चितवन विशेष
लंकुमा फागुन १ देखि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ हुने

चितवन, माघ २६-
चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ४मा रहेको हरिकीर्तन धार्मिक संस्था (लक्ष्मीवेङ्कटेश मन्दिर)ले श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ गर्ने भएको छ । आगामी फागुन १ देखि ९ गतेसम्म श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ गर्न लागिएको आज पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।
अक्षयकोष अभिवृद्धि गरी नृत्य पुजा आराधना एवम् मन्दिरलाई सुव्यवस्थित ढंगले संचालन गर्ने उद्देश्यले महायज्ञको आयोजना गर्न लागिएको महायज्ञ सम्पादन मूल समितिका संयोजक टिकाराम कंडेलले जानकारी दिए । ९ दिनसम्म सञ्चालन हुने महायज्ञमा सामुयिक ब्रतबन्ध, कथा बाचन, पाठ अर्चना, हवन, भक्ति सन्ध्या लगायतका क्रियाकलाप हुनेछन् ।
महायज्ञअन्तर्गत माघ ३० गते दिउसो २ बजे मोटरसाइकल तथा गाडीको र्याली समेत निकालिने उनले जानकारी दिए । फागुन १ गते बिहान १० बजेदेखि धार्मिक, सामाजिक, शैक्षिकलगायत विभिन्न संघ –संस्थाको परिचय झल्कने भेषभूषा , ब्यानर, ॐकारझन्डासहितको कलश यात्रा सहित उद्घाटन गरिनेछ ।
फागुन २ गते सामूहिक व्रतबन्ध र तुलादान, फागुन ५ गते कमलनयनाचार्य मुक्तिनाथ बाबाबाट एकवर्षीय अखण्ड श्री हरिनाम संकीर्तन स्मारकको उद्घाटन गरिनेछ । यस्तै संस्थापक अध्यक्ष अखण्ड हरिकीर्तन बाबा उमानाथ कँडेललाई आचार्य र महन्त पदमा पट्टाभिषेक गर्ने कार्यक्रम रहेको मिडिया प्रचार संयोजक माधव सापकोटाले जानकारी दिए । प्रधान यज्ञाचार्य टीकाराम गुरुबाट अतिथि गृहको उद्घाटन एवम् फागुन ९ गते करोड दीप प्रज्वलनको कार्यक्रम हुनेछ ।
यस संस्था २०३७ सालमा स्थापना भएको थियो । मन्दिरको व्यवस्थापन गर्ने उद्देश्य सहित गर्न लागिएको महाज्ञयबाट तीन करोड रकम संकलन गर्ने लक्ष्य राखिएको आयोजकले जानकारी दिएको छ । हालसम्म ५० लाख बराबरको रकम उठिसकेको बताइएको छ । संकलित रकमबाट अक्षकोष स्थापना गरेर मन्दिर सञ्चालन गरिने सापकोटाले जानकारी दिए ।
महायज्ञमा कमलनयनाचार्य “मुक्तिनाथ बाबा”को संरक्षकत्व शालग्रामाचार्य आश्रम, नाग्लिवाङका नारायणाचार्य स्वामी टीकाराम गुरु, अखण्ड हरिकीर्तन बाबा उमानाथ कँडेलको सत्संकल्प एवम् डा चक्रपाणि आचार्यबाट कथा बचान हुनेछ ।