Breaking News
प्राङ्गारिक किसानलाई प्रोत्साहन गर्दै नेपाल जनस्वास्थ्य प्रतिष्ठान

चितवन, माघ ६-
नेपाल जनस्वास्थ्य प्रतिष्ठान अन्तरगतको कृषि, स्वास्थ्य र वातावरण नेपाल परियोजनाले चितवनमा प्राङ्गारिक खेती गरिरहेका किसानहरुको स्थलगत अध्ययन गरेको छ । प्राङ्गारिक खेती गरेका किसानको अवस्था बुझेर अन्य किसानहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले चितवनका केही किसानहरुको स्थलगत अध्ययन गरेको हो ।
परियोजनाकी प्रबन्धक सृजना भट्टराईको नेतृत्वमा गएको टोलीले भरतपुर महानगरपालिका–१५का चन्द्रप्रसाद अधिकारी, कालिका नगरपालिका वडा नम्बर–५का महेन्द्र पौडेल र रत्ननगर नगरपालिका–१५ स्थित माधवपुरका किसान नारायणप्रसाद श्रेष्ठको फर्ममा गएर स्थलगत अध्ययन गरेको हो । परियोजनाले विगत १० वर्षदेखि चितवन जिल्लामा विषादी न्यूनीकरण सम्बन्धी पैरवी गर्दै आइरहेको छ । सोही परियोजना अन्तर्गत प्राङ्गारिक खेती गरेका किसानको सफलताको कथालाई उजागर गर्ने उद्देश्यले अध्ययन गरिरहेको परियोजना प्रबन्धक भट्टराईले जानकारी दिनुभयो ।
उहाँका अनुसार, परियोजनाले चितवन जिल्लाका किसान, कृषि सहकारी, विषादी बिक्रेता, विषादी छर्कर्ने व्यक्ति, स्वास्थ्य स्वयम्सेविका, विद्यालयका शिक्षक लगायत विषादीसँग प्रत्यक्ष अपत्यक्ष संलग्न हुने व्यक्तिलाई विषादी न्यूनीकरण सम्बन्धी जनचेतना फैलाउने काम गरिरहेको छ । सन् २०१३ देखि पहिलो र दोस्रो चरण गरेर चितवन जिल्लाका केही पालिकाहरुमा काम गर्दै आएको परियोजनाले २०२१ देखि तेस्रो चरणमा चितवनका सबै पालिलाई समेटेर विषादी न्यूनीकरण सम्बन्धि काम गरिरहेको छ ।
यस क्रममा परियोजनाले आइपिएम पाठशालाका कक्षा सञ्चालन, विषादी न्यूनीकरण गर्न कृषि सहकारीलाई सहयोग, स्थानीय पालिका तथा सरोकारवालाहरुसँग समन्वय गरेर गोष्ठी तथा किसानहरुको विषादी न्यूनीकरण सम्बन्धीको ज्ञान, क्षमता र सीपको सर्भे समेत गरेको थियो । विभिन्न माध्यमबाट गरिएका सर्भेका क्रममा विषादी न्यूनीकरण सम्बन्धी किसानलाई ज्ञान भएपनि प्रयोगात्मक रुपमा अपनाउन नसकेको पाइएको थियो । त्यसलाई चिर्न प्राङ्गारिक खेती गरिरहेका किसानको सफलताको कथा बनाएर किसानहरुलाई बुझाउनका लागि स्थलगत अध्ययन थालेको प्रबन्धक सृजनाले बताउनुभयो ।
‘किसानहरु प्राङ्गारिक खेतीतर्फ कसरी लाग्नुभएको छ ? रासायनिक विषादीको विकल्पमा उहाँहरुले के प्रयोग गर्नुहुन्छ ? किराहरुले आक्रमण गर्दा समाधान कसरी गर्नुहुन्छ ?, उत्पादन र बजारीकरणको अवस्था के छ ?’ उहाँले भन्नुभयो ‘यी विषय बुझेर अन्य किसानहरुलाई प्रोत्साहन गर्न हामीले सफलताको कथाहरु देखाउँदै छौँ ।’
