धार्मिक/सांस्कृतिक

आज आमाको मुख हेर्ने दिनः आमा हुने, नहुने र टाढा हुनेले कसरी मनाउने ?

Banner

भुपेन्द्रराज घिमिरे,

चितवन, वैशाख १४-

आज (आइतबार) हामी विशेष गरेर हरेक वर्षको बैशाख कृष्णपक्षमा आउने माता तिर्थ औंसी तिथी, जसलाई आमाको मुख हेर्ने दिनको नामबाट चिनिन्छ।

वास्तवमा, आमाको मुख हेर्ने दिन (मातृ दिवस) भनेको आमाको प्रेम, त्याग र समर्पणलाई सम्झने र सम्मान गर्ने दिन हो । यो दिन मनाउनका लागि आमा हुने वा नहुने, छोराछोरी टाढा हुने वा नजिकै हुने सबैले आआफ्नो तरिकाले आमाको स्मरण गर्न सकिनेछ ।

या देवी सर्वभूतेषु मातृरूपेण संस्थिता ।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ।।

जुन देवी सम्पूर्ण प्राणीहरूमा माताको रूपमा प्रतिष्ठित हुनुहुन्छ — उहाँलाई बारम्बार नमन होस् । एउटा किंवदन्ती छ: एक पटक भगवान बुद्धले एउटा युवकलाई सोधे, “तिम्रो जन्मदाता को हो ?“ युवकले भन्यो, “आमा ।“ बुद्धले भने, “त्यसोभए आमालाई नै प्रणाम गर, किनभने उहाँ नै तिम्रो प्रथम देवी हुन् ।“

आमाको मुख हेर्ने दिन, केवल मुख हेर्ने मात्र होइन — हृदय हेर्ने दिन हो । कृपा हेर्ने दिन हो । र समर्पणको दिवस हो ।

अर्को रोचक किंवदन्ती: जुन् माता शबरी र श्रीरामको भेटको विषयमा वाल्मीकि रामायणमा उल्लेख छ । माता शबरी, एक वृद्धा, आफ्नो एक्लो जीवन बिताउँदै थिइन् । उनले आफ्नो मातृत्व भावलाई भगवान् श्रीराममा अर्पण गरिन् । श्रीरामले माता शबरीका जुठा बयरहरू समेत खाएर स्वाद लिए, किनकि त्यसमा माताको प्रेम मिसिएको थियो । यस किंवदन्तीले के देखाउँछ भनेः आमा हुनु भनेको रक्तसम्बन्ध मात्र होइन, भावना, त्याग र ममत्व हो ।

“आमाको मुख हेर्ने दिन“ नेपाली समाजमा एकदमै विशेष र भावुक दिन मानिन्छ, जहाँ आमा प्रतिको सम्मान, मायाँ, कृतज्ञता र सम्झनालाई अभिव्यक्त गरिन्छ । यस दिनलाई विविध परिस्थितिमा रहेका व्यक्तिहरूले आ–आफ्नै तरिकाले मनाउन सक्नेछन् । आमाको मुख हेर्ने दिनमा आमा हुनेले, आमा भएर पनि छोराछोरी टाढा हुनेले तथा आमा नहुनेले के, कस्तो र कसरी आमाको मुख हेर्ने दिन मनाउन सकिन्छ होला भनेर सोचिरहनु भएको छ भने अब यस लेखबाट प्रष्ट हुनुहुनेछ ।

१. आमा हुनेलेः

आमासँगै रहनेले आमाको त्याग, तपस्या र मायाको याद गर्दै, मीठो खानाका परिकार ख्वाउने तथा राम्रा–राम्रा नयाँ वस्त्र लगाइदिने, यो राम्रो पक्ष हुन आउँछ ।

२. आमाभन्दा टाडा हुनुभएकाले:

आफ्नो घरपरिवार, टोलछिमेक र मातृभूमि नै छोडेर विदेशीनु हामी धेरै नेपालीजनको बाध्यता हो । यस अवस्थामा आमासँग भौतिक रूपमा टाढा हुनेहरूले यस दिन भेट्न सम्भव नभएमा पनि आमा नजिकै हुनुहुन्छ भन्ने अनुभूति गर्न सक्छन् । आजको प्रविधिले दुरी घटाएको छ, तर भावना भने अझ घनिभूत बनाएको छ । फोन, भिडियो कल, सन्देशबाट आशीर्वाद लिने पनि चलन छ ।
आमाको नाममा खानेकुरा, कपडा, पैसा सम्झना गरेरराखी (भेटमा दिने गरी) यस्ता स्नेहिल उपहार । यी सबै माध्यमहरूले आमा र सन्तानबीचको सम्बन्धलाई सुदृढ बनाउन सक्नेछ ।

३.आमा नहुनु भएकाले

जसको आमा यस लोकमा हुनुहुन्न, तिनका लागि यो दिन सम्झनाको आँसु र भावनाको फूल चढाउने दिन हो । स्वर्गीय आमालाई सम्झेर पूजा गर्नु, आमालाई हृदयले स्मरण गरी आमाको नाममा यथासम्भव वस्तु (कपडा, पैसा, फलफूल, दूध) गरिब, दीनदुःखीहरूलाई विशेष गरेर महिला, नभए कन्यालाई दान गर्ने, वृद्धाश्रममा आमाहरूलाई खुवाउने वा बाँड्ने गर्नुपर्दछ । मायाँ बाँड्नु पर्दछ । यस्ता कर्महरूले आमाप्रति सच्चा श्रद्धाञ्जली हुन्छ ।

यस दिन दुध दान गर्नु उत्तम हुन्छ । आफ्ना दिदीबहिनी, भाञ्जाभाञ्जी, ज्वाईं–चेलासहित ब्राह्मणलाई समेत खुवाई यथाशक्ति सिधा दान गर्दा आफ्ना पितृ प्रसन्न भई दान गरेभन्दा सयौं गुना बढी आशीर्वाद दिन्छन् र पारिवारमा सुख, शान्ति, उन्नति हुन्छ भन्ने धार्र्मिक मान्यता छ ।
यस दिन मातातीर्थ वा अन्य तीर्थ, कुण्डमा गएर, घरमा ल्याएको तीर्थ जलद्वारा जौ, तिल, कुश स्नानमन्त्रसहित स्नान गर्नुपर्दछ’ ।

स्नानमन्त्र:
वैशाखं सकलं मासं मेषसङ्क्रमणे रवेः ।
प्रातः सनियमं स्नास्ये प्रीयतांं मधुसूदन ! ।।

यो श्लोक उच्चारण गरी स्नान गरेर तामाको भाँडा वा हत्केलाद्वारा गायत्रीमाता, स्नान/स्थान जलदेवता, हरिहरनारायण र सूर्यनारायणलाई जल चढाउने र आमा नभएकाहरूले आमाको नाममा पनि जल चढाउनु पर्दछ । यथासम्भव हरिहर भगवान्को दर्शन गर्दा उत्तम हुन्छ । यो राम्रो पक्ष हुन आउँछ ।

प्रिय सज्जनहरु “आमाभन्दा ठूलो छाया (सुरक्षा) अरू कहीं छैन, आमाभन्दा ठूलो गति (मार्गदर्शन) अरू कहीं छैन । आमाभन्दा ठूलो शरण अरू कहीं छैन, आमाभन्दा ठूलो प्यास बुझाउने स्रोत अरू कहीं छैन । “

आमाको मुख हेर्ने दिन, हामी सबै आमाहरूको चरणमा श्रद्धा अर्पण गरौं ।
उनको माया हाम्रो जीवनको आशिष् बनिरहोस् । सबैलाई शुभकामना ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>