यकालाई काभ्रेपलाञ्चोकसँग जोड्ने उद्देश्यले आज भन्दा तीन वर्ष अघिदेखि सुरु गरिएको झन्डै १६ किलोमिटर सडक तोकिएकै समयमा निर्माण नहुदा स्थानीयवासी हिलो र धुवाँका कारण मर्कामा परेका हुन् ।

सडक विस्तारका लागि तोकिएको ३६ महिनाको मूल सम्झौता अवधि समाप्त भएपछि आयोजनाको म्याद थप गरिएको थियो । बजेट अभाव, निर्माण स्थलमा देखिएका अवरोध तथा विभिन्न प्राविधिक समस्याका कारण आयोजनाको काम अपेक्षित गतिमा अघि बढ्न सकेको छैन ।

मुख्य चार लेन र दुई सर्भिस लेन गरी छ लेनमा विस्तार गर्ने लक्ष्यसहित आयोजना अघि बढेको छ । सडक विस्तारसँगै नाला, पैदलमार्ग, सडक सुरक्षा संरचना, रिटेनिङ वाल तथा आवश्यक स्थानमा पुल र अन्डर पासलगायतका संरचना निर्माण गर्नुपर्ने सम्झौता छ ।

सडक विभागका अनुसार आयोजनाको कूल अनुमानित लागत रु १० अर्ब ५० करोड छ भने सम्झौता रकम रु आठ अर्ब ५१ करोड छ । आयोजनाको काम सूर्यविनायक–साँगा र साँगा–धुलिखेल गरी दुई सडक खण्डमा विभाजन गरिएको छ ।

पछिल्लो विवरणअनुसार सिङ्गो आयोजना पूरा गर्न अझै ४० प्रतिशत भन्दा बढि काम बाँकी रहेको छ । काभ्रेतर्फको साँगा–धुलिखेल खण्डमा ६८ प्रतिशत भौतिक र ६३ दशमलव पाँच प्रतिशत आर्थिक प्रगति भएको आयोजनाले दावी गरेको छ ।

भक्तपुरतर्फको सूर्यविनायक–साँगा खण्डमा भौतिक प्रगति ५४ प्रतिशत र आर्थिक प्रगति ४८ प्रतिशत पुगेको बताइन्छ । आयोजनाअन्तर्गतको आठ दशमलव तीन किलोमिटर लामो साँगा–धुलिखेल खण्डको स्तरोन्नतिको सम्झौता लामा कन्स्ट्रक्सन कम्पनी प्रालिले पाएको छ ।

विसं २०७९ मङ्सिर २७ गते रु चार अर्ब पाँच करोड ६४ लाखमा ठेक्का सम्झौता भएको यस खण्डको म्याद २०८३ मङ्सिर २३ गतेसम्म सम्पन्न गरिसक्नु पर्छ ।

त्यस्तै, सात दशमलव पाँच किलोमिटर लामो सूर्यविनायक–साँगा खण्डको काम बन्धन भगवती जेभीले गरिरहेको छ । यस खण्डका लागि २०७९ पुस २४ गते रु तीन अर्ब ८८ करोड ९३ लाखमा ठेक्का सम्झौता भएको हो । मूल सम्झौता अवधि ३६ महिना रहेको यस खण्डको म्याद २०८३ फागुन २९ गतेसम्म सम्पन्न गरिसक्नुपर्ने छ ।

दुई खण्डअन्तर्गत उल्लेख्य अन्तर देखिएको छ । काभ्रेतर्फको साँगा–धुलिखेल खण्डमा सर्भिस लेन, नाली तथा रिटेनिङ वाल निर्माणको काम धेरैजसो सम्पन्न भइसकेको छ भने मुख्य सडकमा कालोपत्र गर्ने काम अघि बढिरहेको आयोजना कार्यालयले जनाएको छ ।

साँगा, जनागाल, बाँसघारी, बुडोल तथा बनेपा बजार आसपासका क्षेत्रमा रिटेनिङ वाल, पक्की ढल नाली तथा सर्भिस लेन र मुख्य सडक पिच निर्माणको सुस्त गतिमा भरहेको छ । बनेपा बजारको मुख्य सहरी क्षेत्रमा ढल, सर्भिस लेन तथा मुख्य सडक कालोपत्र गर्ने काम धिमाह गतिमा अघि बढ्दा नगरवासीले सास्ती व्यहोर्नु परेको छ भने स्थानीयको व्यापार व्यावसायमा समेत असर पुगेको बताइन्छ ।