प्राङ्गारिक खेतीबाट उत्पादन घट्दैनः अधिकारी
चन्दप्रसाद अधिकारी व्यावसायिक रुपमा खेती गर्ने चितवनका पुराना किसान हुनुहुन्छ । विसं २०१४ सालमा जन्मनुभएका अधिकारीले–१६ वर्षको उमेरबाट नै व्यावसायिक खेतीमा लागिरहनुभएको छ । प्राङ्गारिक खेतीमा सक्रिय अधिकारीले अन्य किसानलाई पनि यस खेतीतर्फ आकर्षित गरिरहनुभएको छ । यस खेतीबाट उत्पादन समेत नघट्ने उहाँको अनुभव समेत छ ।

विसं २०३० सालबाट भरतपुर महानगरपालिका वडा नम्बर–१५ स्थित फूलबारीमा उहाँले परम्परागत रुपमा खेतीलाई व्यावसायिक बनाउने सोच बनाउनुभयो । परिवारको मुख्य आम्दानीका रुपमा उहाँले नगदे बालीका रुपमा ५० ग्राम गाजरको बीऊबाट व्यावसायिक रुपमा खेती थाल्नुभयो ।
व्यावसायिक खेती गर्नुभन्दा अगाडि उहाँले कुनै पनि प्रकारको रासायनिक सामग्री प्रयोग गर्नुभएन । जब उहाँ व्यावसायिक खेतीमा लाग्नुभयो तब मात्र उहाँको बारीमा कृत्रिम कृषि रसायन पर्न थालेको हो । सुरुआती वर्ष उहाँले रासायनिक मल र कीटनाशक जस्ता बाह्य सामग्रीको ठूलो मात्रामा प्रयोग गर्नुभयो । केही वर्ष उत्पादन राम्रै पनि गर्नुभयो । करिब एक दशकसम्म रासायनिक खेती गरिसकेपछि उहाँले कीराको प्रतिरोधात्मक क्षमता बढ्ने प्रतिरोधी, माटो साह्रो हुने, उत्पादन लागत बढ्ने जस्ता हानिकारक असरहरूबारे थाहा पाउन थाल्नुभयो ।
सो क्रममा उहाँले आफूले उब्जाएको टमाटर हेलिकोभर्पा आर्मिगेरा, टमाटरको फल बोररले नष्ट गरेको र यो कीरालाई रासायनिक विषादीको बोतलमा डुबाउँदा पनि कीरा नमर्ने दख्नुभयो । यी घटनाले उहाँलाई अर्गानिक खेतीतर्फ धकेल्यो । ‘रासायनिक मल र विषादीको प्रयोग गर्दा रोग कीराको प्रकोप बढ्न थाल्यो । प्रत्येक वर्ष लगानी पनि बढ्दै गयो,’ विगतका दिन सम्झदै अधिकारीले भन्नुभयो ‘माटो बिग्रिएर विषादी हाल्दासमेत नभएर एक वर्ष दुई बिघा र अर्को वर्ष एक बिघा गरी तीन बिघामा लगाएको टमाटर सत्यानास भएर जोतेको थिएँ ।’ बढी विषादी प्रयोगका कारण खेती हुन् छाडेपछि प्राङ्गारिक खेतीतर्फ मोडिएको उहाँले बताउनुभयो ।
वि.स.२०४४ मा उहाँले आफ्नो खेतमा कुनै पनि प्रकारको रासायनिक सामग्री प्रयोग नगर्ने निर्णय गर्नुभयो । यसपछि उहाँले परिवार र रामपुर कृषि क्याम्पसका विद्यार्थीको सहयोगमा प्राङ्गारिक खेती गर्ने सोच बनाउनुभयो । ‘रामपुरका विद्यार्थीले मेरोबाट तरकारी लैजानुहुन्थ्यो । खेती गर्न छाडेपछि उहाँहरुले दिगो कृषि संस्थानबाट समावेश हुन सल्लाह दिनुभयो,’–उहाँले भन्नुभयो ।
