चितवन विशेष

चितवनमा प्राध्यापकहरुलाई डिजिटल साक्षरतासम्बन्धी दुई दिने कार्यशाला सुरु

Banner

चितवन, मंसिर २९-

चितवनमा प्राध्यापकहरुको लागि डिजिटल साक्षरतासम्बन्धी दुई दिने कार्यशाला सुरु भएको छ ।
भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसको आयोजना र विश्वविद्यालय अनुदान आयोगको सहयोगमा शनिबारबाट सो कार्यशाला सुरु भएको हो । कार्यशालामा सप्तगण्डकी क्याम्पसका ४० जना प्राध्यापक तथा कर्मचारीहरुको सहभागिता रहेको छ ।

कार्यशालाको उद्घाटन गर्दै क्याम्पस सञ्चालक समितिका अध्यक्ष टेकबहादुर थापाले राम्रो मानिस नेपालमा नै नबस्ने अवस्था भएकोमा चिन्ता व्यक्त गर्दै अहिलेको युग सुहाउँदो शिक्षा दिएर युवालाई नेपालमा नै बस्ने बनाउनुपर्ने बताए । उनले भने, ‘
शिक्षालाई युग सुहाउदो रुपमा अगाडि बढाउने कुरामा लागौं । युवाहरुमा नेपाललाई माया गर्ने राष्ट्रवादी सोचको विकास गर्न जरुरी छ । सबै एक आपसमा भावी सन्ततीको भविष्यबारे चिन्ता गर्न जरुरी देखिएको छ । ’
कार्यशाला उद्घाटन कार्यक्रममा सप्तगण्डकी बहुमुखी क्याम्पसका उपाध्यक्ष शिक्षाविद् रमाकान्त सापकोटाले नयाँ प्रविधिको ज्ञानले आफूले सेवानिवृत्त जीवनलाई निकै सिर्जनात्मक बनाउन सकेको अनुभव सुनाए । उनले भने, ‘ अहिले ७५ वर्ष उमेरका मेरा समकालिन साथीहरु थन्किएर बसेको देखेको छु । नयाँ प्रविधिको प्रयोग सिकेको कारणले म व्यस्त भएको छु । घरमै बसेर काम गर्दै छु ।’ उनले विज्ञान र प्रविधिको विकासले मानिसलाई मर्न पनि नदिने र बाँच्न पनि नदिने भयो भन्ने विचार राखे । उनले भने, ‘ हामीले अब आर्टिफिसिएल इन्टेलिजेन्ससँग प्रतिस्पर्धा गर्नु छ । यसले मानिसको रोजगारी पनि खाइदिएको छ । भाषाको अनुवाद गर्ने मानिस पनि नचाइने भयो ।’ उनले प्रविधिको ज्ञान लिएर शिक्षकहरुले आफ्नो ज्ञानलाई रुपान्तरण गर्ने समय आएको विचार राखे । उनले हाम्रो हातमा रहेको प्रविधिलाई कसरी अधिकतम् उपभोग गर्ने भन्ने पक्षमा शिक्षकहरुले ध्यान दिनुपर्ने बताए ।
सप्तगण्डकी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख खिमलाल दाहालले सप्तगण्डकी क्याम्पसको शिक्षण सिकाइको प्रक्रियामा रुपान्तरण ल्याउन यसप्रकारको कार्यशाला राखिएको बताए । उनले भने, ‘पुरानो ढर्राबाट क्याम्पस सञ्चालन गर्न खोज्यौं भने विद्यार्थी आउने छैन । अब परम्परागत नोटबुक, मार्करलाई प्रक्रियालाई परिवर्तन गरेर डिजिटलाइजेसनको प्रक्रियामा अगाडि बढ्नुपर्छ । अब हाम्रा शिक्षण सिकाइ क्रियाकलापलाई समय अनुसार परिवर्तन गर्नुपर्नेछ ।’

कार्यशालमा क्याम्पसका सहायक क्याम्पस प्रमुख गोबिन्दप्रसाद पराजुलीले शिक्षाको विकास सँगै समाज हिजोको गुरुकुलदेखि आजको डिजिटलाइजेसनको अवस्थामा आइपुगेको बताए । उनले भने, ‘ धुलौटोमा लेख्ने, ढोडले बनेको कलम, पात निचोरेर मसी बनाउनुपर्ने अवस्थाबाट कलम, कपी र मार्कर पाउँदा खुसी हुने अवस्थामा पुग्यौं । अहिले कम्प्युटर, ल्यापटप नभई नहुने अवस्थामा हामी पुगेका छौं ।’ उनले अब क्याम्पसको हरेक गतिविधि शिक्षक, विद्यार्थी र अभिभावकले निगरानी गर्न सक्ने गरी प्रविधिको विकास गर्नलाई यो कार्यशाला गरिएको बताए ।

त्यसैगरी सप्तगण्डकी बहुमुखी क्याम्पस अंग्रेजी विभागका उपप्राध्यापक पदमलाल भारतीले अहिले अनलाइन शिक्षको प्रयोग बढ्दै गएर सिकाइ डिजिटल बन्दै गएको बताए । उनले यस कार्यशालापछि विद्यार्थीको हाजिरीदेखि परीक्षापछि अंक चढाउनेदेखि सबै काम एकीकृत सूचना प्रणालीको विकासबाट हुने बताए । आइतबारसम्म चल्ने कार्यशालालाई विश्वविद्यालय अनुदान अयोगकका विज्ञ डा बेदप्रसाद ढकालले सहजिकरण गरेका छन् । उनले प्राध्यापकहरुलाई शिक्षण सिकाइलाई अनलाइनमा कसरी व्यवस्थित गर्ने भनेर प्रशिक्षण दिएका छन् । अनलाइनमा हाजिरीको व्यवस्थापन, अंक प्रदान, गृहकार्य परीक्षण, शैक्षिक सामग्रीको व्यवस्थापन गर्ने विषयलाई एकीकृतरुपमा सिकाइ व्यवस्थापन प्रणाली एलएमएसमा कसरी राख्ने भन्ने विषयमा उनको प्रशिक्षण केन्द्रित छ । एलएमएसको प्रयोगसँगै विद्यार्थीले कक्षा कोठामा लिइने ज्ञान घरमा बसेर मोबाइलबाट पनि सजिलै प्राप्त गर्न सक्ने छन् ।
सप्तगण्डकी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख केदारनाथ बरालले सञ्चालन गरेको कार्यक्रममा सप्तगण्डकी बहुमुखी क्याम्पस प्राध्यापक संघका सभापति रुद्रप्रसाद चालिसे र पूर्वक्याम्पस प्रमुख मणिराज महतो, प्रशासन प्रमुख तोयानाथ भट्टराईसहित विभिन्न विभागीय प्रमुखहरुको सहभागिता रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>