चितवन विशेष

संघीयताको खारेजीको माग गर्दै चितवनमा जनमोर्चाको मोटरसाइकल र्‍याली

Banner

चितवन, माघ २६–

चितवनमा संघीयता खारेजी माग राख्दै मोटरसाइकल र्‍याली निकालिएको छ । राष्ट्रिय जनमोर्चा चितवनले आगामी चैतमा हुने संघीयता विरुद्ध राजधानी केन्द्रित आन्दोलनलाई सफल पार्नका लागि आज (शनिबार) चितवनमा मोटरसाइकल र्‍याली निकालेको हो ।

चितवन मेडिकल कलेजअगाडि रहेको जिल्ला पार्टी कार्यालयबाट सुरु भएको मोटरसाइकल ¥याली सहिदचोक, धर्मचोक, क्यान्सर गेट, केन्द्रिय बसपार्क हुँदै कालिका नगरपालिकाको क्लबचोक हुँदै रत्ननगर नगरपालिकाको बकुलर चोकमा पुगेर समापन गरिएको थियो ।

र्‍यालीका क्रममा नेकपा मसालका प्रवक्ता भविश्वर शर्माले संघीयताका कारण देशमा राष्ट्रिय विखण्डन हुने र देशको अखण्डतामा आघात पुग्ने खतरा रहेको बताएका छन् । उनले स्थानीय निकायको कार्यक्षेत्र विस्तार गर्दै प्रदेश संरचना खारेज गर्नुपर्ने धारणा राखे । ‘संघीयता पक्षधरले स्थानीय निकायहरुको अधिकारलाई नियन्त्रण गर्न चाहन्छन् । तर स्थानीय निकायहरुको अधिकार र कार्यक्षेत्र बढाएर प्रदेश खारेज गर्नुपर्छ,’–उनले भने ।

राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य राजेन्द्र ढुंगानाले नेपालमा संघीयता आवश्यक नभएको भन्दै संघीयता खारेज अभियानलाई सहयोग गर्न सम्पूर्ण नेपालीलाई आह्वान समेत गरे ।

‘नेपालमा संघीयता लागु भएपछि जनताले धान्नै नसक्ने गरी महङ्गी बढेको छ । युवाहरु दिनप्रतिदिन विदेश पलायन भइरहेका छन्,’ उनले भने ‘देशको अनावश्यक खर्च बढाउने प्रदेश संरचना खारेज गर्न सम्पूर्ण नेपालीलाई आह्वान गर्दछु ।’ संघीयताकै कारण अहिले मालपोत करदेखि दर्ता शुल्क लगायतका क्षेत्रमा कर बृद्धि गरिएको ढुंगानाको धारणा छ ।

राष्ट्रिय जनमोर्चा चितवनका अध्यक्ष अमर क्षेत्रीको नेतृत्वमा निकालिएको ¥यालीमा अखिल नेपाल ट्रेड युनियनका महासचिव शालिकराम सापकोटा, जनमोर्चाका केन्द्रिय सदस्य डम्मर पुरी लगायतका नेकपा मसाल र जनमोर्चाका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो । चितवनका विभिन्न स्थानमा निकालिएको ¥यालीले सहिदचोक, धर्मचोक, क्यान्सर गेट, हेल्थपोष्टचोक, केन्द्रीय बसपार्क, क्लब चोक, बकुलर चोक, टाँडीचोक लगायतका स्थानमा कोण सभा समेत गरेको जिल्ला अध्यक्ष क्षेत्रीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>