निर्माणका लागि आवश्यक संरचना तयार हुँदै गएपछि यस खण्डमा सडकको स्वरूप क्रमशः परिवर्तन हुँदै गएको देखिए पनि बाँकी काम पूरा नहुँदा व्यापार व्यवसायमा मन्दी आएको यहाँका व्यापारी मणि श्रेष्ठ बताउनुहुन्छ ।

भक्तपुरतर्फको सूर्यविनायक–साँगा खण्डमा सडक विस्तारका लागि जग तयार गर्ने, रिटेनिङ वाल निर्माण गर्ने, पुल तथा नाली बनाउनेलगायतका संरचनागत काम समेत सुस्त गतिमा भइरहेका छन् । साँगा क्षेत्रमा अन्डरपास निर्माणको काम निरन्तर भइरहेको छ । साँगा भञ्ज्याङमा निर्माणाधीन अन्डरपास सम्पन्न भएपछि स्थानीय बस्तीबाट आउने–जाने सवारीसाधन तथा पैदलयात्रीलाई सहज भएको स्थानीय जीवन श्रेष्ठले राससलाई बताउनुभयो ।

पुल निर्माणको काम आयोजनाको महत्वपूर्ण पक्ष बनेको छ । आयोजनाअन्तर्गत जगाती, महादेव खोला र पुण्यमाता खोलामा गरी कूल ३ स्थान मा १२ वटा पुल निर्माणका लागि एम÷एस हिमडुङ एन्ड थोकर–रामजानकी जेभीसँग सम्झौता भएको छ ।

‘डिजाइन एन्ड बिल्ड’ मोडलमा निर्माणाधीन उक्त पुलको भौतिक प्रगति हालसम्म १० प्रतिशत र आर्थिक प्रगति तीन दशमलव २८ प्रतिशतमा सीमित छ । पुल निर्माणका क्रममा आवश्यक डिजाइन पुनरावलोकन तथा प्राविधिक विषयका कारण समय लागेको आयोजनाका इन्जिनियर विष्णु खनालले बताउनुभयो ।
उहाँका अनुसार स्थानीयस्तरमा देखिएका समस्या तथा संरचनाको प्राविधिक आवश्यकता अनुसार डिजाइन संशोधन गरेपछि पुल निर्माण अघि बढाउने प्रक्रिया अगाडि बढाइएको हो ।

ढिलाइ हुनुमा बजेट अभाव पनि प्रमुख कारण बनेको छ । आयोजना कार्यान्वयन एकाइका सूचना अधिकारी अञ्जु परियारले सरकारले भुक्तानी दिन ढिलाई गरिरहेको बताउनुभयो । आयोजनाका लागि चालु आर्थिक वर्षमा कूल रु ९३ करोड १० लाख १७ हजार ७ सय १६ बजेट विनियोजन भएको छ । जसमध्ये चालुतर्फ रु दुई करोड ३२ लाख १७ हजार ७ १६ र पुँजी गततर्फ रु ९० करोड ८९ लाख छुट्टाइएको छ ।

गत आर्थिक वर्षमा निर्माण व्यवसायीलाई भ्याट सहित रु एक अर्ब ७० करोड ७९ लाख २३ हजार ३ सय ७६ भुक्तानी गरिएको थियो । चालु आर्थिक वर्षमा भने पर्याप्त बजेट अभाव हुँदा काम सम्पन्न गरेका निर्माण व्यवसायीको बिल भुक्तानीमा समस्या परेको परियारले जानकारी दिनुभयो ।

निर्माण सामग्री खरिद, उपकरण परिचालन तथा जनशक्ति व्यवस्थापनका लागि नियमित आर्थिक स्रोत आवश्यक पर्ने भएकाले भुक्तानीमा हुने ढिलाइले निर्माणको गति प्रभावित परेको छ ।

इन्जिनियर खनालका अनुसार स्थानीयस्तरमा देखिएको विवाद, विद्युत्का पोल, खानेपानीका पाइप तथा अप्टिकल फाइबर स्थानान्तरणमा भएको ढिलाइ, साइट क्लियरन्सको समस्या, बिटुमिन तथा इन्धनको सङ्कट र निर्माण सामग्रीको मूल्य वृद्धिलगायतका कारणले काम सोचेअनुसार अघि बढ्न सकेको छैन ।

