चितवन विशेष

खाद्य पद्दतिलाई दिगो र उत्थानशील नबनाए खाद्यसंकट आउन सक्ने विज्ञको चेतावनी

Banner

चितवन, पुस ३-

खाद्य पद्दतिलाई दिगो र उत्थानशील नबनाए खाद्यसंकट आउन सक्ने विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनमा जारी कृषि प्रदर्शनी तथा कृषक मेलाका अवसरमा कृषि विभाग अन्तर्गतको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र र कृषि तथा वन विज्ञान विश्वविद्यालयको संयुक्त आयोजनामा सम्पन्न भएको अन्र्तक्रिया कार्यक्रममा उक्त कुरा उठान भएको हो ।

अन्तरक्रियाका क्रममा आफ्नो कार्यपत्र प्रस्तुत गर्दै कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा। रामकृष्ण श्रेष्ठले पद्दतिलाई दिगो र उत्थानशील बनाउनका लागि स्थानीय खाद्य प्रणालीको विकास गर्न जरुरी रहेको र त्यसका लागि कोदोजन्य तथा अन्य रैथाने बालीको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपालमा खाद्य आत्मनिर्भरता घट्दै र खाद्य आयातमा निर्भरता बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै खाद्य आत्मनिर्भरता घट्नु र बाह्य स्रोतबाट खाद्य आपूर्ति बढ्नु नेपालको कृषि र खाद्य सुरक्षा प्रणालीको ठूलो चुनौती रहेको र यसले राष्ट्रिय खाद्य सुरक्षा जोखिममा पार्ने र आर्थिक अस्थिरता ल्याउन सक्ने उहाँले बताउनुभयो ।

उहाँले रैथाने र कोदेबाली बाली संरक्षण नै अहिलेको टड्कारो आवश्यकता रहेको बताउँदै रैथाने बालीले नै भविष्यमा हाम्रो खाद्य सुरक्षाका लागि महत्वपूर्ण योगदान पुर्याउने समेत बताउनुभयो । उहाँले कृषि तथा वन विज्ञान विश्वविद्यालयले रैथाने बालीको अनुसन्धान र विकासमा मुख्य भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयका कृषि संकायका डीन प्राडा अर्जुन कुमार श्रेष्ठले रैथाने बालीको संरक्षण नै समग्र कृषि विकासको लागि महत्वपूर्ण रहेको बताउँदै कृषि शिक्षा र अनुसन्धानमा रैथाने बालीलाई प्राथमिकता दिने र समय सापेक्ष पाठ्यक्रम परिमार्जन गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (जीन बैंक), नार्क खुमलटारका प्रमुख डा। बालकृष्ण जोशीले नेपालमा रैथाने बाली संरक्षणको अवस्थाका बारेमा आफ्नो कार्यपत्र प्रस्तुत गर्दै पर्यावरणमैत्री कृषि पद्धति नै दिगो कृषिको आधार भएको र  कृषि बाली उत्पादन गर्दा पर्यावरणीय उत्पादनलाई व्यावसायिक गर्नुपर्ने बताउनुभयो ।

विश्वविद्यालयका अनुसन्धान तथा प्रसार निर्देशनालयका निर्देशक प्राडा ऋषिराम कट्टेलले नेपालको कृषि जैविक विविधता संरक्षण गर्नका लागि कृषि विश्वविद्यालय, नेपाल कृषि अनुसन्धान परिषद् र कृषि विभागको सहकार्य आवश्यक रहेको बताउनुभयो ।

बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र श्री महल ललितपुरका निमित्त प्रमुख केशव देवकोटाले रैथाने बालीको प्रवद्र्धनका लागि विश्वविद्यालयसँग  सहकार्य गर्ने आधार तयार गर्नका लागि उक्त अन्र्तक्रिया कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>