समाचार

त्रिपाठीले दिए आक्रमण गर्नेलाई क्षमा

Banner

काठमाडौं, असार ३२-

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आफूमाथि आक्रमण गर्ने चार जनालाई क्षमादान दिएका छन्। सहकारी पीडितको पक्षमा बहस गरेर निस्कने क्रममा गत माघ २ गते काठमाडौं जिल्ला अदालत परिसरबाहिर आफूमाथि आक्रमण गर्नेहरूलाई उनले इजलासमै माफी दिएका हुन्।

त्रिपाठीको बयानपछि अदालतले ज्यान मार्ने उद्योगको मुद्दामा चारै जना प्रतिवादीलाई सफाइ दिएको छ। वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पीडितको पक्षबाट बहस गरेपछि गत माघ २ गते अदालतको गेट बाहिर आक्रमण भएको थियो।

आक्रमणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका समर्थकहरूको संलग्नता रहेको आरोप लागेको थियो। आक्रमणमा संलग्न ललितकुमार केसी, महानन्द जैसी, सीतादेवी राई र दीपक आलेविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको थियो।

जिल्ला अदालत काठमाडौंले उनीहरूलाई जनही एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। उनीहरू सबै धरौटी बुझाएर पुर्पक्षका लागि थुना बाहिर थिए। बुधबार जिल्ला न्यायाधीश शिशिरराज ढकालको इजलासमा बकपत्रका लागि उपस्थित भएका त्रिपाठीले प्रतिवादीहरूलाई क्षमादान दिएको बताएका थिए।उनले आक्रमणकारीहरू अरूबाटै परिचालित र दिग्भ्रमित भएकाले आफूले मन, मस्तिष्क र स्मृतिमा कुनै पनि द्वेष नराखी माफी दिएको बयान दिए। त्रिपाठीले नै आफ्नो दाबी छाडेपछि इजलासले सोहीअनुसार फैसला सुनाएको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>