पुलको डिजाइनमा पुनःचार गर्दा पनि थप समय लागेको हो । तथापि, थपिएको समयभित्रै काम सम्पन्न गर्न हामी प्रयासरत छौँ”, इन्जिनियर खनालले भन्नुभयो । सडक विस्तारका क्रममा विद्युत्, खानेपानी तथा सञ्चारका पूर्वाधार स्थानान्तरण गर्नुपर्ने अवस्था देखिएको छ ।

नेपाल विद्युत् प्राधिकरणका उच्च तथा मध्य भोल्टेजका पोल, खानेपानीका मुख्य पाइप लाइन तथा अप्टिकल फाइबर समयमै स्थानान्तरण हुन नसक्दा कतिपय स्थानमा निर्माण प्रभावित भएको थियो । जगाती, नलिनचोक, साँगा तथा बनेपाका मुख्य बजार क्षेत्रमा सडक मापदण्डभित्र पर्ने घरटहरा हटाउने, जग्गा प्राप्ति तथा पुलको डिजाइनलगायतका विषयले पनि निर्माणको सुरुआती गति प्रभावित गरेको आयोजना कार्यालयले जनाएको छ ।

निर्माण कम्पनीले एकातिर सडक विस्तारको काम गर्नुपर्ने र अर्कोतिर नियमित सवारी आवागमन व्यवस्थापन गर्नुपर्ने अवस्था छ । सुक्खायाममा निर्माणस्थलबाट उड्ने धुलो तथा वर्षायाममा हिलो, पानी र अव्यवस्थित डाइभर्सनका कारण आवागमन प्रभावित हुने गरेको छ ।

पर्याप्त पानी नछर्किएको तथा नाली निर्माणमा ढिलाइ भएको भन्दै स्थानीयवासी, व्यवसायी तथा यात्रुले गुनासो गर्दै आएका छन् । जगातीदेखि बनेपासम्म सामान्य अवस्थामा करिब ४५ मिनेटमा पार गर्न सकिने दूरी सवारी जामका कारण बनेपादेखि काठमाडौँसम्म पुग्न दुई घण्टा समय लाग्ने गरेको यात्रुहरु बताउँछन् ।

विशेषगरी साँगा क्षेत्र सवारी चापका कारण संवेदनशील बन्दै आएको छ । काठमाडौँ उपत्यका प्रवेश गर्ने मुख्य पूर्वी नाका भएकाले यस सडकमा दैनिक ठूलो सङ्ख्यामा सवारीसाधन सञ्चालन हुने गर्छन् ।

विपी राजमार्ग हुँदै सिन्धुली, महोत्तरी, बर्दिबास, उदयपुर तथा कोशी प्रदेशका विभिन्न जिल्लातर्फ जाने–आउने सवारी साधनको चापसमेत यही सडकमा पर्छ । निर्माणका क्रममा पर्याप्त वैकल्पिक मार्ग तथा डाइभर्सनको व्यवस्थापन हुन नसक्दा साँगा भञ्ज्याङ तथा बनेपा बजार क्षेत्रमा सवारी जामको समस्या देखिँदै आएको छ ।

सडक निर्माण र सवारी सञ्चालनलाई एकै पटक व्यवस्थापन गर्नुपर्ने भएकाले सामान्य अवस्थामा लाग्ने भन्दा बढी समय यात्रामा खर्च हुने गरेको छ । आयोजना कार्यालयले सडक निर्माणका क्रममा वातावरणीय प्रभाव न्यूनीकरण तथा सडक सुरक्षालाई पनि प्राथमिकता दिएको जनाएको छ । साँगा तथा भैँसेपाटी क्षेत्रका डाँडा काटिएका स्थानमा पहिरोको जोखिम न्यूनीकरणका लागि जाली भर्ने, टेकिङ वाल निर्माण गर्ने तथा घाँस र रूख रोप्नेलगायतका काम पनि सुस्त छ ।

छ लेन सडकका दुवै किनारमा अपाङ्गता मैत्री पैदलमार्ग, ढल निकासका लागि पक्की नाली तथा रातिको समयमा आवागमन सहज बनाउन सडक बत्ती जडान गर्ने योजना समेत आयोजनामा समेटिएका छन् ।

