समाचार
बार्सिलोना आएका पर्यटक पञ्चैबाजामा छमछमी नाचे (फोटो फिचर)

विप्लव काफ्ले
स्पेन, चैत २६-
स्पेन घुम्न आउने अधिकांस पर्यटक बार्सिलोनाको साग्रदा फामीलीया नपुगेको सायदै भेटिन्छन् । १४३ वर्षदेखि निर्माणाधिन यो चर्च निकै कलात्मक छ । यहि चर्च अगाडि नेपालीहरुले पञ्चैबाजा घन्काए ।
मौलिक गीतमा छमछमी नाचे । विश्वभरबाट आउने पर्यटकलाई नेपाली कला देखाए । नेपाली जनप्रगतिशील मञ्च स्पेनको आयोजना तथा बार्सिलोना नगरपालिका र प्ला कमुनीतारीया (सांस्कृतिक विभाग) को सहकार्यमा गरिएको ‘नेपाल पर्यटन प्रवर्द्धन तथा नेपाली नयाँ वर्ष २०८२ को शुभकामना आदान-प्रदान कार्यक्रम, नमस्ते बार्सिलोना २०२५’ कार्यक्रम कला केन्द्र सरह बन्न पुग्यो । मेला-महोत्सवको झल्को दिएको थियो । पर्यटकहरुले नेपाली मःमः, सेलरोटी खादै कार्यक्रमको मज्जा लिए । ममिज मस्म कि सञ्चालक ज्योति गुरूङ नेपाली स्वादमा पर्यटक रमाउदा निकै उत्साहित बनिन् । नेपाली अन्न, खाना, अचार, नेपाली पोशाकको पनि राम्रै व्यापार हुन पुग्यो ।
नेपाली झण्डा चारैतिर फरफराइरहेका थिए । नेपाल घुम्न चाहनेहरुका लागि टुरिजम इन्फो सेन्टरहरु राखिएका थिए । नेपालीहरुले नेपालका मुख्य गन्तव्यबारे बुझाउने मौका पाए । पर्यटकहरुलाई नेपाल चिनाउने पम्लेट, ब्रोसरहरु बाँडिएको थियो ।
स्पेनिस नागरिक फर्नान्डेजले नेपालनै पुगेको अनुभूति सुनाए । उनी धेरै पटक नेपाल घुमिसकेका छन् । ‘नेपालमै पुगेर रमाएजस्तै भयो’, उनले भने, ‘नेपाली भेषभुषा, नाचगान निकै लोभलाग्दो छ ।’
स्पेनमै हुर्केका ससाना बाबुनानीहरु दौरासुरुवाल, टोपी, गुन्यु चोलिमा सजिएर खुल्ला आकाशमुनी मज्जाले नाचे । पञ्चैबाजा बज्दा माहोल निकै तात्यो । विदेशीहरु पनि नेपालीको सिको गर्दै कम्मर हल्लाउदै नाचे । गण्डकी पन्चैबाजाका संयोजक खेमकुमार भन्डारी पञ्चैबाजाको धुनले विश्वलाई मोहित पार्ने बताउँछन् । रोजगारीका लागि स्पेन आएका युवाहरुलाई उनले पञ्चैबाजाको तालहरुको अभ्यास गराउदै आउँछन् ।
दौरा सुरूवाल, ढाका टोपी, भादगाउँले टोपीमा नेपाली कलाका सजिए चौबन्दी चोली, गुन्यु, फरिया, हाकु पटासी, घलेकी पहिरिका नारीहरु नौगेडी, शिरफूल, शिरबिन्दू, ढुंग्री, झुम्का, तिलहरी, बुलाँकी, बाला जस्ता गहनाले ढपक्कै बने । तमु समाज बार्सिलोना, मगर समाज स्पेन, मोना स्पेन , कास्की आदर्श समाज स्पेन, नेपाली पाठशाला बार्सिलोना लगायतका संस्थाले नृत्य प्रस्तुत गरेका थिए ।

नेपाली राजदूत शनिल नेपाल नेपाली कला, संस्कृति विश्वका लागि निकै आकर्षक मानिने बताउँछन् । ‘नेपालको सजिव चित्र उतार्न यो कार्यक्रम सफल बन्यो’, उनी भन्छन्, ‘प्रवासीहरुले नेपाल घुम्ने निम्तो बाँड्न यस्ता पर्यटन प्रवर्द्धनका कार्यक्रमलाई निरन्तरता दिनुपर्छ ।’ स्पेनको कातालुनिया राज्यका प्रदेश सांसद एरनियस्तो कारिओन साब्ली नेपालको विविधता देखेर दंग परे ।

नेपाली जनप्रगतिशील मञ्च युरोपका उपाध्यक्ष गंगा भुषालले नेपालको माया दर्शाउन पाउँदा निकै खुशी बनेको बताए । नेपाली जनप्रगतिशील मञ्च युरोपका सचिव अर्जुन आचार्यले पर्यटन प्रवर्द्धन कार्यक्रम उत्सव सरह बनेको टिप्पणी गरे । एनआरएनए आईसिसि युरोप संयोजक चिन्तामणि सापकोटाले नेपाल सम्झिन पाउँदा गौरव लागेको बताए ।

एनआरएनए स्पेनका अध्यक्ष पेशल कोइरालाले नेपाली कला, संस्कृति जोगाउने दायित्व सबैको रहेको बताए । नेपाली जनप्रगतिशील मञ्च स्पेनका अध्यक्ष विशाल ढुंगानाले विगतको तुलनामा यसपालि सहभागीता निकै बढेको बताए । मञ्चले सन् २०१८ देखि नयाँ वर्ष, दशै-तिहारमा वर्षेनि २ पटक पर्यटन प्रवर्द्धन कार्यक्रम गर्दै आएको छ ।


























