समाचार
युरोपेली प्रयोगकर्ताको डेटा चीन पठाएकोमा टिकटकलाई ५३ करोड युरो जरिवाना

काठमाडौँ, बैशाख १९-
प्रयोगकर्ताको डेटा चीनमा पठाएकोमा टिकटकलाई ५३ करोड युरो जरिवाना गरिएको छ। आयरल्यान्डको डाटा संरक्षण आयोग (डीपीसी) ले शुक्रबार जरिवाना जारी गर्दै टिकटकले चीनमा व्यक्तिगत जानकारी स्थानान्तरण गर्दा युरोपेली संघको डाटा सुरक्षा नियम उल्लङ्घन गरेको र पारदर्शिताको आवश्यकता पूरा गर्न असफल भएको जनाएको छ।
टिकटकको युरोपेली मुख्यालय डब्लिनमा रहेकाले आइरिस नियामक निकायले जिम्मेवारी लिएको छ। सामाजिक सञ्जाल समूहले यो फैसलाले विश्वव्यापी रूपमा सञ्चालित युरोपको कुनै पनि कम्पनीमा नकारात्मक प्रभाव पार्ने बताएको छ।
टिकटकको मूल कम्पनी बाइटडान्सले यो निर्णयसँग असहमत रहेको भन्दै अपिलमा जाने बताएको छ। टिकटकले डीपीसीले आफ्नो प्रतिवेदनमा दाबी गरे अनुसार चिनियाँ अधिकारीबाट युरोपेली प्रयोगकर्ताको डेटाको अनुरोध कहिल्यै प्राप्त नगरेको स्पष्ट पारेको छ।
यो जरिवाना आइरिस डीपीसीले जारी गरेको तेस्रो ठूलो जरिवाना हो। यसअघि फेसबुकको मालिक मेटालाई १।२ अर्ब युरो र अमेजनलाई ७४ करोड युरो जरिवाना गरिएको थियो।

