यसले कसरी काम गर्छ भन्ने ज्ञान हासिल गर्न उहाँले काभ्रेपलाञ्चोकको हान्सबाट २०५४ सालमा पर्माकल्चरको तालिम लिनुभयो । तालिमबाट सीप लिएर आफ्नो गाउँलाई ‘पर्माकल्चर नमुना गाउँ’ बनाउने अवधारणा अघि सार्नुभयो । तर, छिमेकीहरूको सहभागिता जस्ता विभिन्न अवरोधका कारण उहाँ त्यसो गर्न सफल हुनुभएन । पछि उहाँले प्राङ्गारिक कृषि उत्पादन सहकारी स्थापना गर्नुभयो । यस सहकारी २०५९ मा दर्ता भई २०६१ मा दर्ता भएको थियो जुन अहिले पनि चलिरहेको छ ।
उहाँको सक्रिय सहभागितामा २०७६ सालमा ‘जिल्ला सहकारी संघ’ स्थापना भयो । प्राङ्गारिक प्रमाणीकरणका लागि उनीहरूले सहभागितामूलक ग्यारेन्टी प्रणाली (पीजीएस) ल्याएका थिए र चितवन जिल्लाबाहिर आफ्नो अर्गानिक उत्पादन बिक्री गर्न थालेपछि अन्तर्राष्ट्रिय प्रमाणीकरण प्रणाली लागू भएको थियो । उहाँले आफ्नो खेतीका लागि प्राङ्गारिक मल, र झोलमोल जस्ता वानस्पतिक विषादी तयार गर्नुहुन्छ ।
अहिले उहाँको फार्मका अर्गानिक उत्पादनहरू काठमाडौंको अर्गानिक भेन्चर पसलमा पाइन्छ र जर्मनीमा पनि निर्यात गरिन्छ । तीन वर्ष यता ३ क्वीन्टल गाजर र ७ क्वीन्टल चुकन्दर जर्मनी निर्यात भएको छ । यस वर्षपनि उहाँले जर्मनी पठाउने तयारी गर्नुभएको छ । उपभोक्ताको चाहना प्राङ्गारिक भएपनि बजार व्यवस्थापन हुन नसक्दा विषादी हालेर उत्पादन गरिरहेका वस्तु उपभोग गर्न बाध्य भएको उहाँको भनाइ छ । उहाँले वार्षिक १३ लाख रुपैयाँ आम्दानी गर्दै आउनुभएको छ ।
‘प्राङ्गारिक खेतीतर्फको सङ्क्रमणकालको पहिलो वर्षमा केही घाटा बेहोर्नुप¥यो तर दोस्रो वर्ष उत्पादन झण्डै बराबर भयो । उहाँले अनुसन्धानका लागि विभिन्न विश्वविद्यालयसँग समन्वय पनि गर्नुभएको छ । उहाँले अर्गानिक वस्तुले नेपाली बजार पाउन नसक्दा दुख्ख लागेको बताउनुभयो । ‘हामीले यहाँ हाम्रा उत्पादनहरू बेच्नको लागि उपयुक्त बजार पाउन सकेनौं । म मेरा उत्पादनहरू जर्मनमा निर्यात गर्दैछु भन्न पर्दा खेद लाग्छ’ उहाँले भन्नुभयो । स्थानीय बजारमा अर्गानिक उत्पादन नपाएको उपभोक्ताको गुनासो भएपनि नेपाली उपभोक्तामा पु¥याउन नसकेको उहाँको भनाई छ । अहिले अधिकारीले साढे चार बिघा जमिनमा चुकन्दर र गाजर खेती गरेका गर्नुभएको छ ।
