चितवन विशेष
धर्म संस्कृति संरक्षणमा युवा आकर्षण बढ्दै

चितवन, साउन ७-
धर्म र संस्कृतिको संरक्षण गर्दै नयाँ पुस्तालाई आस्था र परम्परासँग जोड्ने उद्देश्यले चितवनका युवाहरू भजन-कीर्तनमा सक्रिय हुन थालेका छन्।
एम.आर.आर. (MRR) चितवनका युवाहरूले “भजन समूह” गठन गर्दै धार्मिक सांस्कृतिक अभियानको थालनी गरेका हुन्। सामाजिक सञ्जाल फेसबुकमा ५० हजारभन्दा बढी सदस्य रहेको यस समूहले चितवनमा भजन कार्यक्रमको औपचारिक शुरुवात गरेको छ।
भरतपुर-१० स्थित महाकालेश्वर मन्दिरमा ६०-७० युवाहरुको सक्रिय उपस्थितिमा नियमित प्रत्येक शनिबार भजन किर्तन हुँदै आएको छ ।
समूहका सक्रिय सदस्य अर्जुन अधिकारीका अनुसार, पोखरा, काठमाडौं, बुटवल लगायतका शहरहरूमा पनि युवाहरूको समूह बनाइ विगत एक वर्षदेखि निरन्तर भजन-कीर्तन कार्यक्रम सञ्चालन हुँदै आएको छ।
देश-विदेशमा फैलिएको युवाहरूको यो समूहले धर्मप्रतिको आस्था, संस्कार र सदाचार प्रवर्द्धन गर्दै नयाँ पुस्तालाई सांस्कृतिक अभियानमा समेट्न निरन्तर प्रयास गरिरहेको छ । त्यसैगरी विपत्तिमा हातेमालो ,रगत ब्यवस्थापन, लगायत थुप्रै मानवीय कर्म गर्दै आएको अधिकारीले जानकारी गराए ।
























