चितवन विशेष
फेरिएको हिमालय आविले मनायो ४२औं वार्षिकोत्सव तथा अभिभावक दिवस

चितवन, माघ २७–
छोटो समयमा सबै कुराले परिवर्तन भएको सामुदायिक विद्यालय हो भरतपुर–११, स्थित हिमालय आधारभूत विद्यालय जागृतिचोक । सामुदायिक विद्यालयहरुमा विद्यार्थी पाउनै मुश्किल भइरहेको अवस्थामा यस विद्यालयमा पछिल्लो समय विद्यार्थीको संख्या उल्लेखीय सुधार भएको छ । हाल यस विद्यालयमा २८१ जना विद्यार्थी अध्ययनरत छन् ।
२०७९ मा १९८ जना विद्यार्थी अध्ययन गरेका थिए । रचनात्मक क्रियाकलाप गर्दै आइरहेको यस विद्यालय प्रारम्भिक बालविकास केन्द्र (इसीडी)तर्फ महानगरकै उत्कृष्ट विद्यालयमा पर्छ । यही विद्यालयले आइतबार आफ्नो ४२औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । वि.सं.२०४० साल माघ २७ गते स्थानीय चन्दादाताहरुको सहयोगबाट पठनपाठन सुरु भएको विद्यालयमा अहिले कक्षा ८ सम्म अध्यापन हुने गरिएको छ ।
२०४६ सालमा कक्षा तीनसम्म पठनपाठन संचालन भएको यस विद्यालयमा २०५३ सालमा कक्षा ५ सम्म पठनपाठन, २०६५ सालबाट कक्षा ६ र २०६८ सालबाट कक्षा ८ सम्म पठनपाठन भइरहेको छ । २०६८ सालमा धनधान्याञ्चल महायज्ञ संचालन गरेर १० वटा सटर र १३ कोठासहितको एकतले भवन निर्माण गरेको विद्यालयले २०७८ देखि प्रारम्भिक बालविकास केन्द्रमा नर्सरी र केजी अलग अलग कक्षा संचालन गर्दै आइरहेको विद्यालयका प्रधानाध्यापक डिल्ली रमण तिवारीले जानकारी दिनुभयो ।
४.१० कठ्ठामा फैलिएको विद्यालयमा २ वटा भवन छन् । विद्यालयमा १५ जना शिक्षक कर्मचारी छन् । अहिले विद्यालयको व्यवस्थापकिय पक्ष वरिष्ठ अधिवक्ता जगन्नाथ भण्डारीले हेरिरहनु भएको छ । अहिले दोस्रो कार्यकालमा काम गरिरहेका भण्डारीले विद्यालयलाई रचनात्मक क्रियाकलापमा सक्रिय बनाउँदै लैजानु भएको छ । उहाँकै पहलमा विभिन्न दिवसहरुमा विद्यालयमा बिदा नदिई पठनपाठन गराउने गरिएको छ ।
विद्यालयले संविधान दिवसको दिन विद्यार्थीहरुलाई नेपालको संविधान पढाएको थियो । विद्यालयको भौतिकदेखि शैक्षिक सुधारका लागि प्रयासरत रहेको अध्यक्ष भण्डारीले बताउनुभयो ।