चितवन विशेष
दुग्ध सहकारी संस्थाका कर्मचारीलाई चितवनमा मिल्क एनालाईजर सम्बन्धी तालिम प्रदान
चितवन, पुस ९-
चितवनका दुग्ध सहकारी संस्थामा आवद्ध कर्मचारीलाई मिल्क एनालाईजर मर्मत सम्भार सम्बन्धी तालिम दिन सुरु गरिएको छ । राष्ट्रिय दुग्ध विकास वोर्ड र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संस्थाको सहकार्यमा दुग्ध सहकारी संस्थाका कर्मचारीलाई पाँच दिने तालिम दिन थालिएको हो ।
मंगलबार (आज)देखि सुरु भएको तालिममा ३४ जनाको सहभागिता रहेको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष किशोर बगालेले जानकारी दिनुभयो । पाँच दिनसम्म सञ्चालन हुने तालिममा दुधको गुणस्तर मापन, भण्डारण, मिल्क भण्डारणको प्रविधि, लगायतका विषयमा विकास पौडेलले प्रशिक्षण दिनुहुनेछ ।
भरतपुरमा आज भएको कार्यक्रममा प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष हरिप्रसाद पौडेल प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा केन्द्रीय दुग्ध सहकारी संघका उपाध्यक्ष भागीरथी तिमल्सेना, जिल्ला सहकारी संस्थाका वरिष्ठ उपाध्यक्ष प्रेमनाथ दवाडी, चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संस्थाका सचिव कल्याण अधिकारी, कोषाध्यक्ष छविलाल भूषाल,सहसचिव शिवप्रसाद पौडेल लगायतको उपस्थिती रहेको थियो ।