राजनीति
एमाले बामाले हुँदै झोलेमा झर्दै रहेछ भन्ने तथ्य स्पष्ट भयोः डा.भीम रावल

काठमाडौं,जेठ २७-
नेकपा (एमाले) का पूर्वउपाध्यक्ष तथा मातृभूमि जागरण अभियानका संयोजक डा. भीम रावलले एमाले बामाले हुँदै झोलेमा झर्दै गरेको तथ्य स्पष्ट भएको टिप्पणी गरेका छन्। एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियुको २४अौं महाधिवेशनमा नेतृत्व चयन प्रक्रियाको सन्दर्भलाई लिएर रावलले यस्तो टिप्पणी गरेका हुन्।
ुविभिन्न पदमा उम्मेदवार भई प्रतिस्पर्धामा जान हुन इच्छुकहरूलाई दलका नेताबाट मौखिक र लिखित रूपमा दबाब र धम्की दिँदै पदाधिकारीको नाम पार्टी नेताले नै घोषणा गर्दा त्यसकाविरूद्ध नाराबाजी भएपछि चुनावको कार्यक्रम प्रकाशित गरिएछ। यसले साँच्चै एमाले बामाले हुँदै झोलेमा झर्दै रहेछ भन्ने तथ्य स्पष्ट हुन्छ, उनले भनेका छन्। उनले पार्टीमा काम गर्दै गर्दा एमाले यहाँसम्म झर्छ भनेर कल्पनासमेत नगरेको बताएका छन्। म लगायतकाले अनेरास्ववियु (एकताको पाँचौँ) को स्थापना गर्दा तथा लामो समय दलमा काम गर्दा उक्त प्रकारले सङ्गठन बामाले र झोले स्वार्थी झुण्डमा झर्ला भनेर कल्पनासम्म पनि गरेका थिएनौँ, उनले भनेका छन्।
अनेरास्ववियुको जारी महाधिवेशनमा नेतृत्व चयनका लागि पार्टी नेताहरू हाबी भएका छन्। यसपछि विद्यार्थी नेताहरूले आफ्नो नेतृत्व निर्वाचनमार्फत आफैँले चुन्न पाउनुपर्ने भन्दै नाराबाजीसमेत गरेका छन्। यही सन्दर्भमा रावलले यस्तो बताएका हुन्।


























