अपराध
विवाह गरेको १० महिनामै श्रीमतीको हत्या, ६ वर्षपछि पक्राउ परे श्रीमान

जनकपुरधाम, फागुन २-
विवाह गरेको १० महिना नबित्दै श्रीमतीको हत्या गरेको अभियोगमा एक युवकलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा शम्भुनाथ नगरपालिका २ का सन्तोष साह छन् । कर्तव्य ज्यान मुद्दामा उनलाई बिहिबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक मनिष श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार ०७६ जेष्ठ २६ मा सन्तोष र गायत्री साहबीच विवाह भएको थियो । सन्तोषले ०७६ चैत ६ गते राति श्रीमती गायत्रीलाई कुटपिट गरी शम्भुनाथ नगरपालिका २ स्थित ट्राफिक चौकमा फालेका थिए ।
फालेको विहानपल्ट गायत्रीलाई आफन्तले उद्धार गरी उपचारका लागि यूनिक अस्पताल पुर्याए । तर उपचारको क्रममा सोही दिन उनको मृत्यु भएको थियो ।
घटना भएदेखि सन्तोष फरार थिए । खोजतलासको क्रममा बिहिबार कानून बमोजिम पक्राउ पूर्जी दिई उनलाई पक्राउ गरेको र थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।