चितवन विशेष

कृषि मेलामा मानव वन्यजन्तु द्वन्द्वका बारेमा बहस

Banner

चितवन, पुस ३-

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनमा जारी कृषि प्रदर्शनी तथा कृषक मेलाको चौंथो दिन कृषि मेलामा मानव वन्यजन्तु द्वन्द्व विषयक बहस गरिएको छ ।

बहसमा मानव वन्यजन्तु द्वन्द्वको अवस्था कसरी सिर्जना भयो ? अहिले अवस्था के छ ? यसले पारेको कस्तो असर पारेको छ ? यसको न्यूनिकरणका लागि के गरिएको छ ? राहत वितरणको अवस्था के छ ? अझै न्यूनिकरण गर्न के गर्नुपर्ला ? यसका लागि अनुसन्धानकर्ता र विद्यार्थीको तहबाट के गर्न सकिएला ? वाइल्डलाइफ फार्मिङ्गका नीतिगत व्यवस्था लगायतका विषयमा छपलफल भएको छ ।

बहसका क्रममा वक्ताहरुले राष्ट्रिय वन घट्दै र नीजि वन बढ्दै जानु पनि मानव वन्यजन्तु द्वन्द्वको कारण रहेको औंल्याएका छन् । विशेषगरी बसाइसराइका कारण पहाडी जग्गाहरु बाँझो रहँदा जंगलमा परिणत हुँदै जानुले मानव वन्यजन्तु द्वन्द्व बढ्दै गएको कुरा विज्ञहरुले बताएका छन् । जसका कारण पहाडि क्षेत्रमा बाँदरले आतंक मच्चाएको बताउँदै विज्ञहरुले यसबाट बँच्न तत्काललाई बाँदरले मन नपराउने खेती गर्नुपर्ने सुझाए । र जंगलमा बाँदरले मन पराउने बोट बिरुवा रोपिदिनुपर्ने विज्ञहरुको भनाइ छ । साथै जग्गालाई बाँझो नराख्नतर्फ पनि ध्यान दिइनुपर्ने विज्ञहरुको सुझाव छ ।

त्यसैगरी छरिएर रहेको वस्तीलाई एकिकृत गराउन सके पनि मानव वन्यजन्तु द्वन्द्व न्यूनिकरण गर्न सकिने सुझाव विज्ञहरुले दिएका छन् ।मानिस जंगलमा गएर द्वन्द्व भएको हो की वन्यजन्तु मानव वस्तीमा आएर द्वन्द्व भएको हो भन्ने विषयमा अनुसन्धान हुनुपर्ने कुरा समेत बहसका क्रममा उठेको छ ।

डढेलोको कारणले गर्दा पनि वन्यजन्तुको वासस्थान नष्ट हुँदा वस्तीमा आउने गरेको कुरा उठाउँदै विज्ञहरुले डढेलोलाई नियन्त्रण गर्ने उपायलाई अझै प्रभावकारी रुपमा अवलम्बन गर्नुपर्ने बताएका छन् ।

चितवन राष्ट्रिय निकुञ्जमा समस्या ग्रस्त जनावरलाई निगरानी गर्नका लागि स्याटेलाइटको प्रयोग गरिएको, स्पाई क्यामेरको जडान गरिएको, ड्रोनको प्रयोग गरिएको, क्यामेरा ट्रयापिङ्गको प्रयोग गरिएको कुरा बताउँदै विज्ञहरुले यस्ता प्रविधिलाई अझ प्रभावकारी बनाउनतर्फ लाग्नुपर्ने सुझाएका छन् । त्यसैगरी अन्यत्र पनि यस्ता प्रविधिको प्रयोगलाई बढाउनुपर्ने कुरा बहसका क्रममा उठेको छ ।

बहसमा बहसकर्ताका रुपमा चितवन राष्ट्रिय निकुञ्ज प्रमुख गणेश पन्त, कृषि तथा वन विज्ञान विश्वविद्यालयका वन संकायका प्राध्यापक वासुदेव पोखरेल, डिभिजन वन कार्यालय चितवनका प्रमुख थिर बहादुर कार्की र प्रश्नकर्ताका रुपमा विश्वविद्यालयका वन संकायका सह प्राध्यापक रमेश सिलवाल रहेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>