चितवन विशेष
भरतपुर महानगरभित्र पाँच हजार बढी लागुपदार्थ प्रयोगकर्ता
चितवन, पुस ११-
भरतपुर महानगरपालिका भित्र लागुपदार्थ प्रयोग गर्नेहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको सरोकारवालाहरुले बताएका छन् । बिहिबार (आज) भतरपुरमा रिकभरिङ्ग नेपाल बागमती प्रदेशले आयोजना गरेको एक कार्यक्रममा बोल्ने सहभागिहरुले भरतपुर महानगर भित्र दैनिक रुपमा लागुपदार्थ सेवनकर्ता बढिरहेको बताएका हुन् ।
रिकभरिङ्ग नेपाल बागमती प्रदेशका अध्यक्ष दिवाकर राज श्रेष्ठले भरतपुरमा मात्रै लागु पदार्थ सेवन कर्ताको संख्या ५ हजार भन्दा बढी रहेको बताउनुभयो । लागुपदार्थ प्रयोग गर्ने संख्यामा १८ वर्षभन्दा बढी उमेर समुहका पुरुषसँगै महिला पनि रहेका छन् । यो संख्या विदेशी संस्कृति नक्कल गर्ने प्रचलन बढी हुँदापनि दैनिक रुपमा लागुपदार्थ सेवन कर्ता बढेको उहाँको भनाई छ । विश्व स्वास्थ्य संगठनले लागु पदार्थ प्रयोग गर्नुलाई एक प्रकारको रोग भनेर मान्यता दिएपनि नेपालको सन्र्दभमा यसलाई दुव्र्यसनीका रुपमा हेरिने गरिएको छ ।
रिकभरिङ्ग सेन्टरबाट निस्केपछि पनि समाजले उनीहरुलाई प्रेरित नगर्दा यो संख्यामा कमी आउन नसकेको उहाँको भनाइ छ । विभिन्न संघसंस्थाले यसको नियन्त्रणमा काम गरेपनि सुधार हुन नसकेको भन्दै सरकार नै यसको नियन्त्रणमा लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष भरत घिमिरेले रोजगारीको अवसर नहुँदा मानसिक तवानबाट छुट्कारा पाउनका लागि युवाहरुले अन्तिम विकल्पको रुपमा लागुऔषधलाई रोज्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो–‘लागुऔषधमा फसेर सुधार केन्द्रमा राख्ने गरेपनि यो संख्यामा कमी आउन सकेको छैन् । सुधार केन्द्रबाट निस्केपछि समाजले उनीहरुलाई हेला गर्दा झण्डै ५० प्रतिशत संख्याले पहिलेको जस्तै पुनः लागु औषध प्रयोग गर्ने गरेका छन् । त्यसैले उनीहरुप्रति समाजसँगै राष्ट्रले हेर्न दृष्टिकोणमा पनि परिवर्तन आउनु पर्दछ ।’
कार्यक्रममा एचआइभी संक्रमित महिला राष्ट्रिय महासंघ वागमती प्रदेशका फोकल पर्सन मनु तामाङले लागु औषध नियन्त्रणका लागि कार्य विधि बनाउन भरतपुर महानगरपालिकालाई सुझाव दिनुभएको छ । महानगरपालिकाले एचआइभी संक्रमित तथा लक्षित समुदामयको सवालमा कार्यविधी बनाउने हो भने अन्य पालिकालेपनि यसको सिको गर्ने सक्ने उहाँले बताउनुभयो ।
यस्तै सन् २००४ देखी संचालमा आएको रिकभरिङ्ग नेपालको वार्षिक बैठकले लागू औषध प्रयोग र यससंग सम्बन्धित चुनौतीहरूको समग्र समाधान खोज्न महत्वपूर्ण मुद्दाहरू उजागर गरेको छ । मुख्य समस्याहरूमा निम्न विषयवस्तु समावेश छनः
–लागू औषध नियन्त्रण ऐन २०३३ अन्तर्गत अपराधीकरणः लागू औषध प्रयोगलाई स्वास्थ्यसम्बन्धी समस्या भनेर स्वीकार्दै अपराधीकरणबाट स्वास्थ्यपतिको दृष्टिकोणमा परिवर्तन,
–लागू औषध प्रयोगकर्ताको बढ्दो संख्याः रोकथाम, उपचार र सहयोग प्रणालीमार्फत लागू औषध प्रयोगको बढ्दो समस्या समाधान,
–लागु औषध नियन्त्रण व्यवस्थापनका लागि सरकारी संरचनाः राम्रो समन्वय र व्यवस्थापनको लागि सरकारी संरचना मजबुत बनाउने,
–हेपाटाइटिस परीक्षण र उपचारका लागि राष्ट्रिय कार्यक्रमः लागू औषध प्रयोगकर्ताहरूका लागि हेपाटाइटिस परीक्षण उपचार कार्यक्रम विस्तार,
–महिला लागू औषध प्रयोगकर्ताहरूका लागि विशेष नीति पुनःस्थापनामा रहेका महिलाहरूलाई समर्थन गर्न लक्षित नीति र कार्यक्रमहरू विकास,
–कानून र नीति परिमार्जनः हानी न्यूनीकरण र स्वास्थ्य केन्द्रित दृष्टिकोणसंग मेल खाने गरी वर्तमान कानुन र नीतिहरूमा सधार आवश्यक,
–क्षमता विकास र तालिमः सेवा प्रदायकहरूको व्यवस्थापन र सेवा वितरणलाई प्रवद्र्धन गर्न विशेष तालिमा,
–स्थानीय र प्रादेशिक निकायको संलग्नताः लागू औषध सम्बन्धित चुनौतीहरूमा स्थानीय र प्रादेशिक निकायको सक्रिय भूमिका,
–सडक बालबालिका र लागू औषध समस्याः लागू औषधबाट प्रभावित सडक बालवालिकाको व्यवस्थापनका लागि रणनीति आवश्यक।,
–पुनःस्थापना र उपचार कार्यक्रमः स्वास्थ्य मन्त्रालय वा सामाजिक मन्त्रालयबाट यी कार्यक्रमहरू संचालन हुनुपर्ने,
–सस्ती र निःशुल्क सेवाः कमजोर समुदायहरूको लागि उपचार र सहयोग सेवा पहुँचयोग्य र निःशुल्क बनाउन पर्ने,
–जागरुकता कार्यक्रमहरूः लागू औषध दुरुपयोगविरुद्ध व्यापक जागरुकता कार्यक्रम लागू गर्नुपर्ने
–सरोकारवालाबीचको सहकार्य संघसंस्था, सरकारी निकाय र सरोकारवालाहरूबीच सहकार्य प्रवद्र्धन,
–कार्यष्विधी विकासः लागू औषध नियन्त्रण, एचआईभी, र लक्षित समुदायहरूमा असर पार्ने समस्याहरूको लागि स्पष्ट कार्यविधी विकास –गर्नुपर्ने आदि छन् ।