प्राङ्गारिक खेती अपनाएमा रासायनिक विषादी आवश्यक नपर्ने उहाँको अनुभव छ । अधिकारीका अनुसार, पारिस्थितिकीय प्राणालीलाई व्यवस्थापन गर्न सके कृषि रसायनको प्रयोग गर्न नपर्ने उहाँले बताउनुभयो । ‘इको सिस्टम म्यानेज गर्न सक्यौँ भने रोग कम लाग्छ,’ उहाँले भन्नुभयो ‘गोठेमलको बढी प्रयोग गर्ने किसानहरुले विषादी प्रयोग गर्नुपर्दैन ।’ गोठे मल, कम्पोष्ट मल, जीवामृत, पञ्चामृत, वेस्ट डिकम्पोजर, निम, जस्ता मल र विषादी आफैँले उत्पादन गर्दै आएका छन् ।
वस्तुको आलो गोबर र पिसाबबाट जीवामृत बनाउने गरिन्छ । त्यसमा दालको पिठो, भेली, अक्सिजन दिने रुख मुनिको माटो मिसाएर जीवामृत बनाइन्छ । यसले माटोलाई मलका रूपमा परिणत गर्छ । मौसमअनुसार १५ देखि २२ दिनसम्म राखेपछि यो तयार हुन्छ । यसलाई भाडोमा राखेर ‘स्प्रे’ गरिन्छ । प्राङ्गारिक मलको प्रयोगले उत्पादन दुई गुणाले बढ्ने र माटोको स्वास्थ्यमा पनि सुधार आउने उहाँको विश्वास छ ।
अगार्निक खेतीबाट नराम्रो भयो भन्न कहिल्यै परेनः महेन्द्र पौडेल

कालिका नगरपालिका–५का महेन्द्र पौडेल व्यावसायिक रुपमा कृषि पेशामा लागेको करिब एक दशक पुग्न लाग्यो । सुरुआतदेखि प्राङ्गारिक खेती गरिरहनुभएका पौडेलले दश कठ्ठामा मौसम अनुसारको खेती गरिरहनुभएको छ । व्यावसायिक रुपमा खेती गर्नुभएका पौडेलले प्राङ्गारिक खेतीलाई अवसर नै अवसरका रुपमा लिनुभएको छ । जीवनको महत्वपूर्ण समय विदेशमा बिताउनुभएका पौडेल यहाँको आम्दानीले सन्तुष्ट समेत हुनुहुन्छ ।
उत्पादन बढाउन किसानले रासायनिक विषादीको प्रयोग व्यापक गरेको पाइन्छ । अधिकांश साना तथा ठुला किसानले रासायनिक विषादीको प्रयोग बिना उत्पादन गर्न नै छाडेका छन् । यस्तो अवस्थामा उहाँले प्राङ्गारिक खेतीलाई अंगालेर राम्रै उत्पादन गर्नुभएको छ ।
पौडेले प्राङ्गारिक खेती तर्फ त्यतिकै आकर्षित भने हुनुभएको होइन । बुवालाई क्यान्सर रोग देखिएपछि उहाँ नेपाल आएर प्राङ्गारिक खेती तर्फ लाग्नुभएको हो । ‘नेपालमा शिक्षण पनि गरेँ । त्यसपछि १५ वर्ष भारतमा काम गरेँ । त्यहाँबाट पनि राम्रो आम्दानी लिने उद्देश्यले मलेसिया गएँ,’ कृषि कर्ममा लाग्नुको फेरिस्त बताउँदै उहाँले भन्नुभयो ‘मलेसियामा तीन वर्ष काम गरेपछि रासायनिक खानपिनकै कारण होला बुवालाई क्यान्सर देखियो । नेपाल आएर अगार्निक खेती गर्नु सुरु गरेँ ।’
