अन्तर्राष्ट्रिय
अजरबैजान एयरको विमान दुर्घटनामा पुटिनले मागे माफी
मस्को, पुस १३-
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अजरबैजानका राष्ट्रपति इल्हाम अलीयेभलाई अजरबैजान एयरलाइन्सको विमान ग्रोज्नीमा अवतरण गर्न खोज्दा रुसको हवाई सुरक्षा सक्रिय रहेको जानकारी गराएका छन्। उक्त विमान यसै साता पश्चिमी कजाकस्तानमा दुर्घटनाग्रस्त भई ३८ जनाको मृत्यु भएको थियो।
पुटिनले शनिबार अलीयेभलाई फोन गर्दै विमान ग्रोज्नीमा अवतरण गर्न ‘धेरै पटकू प्रयास गरेको र त्यही समयमा ग्रोज्नी, मोज्दोक र भ्लादिकावकाजमाथि युक्रेनी युद्ध ड्रोनहरूद्वारा आक्रमण भइरहेको बताए। उनले भने, “रुसको हवाई सुरक्षा प्रणालीले ती आक्रमणहरूलाई प्रतिकार गरिरहेको थियो।”
पुटिनले विमान दुर्घटनाको जिम्मेवारी नलिएको भए पनि उक्त घटना रुसको हवाई क्षेत्रमा भएकोमा माफी माग्दै मृतकका परिवारप्रति गहिरो समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए।
क्रेमलिनद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘भ्लादिमिर पुटिनले उक्त दुःखद घटना रुसको हवाई क्षेत्रमा भएकोमा माफी माग्दै मृतकका परिवारलाई समवेदना प्रकट गरे र घाइतेहरूको चाँडो स्वास्थ्यलाभको कामना गरे।’
दुवै नेताबीच विमान दुर्घटनासम्बन्धी विभिन्न विषयहरूबारे विस्तृत छलफल भएको क्रेमलिनले जनाएको छ। साथै, यो घटनामा अजरबैजान र कजाकस्तानसँग “नजिकको सहकार्य” भइरहेको पनि बताएको छ।
अजरबैजानी अधिकारीहरूले विमान हावामै आक्रमणको शिकार भएको आशंका व्यक्त गरेका छन्। यसैबीच, अमेरिकी अधिकारीहरूले पनि सुरुवाती सङ्केतहरू रुसको हवाई सुरक्षा प्रणालीले दुर्घटनामा भूमिका खेलेको हुनसक्ने बताएका छन्।