चितवन विशेष
शान्तिकुञ्ज सामाजिक सहकारीको साधारण सभा
रत्ननगर, पुस १३-
रत्ननगर वडा नं १२ स्थित शान्तिकुञ्ज सामाजिक उद्यमी महिला सहकारी संस्थाको १६औं बार्षिक साधारण सभा शनिबार गरिएको छ । वागमती प्रदेशका पूर्वमन्त्री तथा सांसद जगन्नाथ थपलिया प्रमुख अतिथि रहेको सो कार्यक्रममा संस्थाकी अध्यक्ष निर्मला दंगालले बार्षिक कार्यक्रम, प्रगति प्रतिवेदन र भावि कार्ययोजना, लेखा समिति संयोजक सरस्वती लामाले आन्तरिक लेखा परीक्षण प्रतिवेदन तथा संस्थाकी व्यवस्थापक शुशीला खनालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।
कार्यक्रममा असल ऋणि गोमा आछामे, असल बचतकर्ता उत्पल कोइराला, खुत्रुके बचतमा शर्मिला भट्ट, दैनिक बचतमा सम्झना दवाडी, ज्येष्ठ शेयर सदस्यमा धनमाया तिवारी र आनन्द केसी, सक्रिय सदस्यमा मिठुमाया नेपाली, सामाजिक व्यक्तित्वतर्फ किशोर बगाले, मेघनाथ न्यौपाने, बलराम चौलागाई, गोविन्द दुलाल तथा एसईईमा उत्कृष्ट अंक ल्याउने समिर अम्गाई र निष्मा पन्तलाई सम्मान गरिएको थियो ।
त्यसैगरी संस्थामा धेरै दुध ल्याउने जानुका खनाल, नियमित तर्फ दीपक तामाङ, गुणस्तरतर्फ सम्झना थापा भूजेल, सफा दुध तर्फ चेतकला गौडेललाई सम्मान तथा पुरस्कृत गरिएको छ । सो अबसरमा प्रदेश सांसद थपलियाले उत्पादनमुलक कार्यक्रम सञ्चालन गरिरहेका सहकारीलाई प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताए ।
संस्थाकी संस्थापक अध्यक्ष तथा सेवा नेपालकी संस्थापक अध्यक्ष पार्वती न्यौपानेले देशभरका महिलाहरुलाई सहकारीमा आबद्ध गरी उत्पादनमा लगाउने र आत्मनिर्भर बनाउने योजना रहेको बताइन् । कार्यक्रममा वडा नं १२ का वडाध्यक्ष सुन्दरमणि सुवेदी, जिल्ला सहकारी संघका उपाध्यक्ष प्रेमनाथ दुवाडी, सामाजिक उद्यमी महिला सञ्जाल जिल्ला सचिव शैलजा घिमिरे, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना केरा सुपर जोनका संयोजक विष्णुहरि पन्त लगायतले मन्तव्य राखेकी थिए । संस्थाकी सचिव सम्झना लामिछानेले सञ्चालन गरेको सो कार्यक्रममा कोषाध्यक्ष सीता चापागाईले स्वागत मन्तव्य राखेकी थिइन् ।