२०७२ सालदेखि व्यावसायिक खेतीमा लाग्नुभएका पौडेललाई नेपाल सरकारले दिने सेवा सुविधाबारे थाहा समेत थिएन । नेपाल जनस्वास्थ्य प्रतिष्ठानको टोली फिल्डमा जाँदा अर्गानिक खेती गरेको देखेपछि उहाँलाई एकीकृत शत्रु जीव व्यवस्थापन (आइपिएम) कृषक पाठशालामा आवद्ध हुन सुझाव दिए । पछि चार वर्ष एकीकृत शत्रुजीव व्यवस्थापन समिति चितवनको अध्यक्ष समेत बन्नुभयो । तर, अझै उहाँ कृषि ज्ञान केन्द्रको काम कारबाही बारे अन विज्ञ नै हुनुहुन्थ्यो ।
‘२०७६ सालमा चौविसकोठीबाट मालपोत चोकतर्फ आइरहँदा कृषि ज्ञान केन्द्रको कार्यालय देखियो । यसले कृषिको बारेमा केही ज्ञान दिन्छ होला नि भनेर गेट भित्र पसेँ । यताउता हेर्दा प्राङ्गारिक उत्पादनको लागि प्लाष्टिक टनेल वितरण कार्यक्रम लेखेको सूचना देखेँ, उनले पहिलो पटक कृषि कार्यालय पुग्दाको अनुभव सुनाउँदै भन्नुभयो ‘हाकिम सावलाई आफ्नो बारेमा बताएपछि उहाँले उन्नती कृषि फार्म खोल्न सुझाव दिनुभयो । उहाँले भने अनुसार अहिले काम गर्दै आएँ । सहयोग पनि प्राप्त गरेँ ।’ पौडेलले यसअघि उन्नती खरायो फर्म खोलिसक्नुभएको थियो ।
यसअघि जैविक विषादी बनाउने काममा गरिससकेका पौडेलको फर्ममा पुग्दा कृषि कार्यालयका कर्मचारी पनि खुशी भए । काम हेरेँर उहाँलाई कार्यालयले ४ लाख समेत अनुदान दियो । यसबाट उहाँले टनेल निर्मार्ण गरेर तरकारी खेतीलाई विस्तार गर्नुभयो । टनेलभित्र तरकारी समेत राम्रो फल्यो । त्यसपछि उहाँ तरकारी खेती तर्फ आक्रर्षित हुनुभएको हो ।
‘अगार्निक खेतीबाट नराम्रो भयो भन्न कहिल्यै परेन । अरुले डुब्यो खतम भयो बिग्रन्छ भन्छन् । मलाई चाहिँ त्यस्तो कहिल्यै भएन’, खुशी भएर बारीमा फलेका मेवा देखाउँदै भन्नुभयो प्राङ्गारिक खेती गर्दा उत्पादनमा कमी छैन ।’ उहाँले प्राङ्गारिक खेतीलाई अवसरका रुपमा लिनुभएको छ । ‘अहिलेसम्म गरिरहँदा खेरी अवसर नै अवसर जस्तो लाग्छ मलाई । गफ गरेको होइन सही हो’, उहाँले भन्नुभयो ‘अर्गानिक खेतीको चुनौती चाँही उपभोक्तामा विश्वासको कमी देखियो ।’ उपभोक्तामा अर्गानिक वस्तुको विश्वास गर्ने वातावरण समेत नबनेको उहाँको भनाई छ । उहाँले असुरो, निम, तितेपाती लगायतका वनस्पतीबाट जैविक मल बनाउने समेत गर्नुुहुन्छ ।
‘मैले अर्गानिक खेती गर्दछु । जस्तै मेवा अर्गानिक भनेर लगेँ भने बजारमा कसैले पत्याउँदैनन् । उपभोक्तालाई मेरो प्रमाणिकरण छ भनेर थाहा हुँदैन । ठुला बजारमा पनि पत्याउँदैनन्’–उहाँले भन्नुभयो । उहाँले अहिले उत्पादन गरेको वस्तु डोको नाम्लो र काठमाण्डौँको अर्गानिक भेन्चरमा पठाउने गरेको बताउनुभयो । उहाँको १० कठ्ठा बारीमा अहिले मेवा छन् । त्यसको इन्टरक्रपमा उहाँले सिमि, फर्सि लगायतका तरकारी लगाउनुभएको छ । त्यसबाट बार्षिक चार लाख खुद नाफा हुने उहाँले बताउनुभयो । उहाँले मासिक ३० जनालाई समेत काम दिनुभएको छ ।
