चितवन विशेष

मगर संस्कृति जोगाउन चितवनमा ‘कौराहा’ प्रतियोगिता हुँदै

Banner

चितवन, पुस २४-

नेपाल मगर साँस्कृतिक संघ चितवनको आयोजनामा भरतपुरमा मौलिक कौराहा (कानराहा) प्रतियोगिता हुने भएको छ । संघले बुधबार (आज) पत्रकार सम्मेलन गरेर पुस २७ गते खुल्ला कौराहा प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको हो ।

प्रतियोगिता वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको हलमा हुने छ । प्रतियोगितामा १० भन्दा बढी समूहको सहभागिता रहने आयोजकको अपेक्षा छ । अहिलेसम्म ८ समूहले भाग लिइसकेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागि हुन चाहाने समूहको लागि दर्ता शुल्क पाँच हजार तोकिएको छ । मुल्यांकनमा मौलिक भेषभूषा, गायन, शब्द चयन, बाध्यबादन र नृत्यलगायतका विषयलाई ध्यानमा राखिनेछ ।  राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका संस्थापक अध्यक्ष अमर विरही गुरुङ, लोक तथा दोहोरी गायिका रञ्जिता थापामगर, लोक तथा दोहोरी गायक बलबिक्रम थापामगर लगायत व्यक्तिहरु मुख्य आकर्षक रहनेछन् ।

आधुनिक प्रविधिको बढ्दो विकाससँगै मगर जातिको सांस्कृतिक पहिचान बोकेको कौराहाको वास्तविक रस हराउँदै गएकाले संरक्षणका लागि प्रतियोगिता आयोजना गर्न लागिएको नेपाल मगर साँस्कृतिक संघ चितवनका अध्यक्ष प्रेमकुमारी आलेमगरले जानकारी दिइन् । मगर समुदायको बसोबास बाक्लिँदै गएको चितवनमा संस्कृति संरक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आले मगरले बताइन् ।

मगर समुदायमा प्रचलित लोकगीतको एक प्रकारलाई ‘कौराहा’ र यसै गीतमा नाचिने नाचलाई ‘कौराहा नाच’ भनिन्छ । यो स्वरठी नाँच भित्र पर्ने एक इकाई हो । यसलाई मगर समुदायले रमाइलोका रुपमा नाँचगान गर्ने गरेको आलेमागरले बताइन् । प्रतियोगितामा प्रथम हुने समूहलाई ३५ हजार, द्धितीय हुनेलाई २० हजार र तृतीय हुनेलाई १० हजार पुरस्कार र सान्तवना हुनेलाई ५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>