चितवन विशेष
१४ वर्षिय छोरीमाथि करणी गरेको आरोपमा बाबु पक्राउ

चितवन, पुस २३-
चितवन प्रहरीले १४ वर्षकी छोरीलाई जवरजस्ती करणी गरेको आरोपमा बाबुलाई पक्राउ गरेको छ । २०८० असोज १० गतेदेखि पटक पटक बलात्कार गरि गर्भवती बनाएको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले गत आइतबार धादिङको नीलकण्ठ नगरपालिकाबाट पक्राउ गरेको हो ।
१४ वर्षकी छोरीको भरतपुर अस्पतालमा तीन महिनाको गर्भ पतन गराईएको थियो । बाबुले पत्थरीको शल्यक्रिया गरेको भनेर घरमा ढाँटेपनि मावली हजुरआमासँग बालिकाले घटनाबारे भनेपछि उनैले इलाका प्रहरी कार्यालय टाँडीमा जबरजस्ती करणी अभियोगमा जाहेरी दिएकी थिइन् ।
तर, बालिकाकी आमाले पनि छोरीको न्यायको लागि सहयोग नगर्दा फरार रहेका बाबुलाई १५ महिनादेखि चितवन प्रहरीले पक्राउ गर्न सकेको थिएन ।
जिल्ला प्रहरी कार्यालय चिवनका डिएसपी ज्ञानकुमार महतोका अनुसार लुकेर बसेको अवस्थामा बालिकाकी बाबुलाई नियन्त्रणमा लिइएको हो । उनलाई चितवन ल्याइ पाँच दिनको म्याद थप गरि अनुसन्धान थालिएको जनाइएको छ ।
























