चितवन विशेष
बुढा र गुप्ताले पाए यस वर्षको लोकसेवा ज्ञानसागर मेधावी छात्रवृत्ति

चितवन, माघ २३-
लोकसेवा ज्ञानसागर प्रशिक्षण केन्द्रले यस वर्षको ज्ञानसागर मेधावी छात्रवृत्ति दैलेखका सन्तोष बुढा र सर्लाहीकी रानी कुमारी गुप्तालाई प्रदान गरेको छ ।
बसन्त पञ्चमीको अवसरमा केन्द्रमा भएको छात्रवृत्ति छनौट परीक्षामा उत्कृष्ट हुन सफल दैलेख माहाबु गाउँपालिका–३ का बुढा र सर्लाही चन्द्रनगर गाउपालिका–१ किसनपुरकी गुप्तालाई छात्रवृत्ति प्रदान गरिएको हो ।
छात्रवृत्ति छनौट परीक्षामा तीनजनाले समान अंक प्राप्त गरे तापनि, बुढाले संस्थामा साप्ताहिक रूपमा भइरहने नमूना परीक्षामा समेत सबैभन्दा धेरै पटक उत्कृष्ट परीक्षार्थीको रूपमा आफुलाई कक्षामा प्रस्तुत गरेकाले उनलाई छात्रवृत्ति प्रदान गरिएको ज्ञानसागरका सञ्चालक कृष्ण राउतले जानकारी दिए । चितवनमा डेरा लिइ बसेका बुढालाई छात्रवृत्ति पाएसंगै यो वर्षभरी खुल्ने जुनसुकै लोकसेवाका तयारी कक्षाहरुमा अब कुनै पनि शुल्क लाग्ने छैन ।
त्यसैगरी, नारायणी नमूना माविमा कक्षा ११ मा पढ्दै गरेकी गुप्ता हाल सबैभन्दा कम उमेरकी परीक्षार्थी पनि रहेकी छन् । लोकसेवा दिनका लागि उनको उमेर यही फागुनमा १८ वर्ष पुग्दै छ, तरपनि लोकसेवा तयारीमा निकै रुचिपुर्ण तरिकाले लागिरहेकी रानीले १८ वर्ष उमेर पुरा हुँदासाथ खरिदारमा फर्म भरी लोकसेवा दिने सोच बनाएकी छिन् ।
संस्थामा लोकसेवाको तयारी गर्न आएका परीक्षार्थीहरु मध्यबाट पढाइमा अब्बल देखिएका मेहनती तथा आवश्यक सहयोग चाहिने विद्यार्थीहरूलाई प्रेरित गर्न यो छात्रवृत्ति गत वर्षदेखी संस्थाले प्रदान गर्दै आएको छ।
विद्यार्थीहरूलाई निरन्तर प्रतिस्पर्धी बनाउन तथा उत्कृष्टताको मार्गमा अघि बढ्न यस छात्रवृत्ति कार्यक्रमले परिक्षार्थीहरु मद्दत पुग्न जाने र आर्थिक अभावकै कारणले लोकसेवा तयारी गर्नबाट बन्चित भएकालाई संस्थाले विशेष सहयोग गरी निःशुल्क रुपमा लोकसेवा पढ्न प्रेरित समेत गर्ने गरेको जानकारी संस्थाका प्रमुख कृष्ण राउतले जानकारी दिए । ज्ञानसागर मेधावी छात्रवृत्ति छनौट परीक्षामा उक्त्त दिन ५१ जनाले सहभागी जनाएका थिए ।