Breaking News

बझाङमा अटो दुर्घटनाः मृतकको संख्या चार पुग्यो, चालक प्रहरी नियन्त्रणमा

०
Banner

बझाङ,कात्तिक ३० –

बझाङको बुङ्गल नगरपालिका–१० टुमेडास्थित भित्री कच्ची सडक खण्डमा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ। दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने थप खोजीका क्रममा एक बालिकाको शव फेला परेसँगै मृतकको संख्या चार पुगेको हो।

प्रहरीका अनुसार २०८३ साल कात्तिक ३० गते बिहान करिब १०:२० बजे टुमेडा गाउँबाट बुङ्गल नगरपालिका–११ स्थित हिड्नेगडा बजारतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ह ७९९८ नम्बरको अटो ब्रेक फेल भई सडकबाट करिब ९०० मिटर तल भिरमा खसेको थियो।

दुर्घटनाका बेला अटोमा चालकसहित ६ जना सवार रहेको खुलेको छ। दुर्घटनामा परी बुङ्गल नगरपालिका–१० की करिब ३५र/४० वर्षीया राजमति महरा, १५/१६ वर्षीया तारा महरा र ५/६ वर्षीया डल्ली महराको मृत्यु भएको थियो।

थप खोजीका क्रममा सोही ठाउँकी करिब चार वर्षीया रियास महराको शवसमेत फेला परेको प्रहरीले जनाएको छ।

अटोमा सवार सोही स्थानका करिब १२/१३ वर्षीय विक्रम महरा भने सकुशल घरतर्फ गएको बुझिएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट पुतलीलेक, इलाका प्रहरी कार्यालय बुङ्गल तथा जिल्ला प्रहरी कार्यालय बझाङबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रहरी टोलीले खोज तथा उद्धार कार्यसँगै घटनाबारे अनुसन्धान अघि बढाएको छ।

दुर्घटनामा संलग्न अटो चालक बुङ्गल नगरपालिका–११ निवासी २५ वर्षीय टेकबहादुर पातलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अटो घटनास्थलमै रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>