चितवन विशेष
चौथो जिल्लास्तरीय एसएएमसी स्पेल बी प्रतियोगिता सम्पन्न
चितवन, पुस ९-
सैनिक आवासीय महाविद्यालय चितवनले जिल्लास्तरीय अन्तर विद्यालय एसएएमसी स्पेल बी प्रतियोगिताको चौथो संस्करण आइतवार सम्पन्न गरेको छ । चितवन जिल्लाका सामुदायिक तथा संस्थागत गरी कुल २६ वटा विद्यालयका ५२ विद्यार्थीको सहभागिता रहेको उक्त कार्यक्रम विभिन्न चार चरणमा सम्पन्न भएको थियो ।
प्रारम्भिक चरणबाट २३ जना विद्यार्थी दोस्रो चरणमा प्रवेश गरेका थिए भने १५ विद्यार्थी तेस्रो चरण र ७ जना विद्यार्थी अन्तिम चरणमा पुगेका थए । प्रतिस्पर्धात्मक रहेको उक्त प्रतियोगितामा नारायणी नमुना मावि भरतपुरकी छात्रा आकृति नेपाल प्रथम, लिटिल फ्लावर स्कुलकी छात्रा शिखा सुवेदी द्वितीय र प्यारागन इङ्गलिस बोर्डिङ स्कुलकी छात्रा अनुष्का खड्काले तृतीय स्थान हासिल गरेका थिए ।
दुई चरणमा सम्पन्न उक्त कार्यक्रमको पहिलो चरणमा खैरहनी नगरपालिकाका नगर शिक्षा अधिकारी राजु बानियाँ, महाविद्यालयका प्रिन्सिपल बाबुराम बन्जाडे र निमित्त प्रमुख व्यवस्थापक सेनानी शैलजा श्रेष्ठले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए । उक्त कार्यक्रममा महाविद्यालयका प्रिन्सिपल बाबुराम बन्जाडेले स्वागत मन्तव्य व्यक्त गरेका थिए । सोही अवसरमा खैरहनी नगर शिक्षा अधिकारी राजु बानियाँले कार्यक्रमको सफलताको कामना गर्दै आफ्नो सिर्जनालाई प्राथमिकतामा राखेर प्रविधिको सदुपयोग गर्न सकेमा भविष्य सुनिश्चित हुने बताए ।
दोस्रो चरणको कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई भरतपुर, चितवनका प्रमुख विष्णु प्रसाद भट्टराई, महाविद्यालयका प्रिन्सिपल बन्जाडे र निमित्त प्रमुख व्यवस्थापक सेनानी शैलजा श्रेष्ठले सहभागी विद्यालयहरूलाई सहभागिताको प्रमाण पत्र तथा विजयी विद्यार्थीहरूलाई ट्रफी, मेडल, प्रमाण पत्र तथा नगद पुरस्कार प्रदान गरे। समापन समारोहमा बोल्दै शिक्षा विकास तथा समन्वय इकाई भरतपुर, चितवनका प्रमुख भट्टराईले सकारात्मक प्रतिस्पर्धाबाट आफूभित्र रहेको प्रतिभा प्रस्फुटन गर्नका लागि सहभागिता जनाउनु नै जीत सरह भएको बताए ।
कार्यक्रममा महाविद्यालयका निमित्त प्रमुख व्यवस्थापक श्रेष्ठले सम्पूर्ण सहभागी विद्यालय तथा विद्यार्थीहरूलाई कार्यक्रम सफल बनाउन पुर्याएको योगदानको सराहना गर्दै धन्यवाद ज्ञापन गरिन् । कार्यक्रमलाई मनोरञ्जनात्मक तुल्याउन महाविद्यालयका विद्यार्थीहरूले महाविद्यालय गीत तथा नृत्य समेत प्रस्तुत गरेका थिए । सो कार्यक्रममा निर्णायकको भूमिकामा अङ्ग्रेजी विषय विभाग प्रमुख पीजीटी समुन्द्र कट्टेल, जीटीए मिरा पौडेल र जीटी कमल चौधरी, स्पेल मास्टरको भूमिकामा जीटीए पुष्पा अर्याल रहेका थिए भने कार्यक्रमको सञ्चालन जीटीए निला अधिकारीले गरेकी थिइन् ।