अन्तर्राष्ट्रिय
जलवायु परिवर्तनका कारण यस वर्ष विश्वभर थप ४१ दिन चरम गर्मी

काठमाडौँ, पुस १३-
जलवायु परिवर्तनका कारण यस वर्ष विश्वभर चरम गर्मीका दिन बढेका छन् । सन् २०२४ मा विश्वभर चरम गर्मीका दिनहरूको सङ्ख्या औसत ४१ दिनले बढेको वल्र्ड वेदर एट्रिब्युसन (डब्ल्यूडब्ल्यूए) र जलवायु केन्द्रका वैज्ञानिकहरूले बताएका हुन् । यति मात्र होइन, सन् २०२४ अहिलेसम्मकै सबैभन्दा तातो वर्ष बन्न गइरहेको छ ।
सन् २०२४ मा जलवायु परिवर्तनका कारण चरम मौसमी घटनाहरूले विश्वभर तीन हजार सात सय जनाभन्दा धेरै मानिसको ज्यान गएको र लाखौं विस्थापित भएका प्रतिवेदनमा उल्लेख छ । जलवायु परिवर्तनले चरम मौसमी घटनाहरूलाई यस वर्षको धेरैजसो समयका लागि थप गम्भीर बनाएको वैज्ञानिकहरूले बताएका छन् ।
डब्ल्यूडब्ल्यूएका प्रमुख जलवायु वैज्ञानिक फ्रेडरिक ओटोले जलवायु परिवर्तनले गर्मीको लहर, खडेरी, आँधी र भारी वर्षाको तीव्रता र आवृत्ति बढाएको बताउनुभयो । जसका कारण लाखौं मानिसको जनजीवन प्रभावित भएको छ । जीवाश्म इन्धनको प्रयोगमा कमी नआए यो समस्या झन् गम्भीर हुने उहाँले चेतावनी दिनुभएको छ ।
वैज्ञानिकहरूका अनुसार जलवायु परिवर्तनले सन् २०२४ मा बाढी, आँधी र खडेरी जस्ता २९ चरम मौसमी घटनामध्ये २६ वटालाई थप गम्भीर बनाएको छ ।
यस वर्ष पृथ्वीले अहिलेसम्मकै सबैभन्दा तातो दिन र लगातार १३ महिना तातो मौसम रेकर्ड गरेको छ । यस्तै विशेषगरी गरिब र कम विकसित देशहरूमा एक सय ५० दिनभन्दा धेरै चरम गर्मी रेकर्ड भएको छ । एजेन्सी
फाइल तस्बिर


























