राजनीति
नेपाल बैंकका पूर्वअध्यक्ष अधिकारीविरुद्ध एकै दिन तीन भ्रष्टाचार मुद्दा

काठमाडौं, जेठ २६-
ऋण लिने सेवाग्राहीसँग घुस मागेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बैंक लिमिटेडका तत्कालीन अध्यक्ष डा चन्द्रबहादुर अधिकारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले नेपाल बैंकको तत्कालीन सञ्चालक समिति अध्यक्ष अधिकारीमाथि १९ लाख रुपैयाँ घुस लिएको आरोप लागेको हो । उनले भैरहवामा सञ्चालन हुन लागेको र्याडिसन प्रोजेक्टलाई ऋण दिने क्रममा १९ लाख रुपैयाँ घुस लिएको आरोप छ ।
भुसाल हस्पिटालिटीका अध्यक्ष बालकृष्ण भुसालले ऋणका लागि नेपाल बैंक लिमिटेडमा प्रक्रिया अघि बढाएका थिए । त्यसक्रममा नेपाल बैंकका अध्यक्ष चन्द्रबहादुर अधिकारीले ह्वाट्सएपमार्फत कुराकानी र भेटघाट गरेर घुस मागेको अख्तियारको आरोप छ ।
अख्तियारले गत माघमा नै उनको घरमा छापा मारेर त्यो रकम बरामद गरेको थियो । उनले त्यो रकम आफ्नो सवारीचालक नसीब अन्सारीमार्फत लुकाएका थिए । अख्तियारले तत्कालीन अध्यक्ष अधिकारी, सवारीचालक नसिब अन्सारी अनि घुस दिएको आरोप लागेका बालकृष्ण भुसाल, उनका छोरा अंकित भुसाल र अमृत भुसालमाथि समेत मुद्दा चलाएको हो ।
अख्तियारले उनीमाथि नै मंगलबार थप दुईवटा आरोप लगाएर मुद्दा दायर गरेको छ ।


