सडक निर्माणसँगै उक्त संरचना तयार भएपछि सडकको उपयोगिता तथा यात्रुको सुरक्षामा सुधार आउने छ । सडकलाई चौडा बनाउने मात्र नभई आधुनिक र सुरक्षित राजमार्गका रूपमा विकास गर्ने लक्ष्यसहित आयोजना अघि बढाइएको हो ।

राजधानी र पूर्वी नेपालबीचको आवागमन सहज बनाउने, सवारी चाप व्यवस्थापन गर्ने तथा यात्रा समय घटाउने उद्देश्यले सडक विस्तारको काम भइरहेको भए पनि निर्माण अवधि लम्बिँदा यसको प्रत्यक्ष असर अहिले सडक प्रयोग गर्ने यात्रुले भोगिरहेका छन् ।

सम्झौताअनुसार तोकिएको समयभित्र निर्माण सम्पन्न हुन नसकेपछि आयोजनाको म्याद थप गरिएको हो ।

आयोजना कार्यालयका अनुसार अब विसं २०८३ पुसभित्र छ लेन सडकको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्यसहित नयाँ कार्ययोजना बनाइएको छ ।

थपिएको समयभित्र आयोजना सम्पन्न गर्न दुवै सडक खण्डमा जनशक्ति तथा उपकरण परिचालन बढाएको भएपनि काम भने सुस्तनै भइरहेको बताउँछन् यहाँका स्थानीयबासी । इन्जिनियर खनालका अनुसार चालु सुख्खायामभित्र साँगा–धुलिखेल खण्डको बाँकी काम सम्पन्न गरी भौतिक प्रगतिलाई शतप्रतिशत पु¥याउने र सूर्यविनायक–साँगा खण्डको कामलाई समेत तीव्रता दिने गरी निर्माण कम्पनीलाई परिचालन गरिएको जिकीर गर्नुहुन्छ ।

सडक सम्पन्न भएपछि काठमाडौँ उपत्यकाको पूर्वी नाकामा हुने सवारी चाप तथा जाम न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । पूर्वी नेपालबाट राजधानी आउने र राजधानीबाट पूर्वतर्फ जाने व्यापारिक तथा यात्रुवाहक सवारीको आवागमन सहज हुँदा व्यापारिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

स्थानीय उत्पादनलाई काठमाडौँ उपत्यकाको बजारसम्म पु¥याउन तथा पूर्वी जिल्लाबाट राजधानीतर्फ हुने आपूर्ति व्यवस्थालाई सहज बनाउन पनि सडकको महत्वपूर्ण भूमिका रहनेछ । तर आयोजना सम्पन्न हुन ढिलाइ हुँदा यी सम्भावित लाभसमेत पछि धकेलिँदै गएका छन् ।

निर्माण अवधि लम्बिँदा यात्रुले दैनिक जाम, धुलो, हिलो र अव्यवस्थित आवागमनको समस्या भोग्नुपरेको छ भने सवारीसाधनको समय तथा इन्धन खर्चसमेत बढिरहेको छ । सडक निर्माणमा भएको ठूलो सार्वजनिक लगानीको प्रतिफल नागरिकले पूर्ण रूपमा पाउन निर्माण समयमै सम्पन्न हुनु आवश्यक छ ।

तीन वर्ष बितिसक्दा सिङ्गो आयोजनाको भौतिक प्रगति ६१ प्रतिशत पुगे पनि सडकका दुई खण्ड र पुल निर्माणको प्रगतिमा देखिएको अन्तरले बाँकी काम चुनौतीपूर्ण रहेको बताइन्छ ।

थपिएको म्यादभित्र बाँकी काम सम्पन्न गर्नु हो । त्यसका लागि पर्याप्त बजेट सुनिश्चित गर्नु, निर्माण व्यवसायीले गरेको कामको समयमै भुक्तानी गर्नु, सडक सीमाभित्रका अवरोध हटाउनु तथा विद्युत्, खानेपानी, सञ्चारलगायतका पूर्वाधार व्यवस्थापनमा सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक देखिन्छ ।

राजधानीलाई काभ्रे हुँदै पूर्वी नेपालसँग जोड्ने यो सडक केवल सडक विस्तारको आयोजना मात्र नभई व्यापार, पर्यटन र आर्थिक गतिविधिसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण पूर्वाधार हो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>