प्राङ्गारिक खेतीबाट उहाँ धेरै खुशी हुनुहुन्छ । उहाँले अन्य किसानलाई पनि प्राङ्गारिक खेती गर्न सुझाव दिनुभएको छ ।
उहाँले प्राङ्गारिक खेतीका लागि गाइ, गड्यौला, खरायो पाल्नुभएको थियो । अहिले कुखुरा समेत पाल्नुभएको छ । सरकारले प्राङ्गारिक मल उपलब्ध गराउने हो भने यस तर्फ किसानहरुको आकर्षण बढ्ने उहाँको विश्वास छ ।
प्राङ्गारिक मलमा सरकारले अनुदान दिनुपर्छ: नारायणप्रसाद श्रेष्ठ
रत्ननगर नगरपालिका–१५ स्थित माधवपुरका नारायणप्रसाद श्रेष्ठ बालीमा ६ वर्ष अघिसम्म रासायनिक विषादीको प्रयोग गर्नुहुन्थ्यो । तर, ५ वर्षदेखि भने रासायनिक पदार्थ प्रयोग भएको छैन । हिजोआज नौ कठ्ठा जग्गामा प्राङगारिक खेति नै गरिरहेका छन् । ‘हाम्रो बारी बिग्रिएर विषादी नहाली उत्पादन हुने अवस्था थिएन । हाम्रो स्वास्थ्य पनि विषादीकै कारण बिग्रिरहेको थियो,’ आलु देखाउँदै उहाँले भन्नुभयो, ‘युटुवहरुमा हेरेपछि रासायनिक विषादीले अनेक थरिका रोग लाग्ने थाहा पाएँ । त्यसपछि अर्गानिक खेती गर्न सुरु गरेको हुँ ।’

उहाँले अर्गानिक खेतीका रुपमा धान, मकै, तोरी राजमा केराउ, आलु लगायतका तरकारी लगाउँदै आउनुभएको छ । श्रेष्ठलाई रासायनिक मलको कुनै चिन्ता छैन । प्राङगारिक मल हालेर नै उत्पादन बढाइरहेका छन् । विगतका केही वर्ष उत्पादन घटेपनि अहिले राम्रो उत्पादन भइरहेको उहाँले बताउनुभयो । अर्गानिक वस्तुको उत्पादनका लागि सरकारले प्राङगारिक मलमा अनुदान दिनुपर्ने बताउनुभयो ।
अघिल्ला वर्ष परीक्षण गरिएको चितवनको माटोमा ५५ प्रतिशतसम्म अम्लियपन भेटिएको थियो । प्राङगारिक खेतीका लागि पशुपालन आवश्यक छ । वस्तुभाउको मल, झारपात कुवाएर बनाएको मलले माटोलाई खाद्यत्व पुग्छ । प्राङगारिक मलको अपुगका कारण विभिन्न रोगहरु लाग्ने उहाँको भनाई छ । बालीलाई मल चाहिने बेला रासायनिक मलको हाहाकार हुने र तिनको गुणस्तर नहुँदा उत्पादनमा प्रतिकूल असर पर्नेसँगै परनिर्भरता बढाएकाले आफूहरु परम्परागत प्राङगारिक खेतीतिर लागेको श्रेष्ठको भनाई छ ।
अर्गानिक खेतीलाई विस्तार गर्नका लागि किसान र उपभोक्तामा जनचेतना मुलक काम गर्नुपर्ने उहाँ बताउनुहुन्छ । ‘सरकारबाट प्राङ्गारिक खेती गर्नेलाई तालिम र अनुदानको कार्यक्रम ल्याउनु पर्दछ;’, उहाँले भन्नुभयो ‘रासायनिक मलमा जस्तै प्राङ्गारिक मलमा पनि अनुदान दिनुपर्छ ।’
























