राजनीति
भिजिट भिसाको मुद्दा छाड्दैनौंः नारायणकाजी श्रेष्ठ

काठमाडौँ, जेठ ३१-
नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भिजिट भिसाको मुद्दा नछाड्ने बताएका छन् । भिजिट भिसा प्रकरणमा सरकारमा रहेका दुई राजनीतिक दलहरूसँग गरेको सम्झौता पार्टी हितमा भएरनभएको बारेमा पार्टीमा समीक्षा हुनुपर्ने समेत उनले बताएका हुन् ।
माओवादी केन्द्र दोलखा—काठमाडौं सम्पर्क समन्वय समितिको सम्मेलनलाई सम्बोधन गर्दै उनले भने ‘अध्यक्ष कमरेडले समग्र परिस्थितिको लेखाजोखा गरेर त्यस्तो निष्कर्षमा पुग्नुभएको हुनसक्छ । पार्टीमा आधिकारिक रुपमा भन्नसक्ने स्थितिमा छैन । हामीले यो मुद्दा छोड्दैनौँ, भ्रष्टाचारको यो स्तरको जो प्रक्रिया अगाडि आएको छ, यो मुद्दा हामीले छोडेका होइनौँ । हामी छोड्दैनौँ । यो भ्रष्टिकरणको विरुद्ध, भ्रष्टाचारको विरुद्धको अभियान जारी राख्छौँ । अरु कुराको हकमा तात्कालीक कार्यनीतिका हिसावले के पर्यो, किन त्यसो गर्नुपर्यो भन्नेकुरा हामी छलफल गरेर मात्रै एउटा टुंगोमा पुग्नेछौँ ।’

























