समाचार
सहकारी पीडितको तर्फबाट चितवनमा पनि दिनेश त्रिपाठीले बहस गर्दै

चितवन, माघ २४-
जिल्ला अदालत चितवनमा रवि लामिछानेको मुद्दामा दोस्रो दिनको थुनछेक बहस जारी छ । अहिले जाहेरवालातर्फका कानुन व्यवसायीहरूले बहस गरिरहेका छन्। जाहेरवालातर्फबाट तीन जना कानुन व्यवसायीले बहस गर्ने भनिएता पनि अहिले त्यो नाम बढेको छ।
जाहेरवालाहरूको तर्फबाट थप वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरू सुरेन्द्र भण्डारी र रामचन्द्र गौतमले बहस गर्ने भएका छन्। यसअघि वरिष्ठ अधिवक्ता राजकुमार श्रेष्ठ, अधिवक्ताहरू सुनिता अधिकारी र शम्भु बर्तौलाले बहसका लागि नाम टिपाएका थिए । सरकारी वकिलका तर्फबाट आज छिमेकी जिल्लाबाट आएका जिल्ला न्यायाधिवक्ताहरुले बहस सुरु गरेका हुन् ।
बारा जिल्लाबाट आएका न्यायाधिवक्ता शम्भु कुमार बस्नेत, पर्सा जिल्लाका न्यायाधिवक्ता भोलानाथ निरौला र धादिङ्ग जिल्लाका न्यायाधिवक्ता दशरथ पंगेनीले बहस गरेको सूचना अधिकारी विश्वकर्माले जानकारी दिए ।
अहिले जाहेरवाला सहकारी पीडिततर्फका अधिवक्ताहरुको बहस चलिरहेको छ । सहकारी पीडितको तर्फबाट हिजो ४ जनाले वकालतनामा लेखाएका थिए भने आज थप वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरु सुरेन्द्र भण्डारी र रामचन्द्र गौतमले वकालतनामा दर्ता गराएका थिए । जाहेरवालातर्फको वकिलहरुको बसह सकिएपछि प्रतिवादी रवि लामिछानेका तर्फबाट वकिलहरुले बसह गर्नेछन् । लामिछानेको तर्फबाट हिजो २ वरिष्ठसहित १० जनाले वकालतनामा दर्ता गराएका थिए भने आज थप एक जना वरिष्ठ अधिवक्ता जगन्नाथ पौडेलले वकालतनामा दर्ता गराएका छन् ।
लामिछानेकोतर्फबाट वरिष्ठ अधिवक्ताहरु सुशील कुमार पन्त, धर्मराज आचार्य, अधिवक्ताहरु डा। नारायण दत्त कँडेल, चुडामणी सापकोटा, रामचन्द्र देवकोटा, सुवर्ण सापकोटा, सञ्जय गोले, गोपीलाल देवकोटा, केदारराज पन्त र दिपकराज तिमल्सेना रहेका छन् ।
हिजो पहिलो दिन जिल्ला सरकारी वकिल कार्यालय चितवनका न्यायाधिवक्ता रवि न्यौपाने, सहायक न्यायाधीवक्ताहरु अमृत सुवेदी र बुद्धबहादुर थापाले बहस गरेका थिए । जाहेरवालाको तर्फबाट अधिवक्ता रमेश काफ्लेले बहस गरेपछि हिजो थुनछेक स्थगित गर्दै लामिछानेलाई प्रहरीको जिम्मा लगाईएको थियो ।

























